Edukhabar
विहीबार, १० जेठ २०८१
अन्तर्वार्ता

शिक्षकका लागि एजुकेशनल इञ्जिनियरिङ् नै पुगेन

कतिपय शिक्षकहरु शैक्षिक क्रियाकलापबारे हैन राजनीतिका बारेमा गज्जबको चर्चा र चासो गर्छन्

सोमबार, २२ साउन २०८०

प्रा.डा. बालचन्द्र लुइँटेल काठमाडौं विश्वविद्यालयको शिक्षा संकायका डीन हुन् । २०७८ देखि यो जिम्मेवारीमा रहेका उनले अष्ट्रेलियाको कर्टिन युनिभर्सिटीबाट विद्यावारिधि गरेका छन् । गणित विषय विज्ञ समेत रहेका शिक्षाविद् लुइँटेलसँग शिक्षा, शिक्षक उत्पादन र सिकाइ शैलीको अवस्थाबारे हरिसुन्दर छुकांले गरेको कुराकानीको सम्पादित अंश :

व्यस्तताबाटै सुरु गरौं, कस्तो छ, हिजो आजको व्यस्तता ?

म आफू अलि बढी एकेडेमिक र प्रशासनिक काममा व्यस्त हुने भएकाले व्यस्तता अलि बढेको छ । अहिले झण्डै १२ देखि १४ घण्टा काम नगरी हुन्न । विहान ७ बजेदेखि नै विश्वविद्यालय, स्कुल अफ एजुकेशनकै बारेमा कुराकानी हुन्छ । त्यस पछि बेलुका ८, कक्षा हुँदा ९ पनि बज्छ । यसरी १२ देखि १४ घण्टाको समय दिइरहेको छु ।

त्यति नलागीकन दुइटै रोल, एउटा एकेडेमिक्सको हिसाबले, एउटा प्रोफेसरको हिसाबले मैले गर्नुपर्ने अध्ययन, अनुसन्धानको पाटो छ, अर्को, प्रशासनिक काम, सँगै पब्लिक रिलेसनको काम । यस्तै दैनिकीमा नियमितता चलिरहेको छ ।

व्यस्त दैनिकीको बिचमा एक शिक्षासेवी, विश्वविद्यालयको स्कुल अफ एजुकेशनको डिनको हिसाबले अहिलेको शिक्षाको चित्र कस्तो देख्नुहुन्छ ?

शिक्षाको चित्र गुणस्तरको हिसाबले देख्छु । मान्छे विश्वविद्यालय किन आउँछन् भने ज्ञान, सीपको अभिवृद्धिका हिसाबले आउँछन् । शिक्षणलाई अभ्यासमा ल्याउँछन् । 

हामीमाथि ठूलो दायित्व छ । हामी शिक्षक पढाउँछौं । विश्वविद्यालयमा काम गर्ने मान्छे, यहीँबाट उत्पादन गर्छौं । पीएचडी, एमफिल, माष्टरर्स गराउँछौं । विद्यालय देखि विश्वविद्यालयका मान्छेहरु जम्मा हुने ठाउँ हो यो । यो ठाउँमा जम्मा भएकाहरुलाई गुणस्तर दिने कुरा यहाँबाट भएन भने, मेरो नेतृत्वबाट भएन भने, त्यो भन्दा ठूलो अपराध के हुुन्छ ? मेरो पहिलो प्राथमिकता एकेडेमिसियन नै हो ।

नेपालमा शिक्षक बनाउने प्रक्रिया सहज छ कि छैन ?

बहुत गाह्रो छ । किन भने, त्यसले विषयवस्तु पनि जान्नुपर्यो, त्यसले समाज पनि बुझ्नुपर्यो, त्यसले मनोविज्ञान पनि बुझ्नुपर्यो, त्यसले विधि पनि बुझ्नुपर्यो । जस्तो साइन्स फ्याकल्टी पढ्ने मान्छेले साइन्स मात्र बुझे भयो । मान्छेको बारेमा बुझ्नै परेन । तर साइन्स एजुकेशन पढ्यो कसैले भने, उसले विज्ञान पनि जान्नुपर्योे, मान्छे पनि जान्नुपर्यो । किनभने शिक्षा भनेको त मान्छेलाई हुन्छ । मान्छेलाई शिक्षित बनाउने कुरा, शिक्षा दिने कुरा आफैमा जटिल कुरा हो । शिक्षा दिने मान्छलाई  शिक्षा दिने कुरा अर्को जटिल कुरा हो । शिक्षक बन्ने मान्छेलाई शिक्षा दिनु छ, त्यो कामलाई साह्रै सजिलो आँक्नै हुँदैन । 

यो अवस्थामा काठमाडौं विश्वविद्यालयले शिक्षक उत्पादनका लागि गरिरहेको अभ्यास के हो ?

