Edukhabar
आइतबार, ०८ असार २०८२
गतिविधि

प्रारम्भिक बाल शिक्षा क्षेत्रीय सम्मेलन नेपालमा हुने

बुधबार, २८ चैत्र २०७४

काठमाडौं - प्रारम्भिक बालविकासका बारेमा छलफल गर्न आगामी जेठमा नेपालमा एसिया प्रसान्त क्षेत्रीय सम्मेलन हुने भएको छ । शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयले गर्न लागेको उत्तः सम्मेलनमा बालविकासका क्षेत्रमा भएका नयाँ अनुसन्धान तथा प्रयोगबारे ज्ञान आदान प्रदान हुने शिक्षा सचिव खगराज बरालले जानकारी दिए ।

'प्रारम्भिक बाल शिक्षा तथा विकाससम्बन्धी विद्यमान नीतिहरू बारे छलफल गर्न र प्रारम्भिक बालविकासका सरोकारवालाहरू बीच प्रारम्भिक बालविकास सम्बन्धी अभ्यासहरूको समीक्षा गर्न सम्मेलन गर्न लागिएको हो' बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले  भने, 'प्रारम्भिक बालविकासको राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्जाल तथा सम्बन्धलाई सबल बनाउने र प्रारम्भिक बालविकासको क्षेत्रमा भएका प्रगति र अभ्यासलाई प्रस्तुत गर्ने सम्मेलनको उद्देश्यहरू रहेका छन् ।'

उत्तः अबसरमा प्रारम्भिक बाल स्याहार तथा शिक्षाका लागि तेश्रो एशिया प्रशान्त क्षेत्रीय नीति मञ्चको बैठक समेत संयुक्त रुपमा आयोजना हुने छ ।

जेठ २२ देखि २४ गते सम्म हुने उक्त सम्मेलनमा स्वास्थ्य तथा पोषण, उत्तरदायी हेरचाह प्रदान, प्रारम्भिक सिकाइ, सुरक्षाका विषयमा पनि छलफल हुने छ ।

सम्मेलनमा करीब ४० देशबाट ५ सय विदेशी तथा २ सय स्वदेशी गसहभागी हुने अपेक्षा गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ । यसमध्ये करिब ४० देशबाट शिक्षा मन्त्री, स्वास्थ्य मन्त्री लगायत सचिव स्तरीय सहभागिता हुने अपेक्षा गरिएको बरालले जनाए ।

सम्मेलनमा विभिन्न कुटनीतिक प्रतिनिधि, गैरसरकारी निकायका उच्च पदाधिकारीको, विश्वविद्यालय तथा अनुसन्धनात्मक संस्थान, विभिन्न देशमा प्रारम्भिक बालविकासका लागि कार्यरत सरकारी तथा गैरसरकारी संस्था एवं राष्ट्र संघीय संस्थाको सहभागिता रहने विश्वास गरिएको मन्त्रालयले जनाएको छ ।  

सम्मेलन व्यवस्थापनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा विभिन्न मन्त्रालयका सचिवहरू सहित विभिन्न निकायहरुको समेत प्रतिनिधित्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

सन् २०१७ मा कम्बोडियामा आयोजित प्रारम्भिक बालविकासका लागि एसिया प्रसान्त क्षेत्रीय सञ्जाल (ARNEC) को अन्तराष्ट्रिय सम्मेलनमा तत्कालीन शिक्षा मन्त्री धनिराम पौडेलको नेतृत्वमा सहभागी भएको प्रतिनिधि मण्डलले आगामी सम्मेलन नेपालमा गर्ने प्रतिबद्धता जनाएको थियो ।

प्रतिक्रिया