Edukhabar
आइतबार, ०३ जेठ २०८३
अन्तैवाट

कर्णालीमै लोप हुँदै खस भाषा

बुधबार, २६ बैशाख २०७५

काठमाडौं २६ बैशाख / उद्गमथलो कर्णालीमै खस भाषा लोप हुने अवस्थामा पुगेको छ । करिब १४ लाख जनसंख्या रहेको कर्णाली प्रदेशमा खस भाषा बोल्ने १८ जनाजति मात्रै छन् । जुम्लाको सिँजाबाट उत्पत्ति भएको खस भाषालाई नेपाली भाषाको जननी मानिन्छ ।

भाषा आयोगद्वारा प्रस्तुत एक प्रतिवेदनअनुसार कर्णाली प्रदेशमा ५५ भाषा बोलिन्छन् । तीमध्ये खस भाषा ३३ औं स्थानमा पर्छ । सबैभन्दा बढी बोलिने भाषा नेपाली हो । नेपाली भाषा बोल्नेको संख्या १३ लाख ४६ हजार २ सय छ । आयोग अध्यक्ष लवदेव अवस्थीले आयातित भाषाले मौलिक भाषा लोप हुने अवस्थामा पुगेको बताए । ‘उत्पत्ति भएको ठाउँमै यो भाषा हराउनु विडम्बना हो,’ उनले भने, ‘यस्तै अवस्था रहे तीन पुस्तापछि नेपालका अन्य मौलिक भाषा पनि भेटिने छैनन् ।’

भाषा र संस्कृतिमा वैभवपूर्ण इतिहास बोकेको कर्णाली प्रदेशमै मौलिक भाषा जोखिममा पर्नु दु:खद भएको उनको भनाइ छ । स्थानीय र प्रदेश सरकार भाषा, संस्कृति संरक्षण तथा संवद्र्धनमा लाग्नुपर्ने उनको भनाइ छ । ‘आयातित भाषाले उपनिवेश ल्याउँछ, हामी समयमै सचेत बनौं,’ उनले भने, ‘भाषा, संस्कृति जोगाउने प्रमुख जिम्मेवारी स्थानीय सरकारकै हो ।’

आयोगद्वारा आयोजित कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले भाषा, संस्कृति स्वाभिमानसँग जोडिएकाले यसको संरक्षण तथा संवद्र्धनमा स्पष्ट मार्गचित्रसहित काम गरिने बताए । ‘प्रदेशमा बोलिने भाषा जोगाउन सरकारले केही न केही ‘मेकानिज्म’ बनाउँछ,’ उनले भने, ‘भाषा र संस्कृति समृद्धिका आधार हुन् भन्ने मान्यताबाट सरकार अघि बढ्छ ।’

आयोगद्वारा प्रस्तुत प्रतिवेदनअनुसार कर्णाली प्रदेशमा १२ वटा भाषा एक–एक जनाले मात्र बोल्छन् । यिनमा सुरेल, ताजपुरिया, संस्कृत, पन्जावी, हायू, पहरी, मेचे, जिरेल, कुमाल, धिमाल, राजस्थानी र बंगला भाषा पर्छन् । यो प्रदेशमा नेपालीपछि धेरै बोलिने भाषा मगर हो । मगरभाषीको संख्या ३२ हजार २९ छ । सामाजिक विकास मन्त्रालयकी सचिव गिरिजा शर्माले कर्णाली प्रदेशमा लोपोन्मुख अवस्थामा रहेका मौलिक भाषा संरक्षणका लागि स्पष्ट नीतिसहित काम गरिने बताइन् । यसका लागि प्रदेश सरकारले अध्ययन गरिरहेको उनको भनाइ छ ।

जुम्ला, चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले भाषाले देशको पहिचान झल्काउने भएकाले सबैले यसको उत्थानमा लाग्नुपर्ने बताइन् । ‘गुन्यू–चोलो लाउँदैमा नेपालीको पहिचान झल्किँदैन,’ उनले भनिन्, ‘सबैभन्दा पहिले आपैंmले आफ्नो भाषा जोगाउने अभियान सुरु गरौं ।’

कान्तिपुरमा ज्योति कटुवालले लेखेको खबर ।

प्रतिक्रिया