Edukhabar
शनिबार, १२ साउन २०८१
खबर/फिचर

जसलाई स्याहारिन बधाईको पहिलो फोन उनकै !

बोल्न, खान, लुगा लगाउनै नसक्ने ४ सय ५० बालबालिकालाई सेवा, सय भन्दा बढी मुलधारको विद्यालयमा, उपचार र पढ्नको पर्खाईमा ४ सय ६३ जना

आइतबार, १० मंसिर २०८०

काठमाडौ - झिसमिसेमा सविता उप्रेतीलाई फोन आयो –‘ म्याम, पुरस्कृत हुनु भएकोमा बधाई छ ।’ 

यो फोन अटिजम भएर सात वर्षदेखि स्याहार गरेकी अलिसा न्यौपानेको थियो । 

खुसीको खबर सहितको यो फोन आफूले पाएको यस बर्षको अन्र्तराष्ट्रिय साहसिक महिला पुरस्कार भन्दा पनि खुसको लाग्यो सवितालाई । 

अटिजम भएका बालबालिकाको उपचार र शिक्षामा काम गरेबापत उप्रेतीलाई भारतको मानवअधिकार परिषद्ले मानवअधिकार र शान्तिका लागि योगदान पुर्याएको भन्दै पुरस्कार दिने घोषणा गरेको छ । जुन खबर सामाजिक सञ्जालमा देखेपछि खुसी हुँदै अलिसाले उप्रेतीलाई फोन गरेर बधाई दिएकी थिइन । 

‘दैनिक कृयाकलाप समेत गर्न नसक्ने अवस्थाकी ती नानीलाई उपचार गरेर पढायौं । हुर्कायौं अहिले उनैले बधाई भन्दा कसको मन खुसी हुदैन होला ?’ उनले भनिन ‘उसैको फोन आएपछि मैले पाएको पुरस्कार सार्थक भएजस्तो लाग्यो । त्यो फोनले मलाई पुरस्कार पाएभन्दा बढी खुसी भनायो ।’ 

अन्तराष्ट्रिय साहसिक महिला पुरस्कार उनलाई आउँदो डिसेम्बर १० मा भारतको नयाँ दिल्लीमा दिने कार्यक्रम छ । 

sabita_uperiti_03शरीर स्वस्थ र पूर्ण भए पनि मस्तिष्कको पूर्ण विकास नभई जन्म हुने अटिजम भएका बालबालिकालाई उपचार, पढाउने र उनीहरुको अधिकारको लागि उप्रेती १३ वर्षदेखि लडिरहेकी छिन् ।  अटिजम भएका बालबालिकालाई पढाउन उनले काठमाडौको गोठाटार, नरेफाट र भक्तपुरमा बिशेष विद्यालय नै खोलेकी छन् । २२ वर्षका उमेर छँदा सुरु गरेको उनको समाजसेवाले अन्र्तराष्ट्रिय स्तरमा चर्चा कमाएको छ । नहोस पनि कसरी बोल्न, खान, लुगा लगाउनै नसक्ने ४ सय ५० बालबालिकालाई उनले नेतृत्व गरेको संस्थाले सेवा दिइसकेको छ । यस मध्ये १ सय भन्दा बढी मुल धारको विद्यालयमा अरु जस्तै नियमित पढ्न सक्ने भएका छन् । उनको संस्थामा उपचार र पढ्नको लागि पर्खाईमा बस्ने ४ सय ६३ जना छन् । 