स्नातकोत्तर तहको कार्यक्रम चलाउँदाखेरि हामीले गज्जबले सिकेको कुरा के छ भने, हामीले निकालेका मान्छेहरु ठाउँठाउँमा जाँदा, मैले केयूबाट यो सिकेँ, विद्यालयलाई यसरी बनाउँदैछु, यस्तो गर्न खोज्दैछु, तर के गर्नु मलाई यहाँ यो यो कुराले दुःख दिएको छ, के हुन सक्छ उपाय ? सहयोग के हुन सक्छ भनेर सोध्छन, त्यो चाहिँ गज्जब लाग्छ । त्यति हो हामीले सिकाएको । हामी अब आउने पचास वर्षलाई पुग्ने ज्ञान दिन सक्तैनौं । तर के चाहिँ दिनुपर्छ भने आउने ५/७ वर्षका लागि मैले सिक्ने कसरी हो ? अब सिकाइले ५÷७ वर्षका लागि अझ सिक्न सक्ने शिक्षक बनुन्, सिक्न सक्ने प्रधानाध्यापक बनुन् त्यतापट्टि हाम्रो ध्याउन्न रहन्छ ।

नेपालका शिक्षकहरुको अवस्थाबारे के भन्नुहुन्छ ?

नेपालका कतिपय शिक्षकहरु वा प्रधानाध्यापकहरु आफूले गरेको शैक्षिक क्रियाकलापबारे खासै चर्चा गरिरहेका हुँदैनन्, आफ्नो नयाँ, फरक र असल अभ्यासका बारेमा सामाजिक सञ्जालमा पोष्ट गरिरहेका हुँदैनन् तर राजनीतिका बारेमा गज्जबका पोष्ट गरिरहेका हुन्छन् । कम्तिमा पनि आफूले सिकेको सिपलाई कसरी प्रयोग गर्दैछु ? भन्ने कुराको ख्याल गरी त्यसलाई मात्र कार्यान्वयन गर्न सके पनि शिक्षा सुधारका लागि ठूलो टेवा पुग्छ । छोटोमा यत्ति भनौं, धेरै नकारात्मक कुरा नगरौं ।

शिक्षक बन्नेहरुको संख्या त्यति धनात्मक देखिँदैन, ऋणात्मक नै देखिन्छ ? यसबारे केही अध्ययन भएको छ कि ?

यो प्रश्नले मेरो दाइलाई सम्झेँ । मेरो दाइ शिक्षक हुनुहुन्थ्यो, अहिले हुनुहुन्न । उहाँले नै मलाई विद्यालयमा भर्ना गरिदिनु भएको हो, पढाउनु भएको हो । म पढ्दै जाँदा, कक्षा ७÷८ तिर पुग्दा उहाँले के भन्नु हुन्थ्यो भने पढाउँदा चकको धूलो आउँछ हेर, त्यो चकको धूलोले छाती बिग्रन्छ । उहाँको अलिकति मुटु सम्बन्धी समस्या पनि थियो । त्यसैले यो पढाउन तिर नलाग, पढाउन भन्दा सरकारी जागिर खानतिर लाग भनेर भन्नु हुन्थ्यो । त्यो फ्रस्टेशन थियो, उहाँमा । त्यो किन भयो होला भने, शिक्षक हुनु र अरु पेशामा जानु बीचको फरक रह्यो । अझ पञ्चायतकालमा जिशिअ हुनु, निरीक्षक हुनु ठूलो कुरा हुन्थ्यो, किनभने उसले स्कुलमा गएर डंका पिट्थ्यो, शिक्षकहरुलाई तह लगाए झैं गथ्र्यो ।

