काठमाडौं २६ चैत / मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई नमुना प्रदेश बनाउने जिम्मेवारीमा सबै जनताको सहयोग चाहिने बताएका छन् । आइतबार भोजपुरलाई साक्षर जिल्ला घोषणा कार्यक्रममा मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।
उनले भोजपुरले साक्षरता जिल्ला घोषणा गरी मानव सूचकांकमा एक अंक थपेर शिक्षाको उचाइमा पुर्याएको बताए । भोजपुरले सिंगो प्रदेशलाई नेतृत्व गर्ने जिम्मेवारी पाएको उल्लेख गर्दै उनले भने, ‘भोजपुरले प्रदेश १ को नेतृत्व गर्ने सौभाग्य हासिल गरेको छ । संघीय संरचनाअन्तर्गत प्रदेश १ को मुख्यमन्त्री र गृहजिल्ला भएका कारण म यहाँ खडा भएको छु ।’
प्रदेशलाई समृद्धिको बाटोमा डोर्याउने अग्निपरीक्षामा भोजपुरले नेतृत्व पाएको उनको भनाइ थियो । मुख्यमन्त्री बनेपछि शनिबार पहिलो पटक गृहजिल्ला आएका राईले घोडेटारमा आयोजित कार्यक्रममा सहभागी भई भोजपुर उद्योग वाणिज्य संघको भवन उद्घाटन गरे ।
४७ औं जिल्लाका रूपमा भोजपुरलाई साक्षर जिल्ला घोषणा गरिएको हो । १५ देखि ६० वर्ष उमेरका ९६.४३ प्रतिशत सारक्षर रहेको जनाइएको छ । जिल्लामा एक सय १० वटा साक्षरता कक्षा सञ्चालन भइरहेको र एक हजार ६ सय ५० जनाले निरन्तर कक्षा लिइरहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
भोजपुर साक्षर जिल्ला शिर्षकमा अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।
प्रतिक्रिया