काठमाडौं १६ बैशाख / भीमेश्वर बहिरा आधारभूत विद्यालयमा सुरक्षित भवन बनेपछि बालबालिकाहरु ढुक्कले अध्यापन गर्न थालेका छन् ।
सांकेतिक भाषा पढाई हुने दोलखाको एकमात्र विद्यालयमा भूकम्पपछि बनेको छ कोठे भवनको उद्घाटन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले शनिवार गरिन् । भूकम्पले सबै संरचना भत्काएपछि आवासिय विद्यालयमा अध्ययन गर्ने बहिरा बालबालिकाहरु छाप्रामा बसेर पढ्दै आएका थिए ।
कहिले छाप्रा त कहिले डेरा लिएर बहिरा बालवालिकाहरु अध्ययन गर्दै आएका बेला अष्ट्रेलियन सहयोगमा प्लान इन्टरनेश्नलले डेढ करोड लागतमा भवन निर्माण भएको हो । हाल ४० जना वालवालिकाहरु अध्ययन गर्ने विद्यालयमा दोलखा, रामेछाप र छिमेकी जिल्लाका वालकाविकाहरु अध्ययन गर्छन् ।
आवासिय सुविधा भएको उक्त विद्यालयमा कम्प्युटर, खेलकूद, पुस्ताकालयको व्यवस्था छ । भवन उद्घाटन गर्दै मन्त्री थापाले सुन्न र बोल्न नसक्नेहरुका लागि खुलेका विद्यालयहरुमा सरकारले विशेष कार्यक्रम ल्याउने बताए । विद्यालय शिक्षको जिम्मेवारी स्थानीय निकायमा गएकाले फरक क्षमता भएका नागरिकका लागि विशेष बजेटको व्यवस्था गर्नुपर्ने मन्त्री थापाले आग्रह गरे ।
दोलखाका करिब चार सय वहिराहरु विद्यालय शिक्षाबाट बञ्चित छन् । नयाँ भवन बनेपछि जोखिम रहित पढ्न र बस्ने व्यवस्थाले ढुक्क भएर छोराछोरी पठाउन सकिएको रुकमणीकी बुबा हस्तबहादुरले बताए । विभिन्न व्यक्ति र संघसंस्थाको सहयोगका कारण विद्यालयमा सुविधाहरु थपिदै छन् । कास्की निवासी देउबहादुर गुरुङको निजी करिब २४ लाख सहयोगमा बहिरा महिला छात्रवास भवन पनि निर्माण भैरहेको छ । अमेरिका बस्दै आएकी दोलखा किरातीछापकी माला महतको सहयोगमा दुई लाख ५० हजार रकमबाट शौचालाय भवन पनि बन्दै छ ।
विद्यालयका संस्थापकहरु सम्मानित
दोलखा र आसपासका जिल्लाका वहिराका लागि सांकेतिक भाषा पढाइ हुने उक्त विद्यालय स्थापना गर्न योगदान गर्ने सरुना श्रेष्ठ मानन्धर, निराजन उप्रेती, रामकृष्ण तामाङ, सूयकृष्ण चौलागाईं, बलराम कार्की सम्मानित भएका छन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश लामाले उनीहरुका कारण सांकेतिक भाषा अध्ययन हुने विद्यालय स्थापना हुन सकेको बताए । उक्त व्यक्तिहरु सुरुमा आफ्नै खर्चमा विद्यालय खोलेर बहिरा बालबालिकाहरुलाई पढाउने व्यवस्था गरेका थिए । राष्ट्रिय वहिरा महासंघका अध्यक्ष केपी अधिकारीले दोलखा जिल्लामा बहिरा विद्यालय आवश्यक छ भनेर परिकल्पना गर्ने र निजी लगानी गर्नेहरु सरुना श्रेष्ठ मानन्धर र निराजन उप्रेतीलाई स्मरण गरिरहुनपर्ने बताए ।
कार्यक्रममा भूकम्प आउनेवित्तकै पटकपटक गर्ने दोलखा मेलुङ निवासी रामहरी श्रेष्ठ, पोखराकी फेसबुक अभियानकर्ता सरिता गुरुङ, अमेरिकादेखि आएर विद्यालयमा शौचालय निर्माण गर्न सहयोग गर्ने माला महत र निरन्तर सहयोग गर्ने अमेरिकी नागरिक पिटरको सम्झना गरिएको थियो ।
सांसदहरुद्वारा अभिभावकत्व ग्रहण
कार्यक्रममा सहभागी हुन आएका प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले उक्त विद्यालयमा अध्ययन गर्ने १० बर्षिया रुकमणि माझीको अभिभावकत्व ग्रहण गरेका छन् ।
त्यसैगरी प्रतिनिधिसभा सदस्य शान्ति पाख्रिनले निखिल माझी र प्रतिमा माझीको अभिभावकत्व ग्रहण गरिन । प्रदेशसभा सदस्य सरस्वति वस्नेतले निकिसा खड्कालाई अभिभावकत्व ग्रहग गर्दै उनीहरुको पढाइमा सहयोग गर्ने बताइन् ।
प्रतिनिनिधि सभा सदस्य पार्वत गुरुङले दोलखा जिल्लाको एक मात्र अपाङ्ग क्षेत्रको प्रतिनिधित्व गर्ने विद्यालयलाई विशेष सहयोग गर्ने बताए । उनले सबै स्थानीय तहले उक्त विद्यालयका लागि बजेट छुट्याउन पहल गरिने पनि बताए ।
भीमेश्वर नगरका मेयर भरत केसीले विद्यालयका लागि शिक्षक कोटा र नियमित स्वास्थ्य जाँच तथा अनुगमन निरीक्षणको व्यवस्था गर्ने जानकारी दिए ।
कान्तिपुरबाट
प्रतिक्रिया