शिक्षक बन्ने कुरालाई हामीले शायदै महत्व दिएनौं । जब हामीले शिक्षक बनाउन थाल्यौं, हामीले तलब दिन थाल्यौं । परापूर्वकालमा तलब विना नै काम गर्थे शिक्षकहरु । तर जब हामीले आधुनिक शिक्षा दिन थाल्यौं, तलब दिन थाल्यौं, शिक्षकलाई तलबै थोरै भयो । सेवा सुविधा थोरै भयो । कसको तुलनामा कर्मचारीको तुलनामा । त्यही भएर मेरो दाइले भन्नु हुन्थ्यो, शिक्षक चाहिँ नबन । बिरामी होइन्छ, बिरामी भएपछि गाह्रो हुन्छ । पेन्सनको व्यवस्था थियो तर अहिले पनि शिक्षकहरुको त्यही मुद्धा छ ।

अब शिक्षक बन्नतिर आर्कषण कसरी बढाउन सकिन्छ त ?

यदि हामीले शिक्षालाई आधुनिकीकरण गरेको हो भने, उहिले चाहिँ शिक्षक भनेको गुरु हो भनेर नभनौं, शिक्षकै भनौं । त्यसलाई व्यवसायिक शिक्षक बनाऔं, त्यही अनुसारको सेवा, सुविधा दिऔं । राम्रो गर्नेलाई सिष्टममा राखौं, नराम्रो गर्नेलाई निकालिदउँ । यो अन्यथा लाग्ला, मेरो अर्को दाइ, अहिले पनि हेडटिचरै हुनुहुन्छ, नेपालमै । मेरो कुरा उहाँलाई नमिल्ला तर, राम्रो गर्नेलाई पुरस्कार दिऊँ । बढुवा गरिदिउँ, नराम्रो गर्नेलाई बिदाइ गरिदिउँ । स्नातक गरेको शिक्षकलाई स्नातक तहकै तलब दिउँ, के बिग्रिन्छ । अब्बल मान्छेलाई अब्बल दर्जाकै सुविधा दिउँ । त्यसो गरेपछि भोलि अहिले सी ग्रेड आएकाहरुले मात्र शिक्षा पढ्ने समस्या हल गर्न सकिन्छ । शिक्षक बन्नका लागि ए ग्रेड ल्याएका विद्यार्थी पनि आउँछ । अर्को कुरा तीन तीन महिनामा तलब दिनु पनि ठीक हैन, महिना महिनामै तलब दिनुपर्छ ।

के कुरा ताज्जुब लाग्छ भने, शिक्षकले तीन तीन महिनामा, चारचार महिनामा मात्र तलब पाउनु त सब भन्दा ठूलो शोषण हो । यो विषयमा मन्त्रालयका अधिकारीहरुसँग कुरा गर्दा अफ्ठ्यारो मात्र कुरा गर्ने, सजिलो नदेखाउने बानी छ । मन्त्रालयका मान्छेले चैं महिनै महिना तलब खानुपर्ने, अनि शिक्षकले चैं तीन महिना, चार महिना कुनुपर्ने ? यो ठीक कुरा होइन । यो अस्वभाविक कुरा हो ।

यसले शिक्षामा असर गरिरहेको छ त ?

यस्तो अवस्थामा कसरी शैक्षिक गुणस्तरको कुरा गर्ने ? यो त मिल्दै मिलेन । तर त्यति हुँदाहुँदै पनि शिक्षकहरु बेतनधारी चैं हो । राज्यले उहाँहरुमाथि लगानी गरेको छ, तालिम दिएको छ, तलब दिएको छ, भत्ता दिएको छ, बिरामी भत्ता दिएको छ । यो अवस्थामा शिक्षकहरु नौ बजे विद्यालय पुग्नै पर्छ, चार, पाँच बजे सम्म बस्नैपर्छ । हैन, मलाई थोरै तलब छ, मलाई तीन महिनामा तलब आउँछ भनेर विद्यालय १२ बजे पुग्ने, १ बजे पुग्ने काम कोहीले गर्छ भने त्यो ठीक हैन । कतिपय  ठाउँमा त्यो भेटिन्छ भने कतिपय ठाउँमा एकदमै मिहिनेत गरेको पनि भेटिन्छ ।

स्थानीय तहमा स्थानीय सरकारले शिक्षकहरु माथि निगरानी र अनुगमन गरेपछि अलिक मन भाँचिएको छ । हामीले केलाई स्वतन्त्रता दियौं भने विद्यालय नजाने अथवा सेवालाई लापरवाही गर्ने कुरालाई स्वतन्त्रता नमानौं । राम्रो गर्नेलाई चैं स्वतन्त्रता मानौं । त्यसैले राम्रो काम गरेर सेवा खोजौं, वृत्ति विकासमा लागौं ।

शिक्षकका मुद्धा र विषय सँधै ओझेलमा पर्ने गरेका छन् नि ?

