काठमाडौं २४ बैशाख / संघीय संसद्को बजेट अधिवेशन आइतबार सुरु भएको छ । वैशाख १३ मा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी भएको ४ अध्यादेश सरकारले प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो बैठकमा आइतबारै पेस गरेको छ । दुवै सदनको मस्यौदा नियमावली समितिले पनि आफ्नो प्रतिवेदन सदनसमक्ष प्रस्तुत गरेका छन् ।
दुवै सदनको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, कानुनमन्त्री शेरबहादुर तामाङले संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी अध्यादेश, राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश पेस गरेका हुन् ।
बैठक प्रारम्भ हुनासाथ सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आहवानसम्बन्धी पत्र पढेर सुनाएका थिए । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गरे । १९ वटा बैठक बसेर नियमावली मस्यौदा तयार गरिएको पोखरेलले बताए । ३० परिच्छेद, २५३ नियम र ६ अनुसूची रहेको मस्यौदाका अधिकांश प्रावधान सर्वसम्मत मस्यौदा गरिएकामा समितिको संख्या र कार्यक्षेत्रका सम्बन्धमा कांग्रेसले र अन्य विभिन्न प्रावधानमा प्रेम सुवालले फरक मत राखेको पोखरेलले सदनलाई जानकारी गराए । फरक मतलाई मस्यौदा प्रतिवेदनमा समावेश गरिएको छ ।
राष्ट्रिय सभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले सदनमा प्रतिवेदन प्रस्तुत गरे । २२ वटा बैठक बसेर नियमावली मस्यौदालाई अन्तिम रूप दिइएको गुरुङले बताए । समितिले अधिकतम सहमति प्रयास गर्दागर्दै राष्ट्रिय सभाका सदस्यहरूको कार्यकाल गोला प्रथाबाट निर्धारण गर्ने प्रक्रियाका विषयमा केही सदस्यले फरक मत पेस गरेको उनले सदनलाई जानकारी गराए । दुवै समितिको शनिबार बसेको बैठकले फौजदारी अपराध गर्ने सांसदलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि सांसद पद निलम्बन नहुने सहमति जुटाएका थिए । नेमकिपाका सांसद सुवालले फौजदारी अभियोगमा थुनामा रहेको अवधिभर सांसद स्वत: निलम्बन हुने प्रावधान राख्नुपर्ने गरी नियमावलीमा फरक मत पेस गरेका छन् ।
नियमावलीमाथि संशोधन चाहनेलाई मंगलबार दिउँसोसम्मको समय दिइएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाले ०५१ मा चितवन १ बाट प्रतिनिधिसभामा निर्वाचित जागृतप्रसाद भेटवालको बुधबार निधन भएकामा शोक प्रस्ताव पारित गरेको छ । अर्काे बैठक प्रतिनिधिसभाको २६ गते र राष्ट्रिय सभाको सोमबार बस्ने भएको छ ।
कान्तिपुरमा ४ अध्यादेश संसद्मा पेस शिर्षकमा प्रकाशित खबर ।
प्रतिक्रिया