काठमाडौं २५ मंसिर / बाजुराको स्वामी कार्तिक गाउँपाकिा–५ मिगुका बालबालिका दुई घन्टा पैदल हिँडेर विद्यालय जान बाध्य छन् । घरनजिकै विद्यालय नहुँदा मिगुका १४ जना र हिमाली गाउँपालिका–६ बोल्डीकका ५० जना विद्यार्थी दुई घन्टा पैदल हिँडेर अध्ययनका लागि मुगुको सर्वोदय मावि पुग्ने गरेका छन् । मिगुमा कक्षा पाँच र बोल्डिकमा कक्षा आठसम्म मात्र पढाइ हुन्छ ।
वर्षात्को समयमा विद्यार्थीलाई विद्यालय जान–आउन झन् सास्ती हुने गरेको छ । वर्षात्को वेला घर र विद्यालय गर्दा खोला–खहरेको डर हुने भएकाले धेरै विद्यार्थीले विद्यालयनजिकै डेरा लिएर बस्ने गरेका सर्वोदय माविका प्रधानाध्यापक लोकेन्द्रबहादुर कार्कीले बताए ।
गाउँमा मावि नहुँदा पठनपाठनमा समस्या भएपछि गाउँमै मावि तहको कक्षा सञ्चालनको तयारी भएको हिमाली गाउँपाकिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए । सरकारले मुगुलाई ‘क’ र बाजुरालाई ‘ख’ वर्गको दुर्गम जिल्लामा सूचीकृत गरेको छ । सरकारले मुगुभन्दा बाजुरालाई सुगममा सूचीकृत गरे पनि बाजुराको बोल्डिक र मिगुका विद्यार्थीले पठनपाठनमा सास्ती खेप्दै आएका छन् ।
विद्यालय जाँदा र घर फर्किंदा बाटोमै विद्यार्थीको ४–५ घन्टा बित्ने गरेको छ । मिगुको विद्यालयमा कक्षा पाँचसम्म मात्रै पढाइ हुन्छ । गाउँमा मावि नहुँदा वर्षौंदेखि विद्यार्थीले सास्ती पाउँदै आएका छन् । घरबाट विद्यालय जाँदा–आउँदा भोक लाग्ने भएकाले सधैँ खाजा बोकेर विद्यालय जाने गरेको मिगु घर भएका कक्षा १० का विद्यार्थी लक्ष्मण पाण्डेले बताए । विद्यालय जाँदा साँघुबाट कर्णाली नदी तरेर जानुपर्दा विद्यार्थीलाई जोखिम छ ।
विद्यालय टाढा भएकाले धेरै विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेका छन् । विद्यालय जान घन्टौँ पैदल हिँड्नुपर्ने दुःखका कारण अधिकांशले पाँच कक्षा पढेर छाड्ने गरेका बोल्डिक घर भएकी कक्षा ६ की विद्यार्थी अम्लिसा पाण्डेले बताइन् । ‘विद्यालय टाढा भयो भनेर मसँगैका धेरै साथीले पढाइ छाडिसके,’ पाण्डेले भनिन् ।
नयाँ पत्रिकामा अच्युत राज भण्डारीले लेखेका छन् ।
प्रतिक्रिया