Edukhabar
विहीबार, ०५ भदौ २०८२
अन्तैवाट

सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्दै स्थानीय तह

सोमबार, १० बैशाख २०७५

काठमाडौं १० बैशाख / रुकुम (पश्चिम)का स्थानीय तहले विभिन्न गतिविधिमार्फत विद्यार्थीलाई सामुदायिक विद्यालयतर्फ आकर्षित गर्न थालेका छन् । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएपछि यहाँका स्थानीय तहले बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना हुन पे्ररित गर्न थालेका हुन् । सरकारले माध्यमिक तहसम्मको शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिएपछि स्थानीय तहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा चासो दिन थालेका छन् ।

माध्यमिक तहसम्मको शिक्षालाई पूर्ण रूपमा निःशुल्क बनाउनेदेखि विद्यार्थीलाई निःशुल्क पोसाक वितरणसम्मका कार्यक्रम स्थानीय तहले घोषणा गरेका छन् । मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्न विद्यार्थीको परीक्षा शुल्क नगरपालिकाले व्यहोरेको बताए । उनले सामुदायिक विद्यालयमा अब विद्यार्थीबाट कुनै शुल्क नलिने वातावरणको सिर्जना गर्ने दाबी गरे । चौरजहारी नरपालिकाले एकदेखि पाँच कक्षा सम्मका पाँच हजारभन्दा बढी विद्यार्थीलाई निःशुल्क पोसाक वितरण गरेको छ ।

मेयर विशाल शर्माले सामुदायिक विद्यालयको गुमेको साख फर्काउने प्रयासमा आफूहरू लागेको बताए । ‘राज्यको ठूलो लगानी हुँदा हुँदै पनि सामुदायिक विद्यालयको गुणस्तर खस्कँदै जाँदा शिक्षक, अभिभावक तथा यससंँग सरोकार राख्ने सबैको क्षमतामा प्रश्न चिह्न खडा भएको छ,’ शर्माले भने, ‘हामी सामुदायिक विद्यालयको गुमेको साख फर्काउने अभियानमा लागेका छौँ ।’ केही दिनअघि नगरपालिकाले पूर्वमन्त्री एवं माओवादी नेता जनार्दन शर्माको उपस्थितिमा विद्यार्थीलाई पोसाक वितरण गरेको थियो ।

आठबीसकोट नगरपालिकाले पनि निःशुल्क पोसाक वितरण गरी सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउने प्रयास गरेको छ । नगरपालिकाले ६ हजार पाँच सय ८४ जना विद्यार्थीलाई निःशुल्क पोसाक वितरण गर्ने तयारी गरेको मेयर गोर्खबहादुर केसीले बताए । नगरपालिकाले नगरभित्रका ६१ वटा सामुदायिक विद्यालयमध्ये नौवटा पूर्ण रूपमा मर्ज र १६ वटा विद्यालयको कक्षा घटाएको छ । त्यस्तै, अनुमति नलिई सञ्चालनमा रहेका १६ मध्ये १४ वटा संस्थागत विद्यालयलाई बन्द गरेको नगर प्रमुख केसीले बताए ।

नयाँ पत्रिकामा मनीष खड्काले लेखेका छन् ।

प्रतिक्रिया