Edukhabar
आइतबार, २८ भदौ २०८३
अन्तैवाट

शुल्क वृद्धिको निर्णय फिर्ता

विहीबार, १२ बैशाख २०७६

काठमाडौं १२ बैशाख / काठमाडौं महानगरपालिकाले गत चैत २६ गते अनधिकृत रूपमा बढाएको निजी विद्यालयको शुल्क वृद्धिलाई खारेज गरेको छ । मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको महानगर बैठकले खारेजीको निर्णय गरेको हो ।

अभिभावक महासंघ, विभिन्न निकायले कानुनी आधारविना शुल्क बढाइएप्रति आपत्ति जनाएपछि साबिक शुल्कमात्र लागू गर्ने महानगरपालिकाले निर्णय गरेको छ । ‘महानगरमा रहेका निजी विद्यालयहरूको शुल्क बृद्धि कार्यकारी परिषदले मात्र निर्णय गर्न सक्छ,’ वडा नं.१६ का अध्यक्ष मुकुन्द रिजालले भने, ‘महानगरको शिक्षा ऐन, नियमावलीविपरीत कार्यपालिकालाई छलेर भएको शुल्क वृद्धिको निर्णय खारेज गरिएको छ । साबिककै लागू हुनेछ । कुनै विद्यालयले बढाएको भए अभिभावकलाई बढेको शुल्क फिर्ता गर्नुपर्नेछ ।’

यसअघि महानगर शिक्षा समिति र निजी विद्यालय संगठन प्रतिनिधिहरूले करिब २७ प्रतिशत शुल्क बढाउने निर्णय गरेका थिए । गत चैतमा ‘क’ श्रेणी विद्यालयले १ देखि ५ कक्षा २ हजार ८ सय १२ रुपैयाँ शुल्क तोकिएको थियो ।

त्यसैगरी कक्षा ६ देखि ८ मा ३ हजार २ सय ५१ तथा कक्षा ९ र १० को शुल्क ४ हजार ३ सय ७३ रुपैयाँ कायम गरिएको थियो । उक्त शुल्क खारेजीपछि साबिक ‘क’ श्रेणीका विद्यालयले कक्षा १–५ मा २ हजार ३ सय ६३, कक्षा ५–८ ले २ हजार ७ सय तथा कक्षा ९ र १० मा ३ हजार ६ सय ७५रुपैयाँमात्र अशुल्न पाउने छन् ।

‘अधिकांश निजी विद्यालयले शुल्क बढाइसकेका छन्,’ अभिभभावक महासंघका संयोजक सुप्रभात भण्डारीले भने, ‘त्यसैले बढाइएको शुल्क इमानदारीपूर्वक फिर्ता गरिनु पर्छ । अटेर गर्नेलाई महानगरले कारबाही गर्न जरुरी छ ।’ महानगरमात्र नभएर अन्य नगरपालिका र गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका विद्यालयहरूको अवस्थाबारे निगरानी र नियम गर्नआवश्यक रहेको बताए ।

कान्तिपुरमा प्रकाशित ।

प्रतिक्रिया