काठमाडौं १४ बैशाख / मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले प्रदेश २ मा मात्रै दुई लाख बालबालिका विद्यालयबाहिर रहेको बताएका छन्ण् । देशभर कुल विद्यालयबाहिर रहेका मध्ये आधा बालबालिका प्रदेश २ का मात्रै रहेको उनले बताए ।
‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत पर्साको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवामा आयोजित कार्यक्रममा मुख्यमन्त्री गद्दीले यस्तो बताएका हुन् । उनले सो अवसरका विद्यार्थी भर्ना, पाठ्यपुस्तक तथा पाठ्यसामग्री वितरण पनि गरेका छन् ।
उनले देशभरमा ४ लाख बालबालिका विद्यालयबाहिर रहेका र त्यसमध्ये ८ जिल्लामा मात्रै २ लाख बालबालिका विद्यालयबाहिर रहेको बताए । विद्यालयबाहिर रहेका सबै बालबालिकालाई ल्याउन सरकार गम्भीर भएको उनले बताए । उनले भने, ‘शिक्षाले मात्रै समाजमा विद्यमान दाइजो प्रथा, बोक्सी प्रथा, छुवाछुतजस्ता कुरीति अन्त्य गर्न सहयोग पु¥याउँछ ।’
साइकल लिने प्रतिबद्धता
कार्यक्रममा मुख्यमन्त्री गद्दीले टाढा टाढाबाट विद्यालयमा आउने किशोरीलाई साइकल वितरण गर्ने प्रतिबद्धता जनाए । दुई बालिकाको अभिभावकत्वसमेत लिएका मुख्यमन्त्री गद्दीले छिमेकीको छोराछोरी विद्यालय जाँदैनन् भने उनीहरूलाई विद्यालय जाने वातावरण बनाउने सबैको दायित्व भएको बताए ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले छोरी शिक्षित भए परिवारलाई शिक्षित हुने बताए । उनले वाचा गरेअनुसार नै वीरगन्जका सबै सामाजिक विद्यालयमा यस वर्षदेखि कक्षा १ मा अंग्रेजी माध्यममा पठनपाठन सुरु भइसकेको बताए ।
मुख्यमन्त्री गद्दीले दुई, वीरगन्ज महानगरपालिकाका मेयर सरावगीले ९, उद्योगी जगदीश अग्रवाल र वडा अध्यक्ष श्यामबाबु चौरसियाले १ बालिकाको अभिभावकत्व ग्रहण गरेका थिए । मुख्यमन्त्री गद्दीले मनीषाकुमारी र अदिति कुमारीको अभिभाकत्व ग्रहण गरेका हुन् ।
मेयर सरावगीले सन्ध्या कुमारी, सीता कुमारी, रूपान्ती कुमारी, निकिता कुमारी, पुनम कुमारी, काजल कुमारी, नेहा कुमारी, आरती कुमारी, धामी कुमारीको अभिभावकत्व लिएका थिए भने उद्योगी जगदीश अग्रवालले रोशन साह र वडाध्यक्ष चौरसियाले चाँदनी ठाकुरलाई १० कक्षासम्म पढाउने जिम्मा लिएका छन् ।
सोही कार्यक्रममा क्वेस्ट फर्माका निर्देशक पृथ्वी राजभण्डारीले विद्यालयका लागि विज्ञान प्रयोगशाला निर्माण गरिदिने प्रतिबद्धता जनाएका थिए ।
नयाँ पत्रिकाबाट
प्रतिक्रिया