‘सीट खाली नभएर उहाँहरुलाई राख्नै सकेका छैनौ’ उनले भनिन । 

उनको संस्थामा ठाउँ नपाए पछि निजी रुपमा खुलेका संस्थामा भर्ना गर्न लैजाने गरेका छन् । उनको  संस्थामा भर्ना हुन खोज्नुको कारण हो–सस्तो र आय स्तर कमजोर भएकालाई निःशुल्क थेरापी गराउनु । अर्को स्वास्थ्यमा सुधार हुँदै गएपछि विद्यालयमा पढ्न पाउनु र आयमुलक तालिम समेत सिक्न पाउनु । खादा बनाउने, पोते उन्ने, चुरा बनाउने जस्ता सीप पनि अटिजम भएका बालबालिकाले सिक्न पाउँछन् । अटिजम भएका बालबालिकाको उपचार नै थेरापी हो । संस्थाले थेरापिस्ट मात्रै २० जना राखेर सेवा दिइरहेको छ । संस्थाले, उपचारसंगै त्यस्ता बालबालिकाको पढाईलाई पनि संगै लगेको छ । भक्तपुरको ताथलीमा दुई रोपनी जग्गामा बिशेष स्कूल खोलेर शिक्षा दिइरहेको छ । उनकै संस्थाले स्याहार गरेका दुई जनाले गतवर्ष कक्षा १० को अन्तिम परीक्षा समेत दिइसकेका छन् । 

sabita_uperiti_02

‘आफ्नो स्याहार गर्न नसक्ने नानीबाबुले एसइइमा राम्रो जीपीए ल्याउँदा मेरो सपना पुरा भएको ठानेको छु’ उनले भनिन् । 

अझ केही त आफु जस्तै अटिजम भएका बालबालिकाको हेरचाहमा समेत जुटेका छन् । ‘यो भन्दा अर्को उपलब्धि के हुन्छ ?’ उनले भनिन् । 

उनीहरुको स्याहारमा सविता मात्रै खटिएकी छैनन्–आमा, बुबा, दाई, भाई समेत खटेर सघाइरहेका छन् । अहिले नरेफाँट, ताथली र गोठाटारमा ६० जना अटिजम भएका बालबालिका पढिरहेका छन् । नरेफाँटमा १५, ताथलीमा २० र गोठारमा २५ जना बालबालिका छन् । 

सविताको योगदान 

दोलखा नाम्दुकी उनी २२ वर्षको छँदा अटिजम भएका बालबालिकाको स्याहारमा लागेकी हुन् । जुन बेला अटिजम भएका बालबालिकालाई मानसिक अपाङताको रुपमा राज्यले बुझ्ने गरेको थियो । यो अभियानमा जोडिए पछि उनले उनीहरुको स्याहार र उपचार मात्रै गरिनन् । कानुन नै संशोधन गरेर अटिजम अपाङगताको छुटटै पहिचान नै गराउन उनको पनि योगदान छ । पछिल्लो जनगणना अनुसार ४ हजार ४ सय ८४ जना अटिजम भएका व्यक्तिको पहिचान भएको छ । 

sabita_uperiti_01

अटिजम भएकालाई अन्य अपाङ्गता भए सरह भत्ता पाउने गरी कार्डको व्यवस्था गर्न पनि उनको पहल रहेको अभिभावकहरु बताउँछ । अटिजम भएका बालबालिकाको पहिचान भए पनि अभिभावकहरु हत्तपत्त स्वीकार गर्न चाहँदैनन् । ‘उनीहरुको स्याहार कसरी गर्ने अभिभावक अनविज्ञ हुन्छन् । त्यसैले हामीसंग कोही बच्चा राख्न चाहँदा अभिभावकलाई स्याहारको तालिम दिन्छौँ’उप्रेतीले भनिन् । थेरापी र स्याहार ठिक भएपछि बच्चा बिस्तारै बोल्न थाल्छन् ।

सकारात्मक परिवर्तन देखिन्छ । अटिजम भएका बालबालिकाको स्याहार गर्न र उपचार गर्न संस्थाले ३२ जनालाई रोजगारी दिएका छ । यसमा थेरापिस्ट, शिक्षक, मनोचिकित्सक छन् । उपचार र पढाई मात्रै होइन संस्थाले दिएको सीप मुलक तालिमले त्यही रोजगारी समेत पाएका छन् । क्रिस्टलको गहना, खेलौना, ढाकाको सामान र पोते उन्ने काममा उनीहरुलाई नै लगाउने गरिएको छ ।  ‘उनीहरुले जे सक्छन् त्यही गराउने हो । मासिक ७ देखि १५ हजारसम्म कमाउँछन् ।’ उनले भनिन् । 

प्रतिक्रिया