म सहमत छु, शिक्षकको क्षेत्रमा धेरै काम गर्नुपर्ने जरुरी छ । वृत्ति विकासको क्षेत्रमा पनि जरुरी छ । तर यो विडम्बना पनि छ । कस्तो विडम्बना भने, प्रत्येक राजनीतिक दलका भ्रातृ संगठन छन्, शिक्षकका । तिनै राजनीतिक पार्टीले सरकार बनाउँछन्, तिनै भ्रातृ संगठन एकपछि अर्के गर्दै आन्दोलन गर्छन् । पञ्चायतदेखि गणतन्त्रसम्मका नेतालाई भरथेग गर्ने तिनै शिक्षक हुन, अहिले संसदमा पनि धेरै शिक्षक पुगेका छन् । यत्रो हुँदा पनि शिक्षकका समस्यालाई किन न्यायोचित रुपमा नहेरेको ? किन सार्वजनिक प्रणालीको यो समस्यालाइै न्यायोचित तबरमा नहेरेको होला ? मलाई ताज्जबु लाग्छ, म छक्क पर्छु । फेरि यो आजको समस्या होइन । २०४६ सालपछि शिक्षकहरु, जसले पञ्चायत विरोधी राजनीति गरे, तिनीहरु मूलधारमा आए, त्यसपछि पनि जनयुद्धको समयमा काँग्रेस र एमालेका शिक्षकले नै ती मुद्धा तल तल राखे, माओवादीका शिक्षकहरुले नै सेनासँग लुकिछिपी गर्दै तिनीहरुका संगठन ठाउँ ठाउँमा पुर्याइदिए । परिवर्तन ल्याउनमा त शिक्षकको ठूलो भूमिका छ नि त, तर यिनकै समस्या समाधान किन नगरेको हो ?

यसमा कमजोरी राजनीतिक नेतृत्वको हो वा स्वयम् शिक्षककै ?

नेपालको सन्दर्भमा राजनीतिक नेतृत्वलाई शिक्षक भनेको श्रम गर्ने वर्ग, समुदायको वर्ग, समुदायलाई आवश्यकता पर्दा ठूलो महत्व थियो । चुनावको बेला ठूलो महत्व हुने भयो । त्यो बेलाको चुनावको महत्व थियो । अहिले लवी गू्रपहरु मथि गए, शक्तिशाली लविङ् ग्रुपहरु भए । शिक्षकको मुद्धा ओझेलमा पर्यो ।

लविङ् ग्रुप भनेर तपाईंले इंगित गर्न खोज्नुभएको कसलाई ?

व्यापारिक समूह होला, निजी विद्यालय सञ्चालकहरु होला । यिनीहरुको मुद्धा चाहिँ बढी महत्वको भयो होला । सार्वजनिक प्रणालीमा काम गर्ने मान्छेको मुद्धा कम महत्वको भयो होला ।

हामीले शिक्षक बनाउने प्रक्रियालाई अत्यन्त फितलो बनायौं । किन फितलो भने, शिक्षक बनाउने भनेको प्रोफेशनल मान्छे बनाउनु हो । त्यसका लागि के के चाहिन्छ  भने पहिलो त विषयवस्तुको ज्ञान चाहियो, समाजको, मनोविज्ञान इत्यादिको ज्ञान चाहियो । यो अर्कै प्राणी हो, शिक्षक भनेको । शिक्षक भनेको कुनै वैज्ञानिक हैन, शिक्षक भनेको गणितज्ञ पनि हैन, शिक्षक भनेको चिकित्सक हैन । शिक्षक, शिक्षकै हो तर चिकित्सक र शिक्षकमा धेरै समानता छ । चिकित्सक भनेको पनि एउटा पेशा हो, उसको एउटा निश्चित कामहरु हुन्छन्, शिक्षकका पनि निश्चित काम हुन्छन् । हामीले शिक्षकलाई त्यसरी तयार गर्दै गरेनौं । शिक्षा पढ्नु र मानविकी पढ्नुमा केही पनि फरक भएन । शिक्षा पढ्नु र समाजशास्त्र पढ्नुमा केही पनि फरक भएन ।

यस मामिलामा कमजोरी कहाँ देखियो ?

