Edukhabar
बुधबार, ०४ भदौ २०८२
अन्तैवाट

नक्कली प्रमाणपत्र धारीको बिगबिगी, आधाभन्दा बढी शिक्षक

बुधबार, २६ बैशाख २०७५

काठमाडौं २६ बैशाख / १७ सय नक्कली प्रमाणपत्र माथि अख्तियारले छानबिन शुरु गरेको छ । अदालतका नक्कली फैसला, नक्कली चिकित्सक र अख्तियारकै किर्ते निर्णयका घटना सार्वजनिक भइरहेका बेला राज्यका विभिन्न निकायमा नक्कली प्रमाणपत्रधारी कर्मचारीको संख्या धेरै रहेको तथ्य उजागर भएको खबर अन्नपूर्ण पोष्टमा यम विरहीले लेखेका छन् ।

१७ सय नक्कली प्रमाणपत्र अख्तियारको छानबिनमा शिर्षकमा प्रकाशित उक्त खबर अनुसार सबैभन्दा बढी नक्कली प्रमाणपत्रधारी कर्मचारीको बिगबिगी संवेदनशील क्षेत्र शिक्षा र सुरक्षामा छ। त्यसपछि निजामती सेवा, बैंक र संस्थानमा नक्कली प्रमाणपत्रधारी कार्यरत छन्। शैक्षिक योग्यता सम्बन्धमा परेका उजुरीको अनुसन्धानबाट विभिन्न सरकारी कार्यालय, प्रहरी सेवा, संस्थान र शैक्षिक निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीले भारतका विभिन्न बोर्डका नक्कली शैक्षिक प्रमाणपत्र बनाएर ठूलो संख्यामा सेवामा प्रवेश गर्न सफल भएका हुन्।

अख्तियारको अनुसन्धानले भारतका विभिन्न बोर्डका नाममा अनुचित लाभ लिन शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएर पेस गरेको देखाएको छ ।

छानबिन भइरहेका कर्मचारीमध्ये आधाभन्दा बढी शिक्षक छन्। त्यसपछि स्वास्थ्य, प्रहरी सेवा र संस्थानका छन्। अख्तियारका अनुसार छानबिनमा सम्बन्धित विषयका विज्ञलाई खटाइएको छ। अख्तियारको अनुसन्धानले शिक्षा, स्वास्थ्य, निजामती, बैंक, संस्थान, प्रहरीमा नक्कली प्रमाणपत्रसम्बन्धी समस्या जटिल देखाएको छ।

बढुवा प्रयोजनका लागि एमए उत्तीर्णसम्मका प्रमाणपत्र भारतबाट ल्याइएको फेला परेको छ। अख्तियार स्रोतका अनुसार दर्जनौं संस्थाका नक्कली प्रमाणपत्र कारोबार हुने गरेको तथ्य फेला परेको छ।

निम्न संस्थाका नाममा नक्कली शैक्षिक प्रमाणपत्र बन्ने अन्नपूर्ण पोष्टमा उल्लेख छ :

बिहार संस्कृत शिक्षा बोर्ड, माध्यमिक शिक्षा परिषद् उत्तरप्रदेश, एजुकेसनल काउन्सिल पटना, विद्यालय परीक्षा समिति बिहार, वीडी इभनिङ कलेज पटना, एसआर केजी कलेज सीतामढी, राजाराम साह कलेज रक्सौल पूर्वी चम्पारन, रामजानकी इन्टर कलेज उत्तरप्रदेश, बीआर अम्बेडकर बिहार विश्वविद्यालय, माध्यमिक शिक्षा परिषद् वाराणसी, बिहार इन्टरनेसनल एजुकेसनल काउन्सिल, एएन सिंह कलेज मोतिहारी, जीएम साइन्स कलेज मधेपुरा बिहार, इन्द्रप्रस्था इन्जिनियरिङ कलेज गाजियाबाद, चौधरी चरणसिंह विश्वविद्यालय मेरठ, राधाकृष्ण पुरुषोत्तमलाल धानुका किसन कलेज बरियापुर( सीतामढी, रामनिरन्जन जनता महाविद्यालय मधुवनी, पूर्णिया विद्यालय परीक्षा समिति पटना, बीएससी ललितनारायण मिथिला विश्वविद्यालय कामेश्वर नगर, अपरसचिव माध्यमिक शिक्षा परिषद् इलहाबाद, केएम इन्टरकलेज धामपुर, माध्यमिक बनारस विश्वविद्यालय।

प्रतिक्रिया