काठमाडौं ९ जेठ / सरकारले भर्ना अभियान र अभिभावकत्व ग्रहणको कार्यक्रम सञ्चालन गरे पनि बाँकेका अल्पसंख्यक मगन्ता, चिडिमार, खटिक, घसियार र थत्थरकट्टा (कुचबधिया) समुदायका बालबालिका अझै विद्यालयबाहिर रहेका खबर आजको नयाँ पत्रिकामा छापिएको छ । आर्थिक अवस्था कमजोर भएका कारण पोसाक, स्टेसनरीलगायत विद्यालय सामग्री किन्न नसक्दा ती समुदायका विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय बाहिर रहेका हुन् ।
डुडुवा गाउँपालिका– ६, मगन्ता टोलमा विद्यालय जाने उमेर समूहका ६० भन्दा बढी बालबालिका छन् । तर, अहिले जम्मा २० बालबालिका मात्र विद्यालय भर्ना भएको सोही गाउँका अगुवा आज्ञाराम मगन्ताले बताए ।
नेपालगन्ज उपमहानगरपालिका–१२, बेलासपुरका चिडिमार बालबालिका पनि विद्यालयबाहिर छन् ।
अल्पसंख्यक समुदायभित्र पर्ने मगन्ता समुदाय सूचीमा नपरेकै कारण राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएको गुनासो छ ।
डुडुवा गाउँपालिका–६, मगन्ता टोलमा ९५ परिवारको झन्डै पाँच सय जनसंख्या छ । तर, यो बस्तीका जम्मा दुईजनाले मात्र एसएलसी (एसईई) उत्तीर्ण गरेका छन् । विद्यालय जाने उमेर समूहका बालबालिका फोहोर संकलन गर्ने र मजदुरी गर्ने गर्दै आएका छन् ।
नयाँ पत्रिकामा विश्वराज पछल्डङ्ग्याले लेखेका छन् ।
प्रतिक्रिया