शिक्षक तयार गर्ने पाठ्यक्रम, शिक्षक तयार गर्ने विधि, त्यो नै ठीक भएन । त्यो किन ठीक भएन भने, शिक्षा पढ्नेले त्यही तीन घण्टा जाँच दिने, मानविकी पढ्नेले त्यही । अनि कसरी विद्यालयमा निरन्तर मूल्यांकन प्रणाली लागू गर्न सकिन्छ ? जबकि शिक्षा पढ्ने मान्छेले त्यो प्रयोग नगरी पढेर आएको छ । 

दोस्रो कुरा, विश्वविद्यालयमा पढ्यो, बीएड पास गर्यो, अनि बीएड पास गर्दा उसको इण्टर्नसिप, प्राक्टिक्स गरेकै छैन । उसलाई थाहा भएको कक्षा कोठा र मानविकी पढेका विद्यार्थीलाई थाहा भएको कक्षा कोठा उस्तै छ । किन भने उसले सिद्धान्त अलि बढी पढेको होला तर कक्षामा त ऊ आएकै छैन । ४५ दिन जाने भनेको पनि आज भोलि जानु जरुरी देखिँदैन । गए पनि नाम मात्रको हुन्छ । उसले विद्यालय बुझेकै छैन, विद्यालयको सुधार भनेको थाहा छैन, कक्षाकोठालाई कसरी राम्रो बनाउने त्यो कुरा, उसले अभ्यास गरेकै छैन । जब तपाईंले त्यो गराउनु हुन्न, विश्वविद्यालयको लेक्चर हलमा राखेर, मानविकीलाई जसरी पढाउनु भयो, शिक्षालाई नि त्यसरी नै पढाउनु हुन्छ, विज्ञानलाई पनि त्यसरी नै । सबै चीज एकै ढंगले पढाइ सकेपछि के हुन्छ ? उही विषय मात्र छ, उसको शिक्षा । शिक्षक हुनका लागि उसको तयारी पुगेकै छैन ।

त्यो अवस्थाबाट तयार भएका शिक्षकहरु हुँदा, हाम्रा कक्षाकोठाहरु कसरी सञ्चालन भइरहेका होलान् त ?

मैले केही पनि फरक देख्दिन, एउटा बिएस्सी गरेको मान्छे र एउटा बीएड गरेको मान्छेबाट पढाउँदा । बरु बिएस्सी गरेकोसँग केही बढी विषयवस्तुको ज्ञान होला ।

यसो हुनुमा संकायको दोष हो ?

शिक्षा संकाय भनेको, जसरी इञ्जिनियरिङ्मा इञ्जिनियरिङ्को ज्ञान दिन्छ । प्राफेशनल कुरा गर्छ, इन्टर्नशीपको कुरा गराउँछ ।

भनेपछि शिक्षा संकायको सन्दर्भमा एजुकेशनल इञ्जिनियरिङ पुगेन ?

हो, ठीक भन्नु भयो, शिक्षकका लागि एजुकेशनल इञ्जिनियरिङ नै पुगेन । एउटा मान्छे पढाउन आउँदैछ भने, उसँग विषयवस्तुको पनि ज्ञान चाहियो । तर विषयवस्तुलाई कक्षा कोठामा कसरी लाने, त्यो अझ महत्वपूर्ण हुन्छ, त्यो ज्ञान र सिप चाहियो नि । मैले आफूले पढ्दा, मेरो दाइ शिक्षक नै हुनुहुन्थ्यो, मलाई उहाँ देखि खुब डर लाग्थ्यो । बा आमासँग डर लाग्थ्यो । हिजो डर चाहिँ पेडागोजी थियो । पढाउने विधि नै तर्साउने थियो । त्यसकारणले पनि त्यो बेला पढियो नि । तर अहिले त्यसरी चल्दैन । त्यतिखेर जस्तो शिक्षक निकाल्दिए नि हुन्थ्यो, लठ्ठी लिएर गए सब ठिक हुन्थ्यो, अब हुँदैन । हामीले खोजेको त राम्रो विधि जानेको, तौर तरिका जानेको, २३/२४ वर्षमा बिएस्सी गरेको मान्छे कक्षाकोठामा जाँदा के हुन्छ ? १२/१३ वर्षको उमेरकालाई पढाउनै जानेको छैन । हामी जर्बजस्ती कक्षामा हुल्छौं । बीएड गरेको मान्छेलाई पनि थाहा छैन, किनभने उसले अभ्यास गरेकै छैन । 

त्यसो हो भने राम्रो शिक्षक उत्पादनका लागि तपाईंको सुझाव के छ ?

अबको समय सुहाउँदो शिक्षक निकाल्ने हो भने तीन वर्ष राम्रोसँग विषयवस्तु पढाऔं, १ वर्ष इन्टर्नशीप पनि गराऔं । उनीहरुलाई विधि, दर्शन, समाज, मनोविज्ञान सबै बुझाऔं । 

अहिले कक्षाकोठामा कस्ता कस्ता विद्यार्थी छन् ? स्लो लर्नर पनि छन्, बा आमाको, घर परिवारको वातावरण नराम्रा भएका पनि छन्, ग्याजेट चलाउँदा चलाउँदा दिक्क भएकाहरु प्नि छन्, चलाउनै नपाएकाहरु पनि छन् । अबको कक्षा कोठा भनेको गएर भोमिट गर्ने कक्षा कोठा हैन । तर हामी भोमिट गर्ने मान्छे तयार गर्दैछौं । यो फ्याकल्टी अफ एजुकेशनको मात्र दोष हैन । यो उच्च शिक्षाकै दोष हो । किनभने हामीले बिएस्सी गर्ने मान्छेलाई पनि साइन्स चाहिँ इन्क्वायरी मेथडबाट पढायौं भने उसले स्कुलमा गएर साइन्स इन्क्वायरी गरेरै सिकाउँछ । भित्र एकदलीय र दुई दलीय विरुवाको पढाइ रहेको छ, बाहिर प्रशस्त सिमी बारी छ । त्यतातिर केही गर्दैन, साइन्स टिचरले । यो विडम्बना त हामीले वर्षौंदेखि भोग्दै आएका छौं, अहिलेमात्र हैन ।

अहिले पुस्ता परिवर्तन भयो, पुस्ताले शिक्षकको कुरा सुन्नै छोड्यो । शिक्षकले पढाएको भन्दा युट्युबका कथा विश्वास गर्ने भइसके । विश्वविद्यालयको पनि अवस्था उही छ । त्यही भएर हाम्रा विश्वविद्यालय पनि विद्यालय जस्ता मात्र छन् । १२ मा जसरी पढाइ हुन्छ, ब्याचलरमा पनि त्यसरी नै । नोट लेखाइ दिन्छ, पावर पोइन्ट देखाइदिन्छ, किताब छ, गाइड छ, यही पढेर जाँच देऊ भन्छ, यो भनेको ब्याचलर तहको पढाइ हैन, १३ कक्षाको पढाइ हो । कुनै पनि विषयमा लेखकले यो भनेको छ, तिमी खोजी गर, यो समुदायमा कहाँ पाइन्छ, खोज भन्नु पर्नेमा परिभाषाबाट सुरु गर्ने प्रचलन अद्यापि छ ।

यस मामलामा हाम्रा शिक्षकहरु एकदमै थ्योरी ग्रिडी, सिद्धान्तमा अति नै लोभ गर्ने स्वभावका छन् । सिद्धान्त भनेको एकदमै खतरा लाग्छ, उनीहरुलाई । सबैलाई सबै कुरा मन पर्छ भन्ने छैन । त्यसैले विद्यार्थीबाट सुरु गरौं न । उनीहरुको क्षमताबाट सुरु गरौं । चाहे विज्ञान पढाउनुस्, गणित पढाउनुस्, उनीहरुलाई खोज्ने बनाऔं । उनीहरुले खोजेको कुरामा रहेर छलफल गरौं ।

प्रतिक्रिया