Edukhabar
मंगलबार, २८ असोज २०८२
विचार / विमर्श

विपद् व्यवस्थापन, सुरक्षित विद्यालय र सृजनशील सिकाइ

सुरक्षित विद्यालय, सृजनशील सिकाइको लागि तीनै तहको सरकारहरुको प्राथमिकतामा विद्यालयहरुको भौतिक निर्माणमा थप गम्भिरता अपरिहार्य ।

सोमबार, २७ असोज २०८२

विपद् व्यवस्थापन विद्यालय सुरक्षाको एउटा समग्र उपाय (Holistic approach) हो ।  जसले विद्यालयमा आइपर्ने प्राकृतिक तथा  कृत्रिम जोखिमहरुको नियन्त्रण, प्रतिरक्षा तथा रोकथाम  सम्बोधनको उपायहरुको प्रयोग गरी बालबालिकाको सुरक्षा गर्दछ, जसले गर्दा विद्यालय एउटा  सृजनशील सिकाइको थलोको रुपमा स्थापित हुन्छ । 

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम यूएनडीपीले नेपाललाई प्राकृतिक विपद् उन्मुख मुलकको रुपमा रहेको भनी सूचिकृत गरेको छ । जलवायु परिवर्तनको कारण विश्वकै चौथो विपद उन्मुख तथा बाढी पहिरोको दृष्टिकोणले तीसौं सङकटासन्न मुलुक भन्नी सुचिकृत समेत गरेको छ । 

विपद्कै कारण हरेक बर्ष नेपालमा बालबालिकाको शिक्षामा नकारात्मक प्रभाव पर्दै आएको छ । पछिल्लो विपद्, गत असोज १७ गतेको अविरल वर्षाले निम्त्यायो । विद्यालय शिक्षामा अवरोध पुग्यो । भौतिक संरचनाहरु समेत नष्ट भयो । समग्र समाजसँगै स्वभाविक रुपमा शिक्षक विद्यार्थी समेत प्रभावित भए । कतिपय विद्यालयहरुलाई बाढिपहिरो पिडितको लागि आश्रय स्थलको रुपमा प्रयोग गर्ने गरी तीनै तहको सरकारले निर्णय गर्यो । लगातार वर्षाको कारण देशभरि आएको भीषण बाढी पहिरोको कारण नेपालको विद्यालय शिक्षा जोखिममा रहेको सन्दर्भलाई मध्यनजर गर्दे त्यस्ता विपद्हरुबाट विद्यालयलाई जोगाउन र ती विपद्को सामना गरी असर न्युनीकरण गर्न ध्यान केन्द्रित गर्नु पर्ने भएको छ । सुरक्षित विद्यालय, सृजनशील सिकाइको लागि तीनै तहको सरकारहरुको प्राथमिकतामा विद्यालयहरुको भौतिक निर्माणमा थप गम्भिरता अपरिहार्य भएको छ । 

विपद्को प्रभाव

    विपद्को अवस्थामा विद्यालय बन्द हुदाँ  बालबालिकाहरु साथीहरुसंग खेल्न नपाउँदा, सिमित क्रियाकलापमा बाँधेर बस्नु पर्दा मनमा डर, क्रास, चिन्ता, असुरक्षा जस्ता समस्याहरु विद्यार्थीमा बढ्न सक्छ

    स्वास्थ्य मनोसामाजिक विकासमा नकारात्मक असर पर्न सक्छ ।  

    पाठयक्रमले तोकेको पाठ्यभार तथा पाठ्यघण्टा बमोजिम शिक्षण सिकाइ हुन नसक्नुले सिकाइ उपलब्धीको दर न्युन हुन जान्छ । 

स्थानीय तहको भुमिका 

    विद्याय शिक्षाका लागि आवश्यक मापडण्ड विकास तथा कार्यान्वयन गरी सुरक्षित विद्यालय पुर्वाधार  विकास गर्ने । 

    सबै विद्यालयमा सिकाइको लागि आवश्यक भौतिक सुविधा सुनिश्चित गर्न  पुर्वाधार विकास मर्मत तथा सवलीकरण गर्ने  ।

    जलवायु परिवर्तनको असर बाट सुरक्षित हुन आवश्यक पुर्वाधार बनाउन परामर्श गर्ने । 

    विद्यालयलाई सुरक्षित बनाउन आवश्यकता अनुसार सवलिकरण तथा पनः निर्माण एवम मर्मत सम्भार गर्ने । 

    पुर्वाधार निर्माण सँगै सुरक्षित विद्यालय एवम वातावरणीय पक्षलाई एकिकृत प्रणालीको विकास गरी संस्थागत क्षमता अभिवृद्धि गर्ने । 

    विद्यालयको सुरक्षाको लागि स्थानीय समुदाय, गैर सरकारी संस्था लगायतलाई प्रभावकारी परिचालन गर्ने । 

    विपद् व्यवस्थापन प्रतिकार्यको संयन्त्र र कार्य ढाँचा विकास गर्ने 

    विपद्को अवस्थामा वैकल्पिक सिकाइ विधि प्रयोग गरी बालबालिकाको सिक्न पाउने अधिकारको सुनिश्चितता गर्ने ।

    विद्यालय सुरक्षा न्युनतम प्याकेज लागु गराउन वि.व्य.स. तथा शिक्षकलाई अभिमुखिकरण गर्ने । 

    विद्यालय स्तरीय प्रतिकार्य योजना तयार गर्ने । 

    स्थानीय स्तरमा शिक्षा समु्ह निर्माण तथा परिचाल गर्ने । 

    स्थानीय तहका विपद् व्यवस्थापन समितिको सक्षमता विकास गर्ने ।

उपरोक्त भुमिका तथा रणनीतिहरुको प्रभावकारी कार्यान्वयनबाट सुरक्षित विद्यालय निर्माण हुने तथा बालबालिकालाई सृजनशील सिकाइमा सहभागि हुने अवसर प्राप्त हुने छ । 
सुरक्षित विद्यालयको लागि विपद् व्यवस्थापन हुन अति आवश्यक हुन्छ । 

विपद् व्यवस्थापनका मुख्य चरण 

–    Preparedness : शिक्षक, विद्यार्थी, अभिवाकहरुलाई विपद्को जोखिमबारे जनचेतना जगाउने, तालिम दिने स्रोत साधन तयार राख्ने जस्ता कार्यमा स्थानीय सरकारको ध्यान जान जरुरी छ । 

–   Mitigation : विपद् नहोस्, असर कम होस्, भनेर योजना बनाउने । जस्तैः सुरक्षित विद्यालय भवन, कक्षा कोठा निर्माण । 

–    Response : विपद्बाट भएको क्षतीको विवरण सम्बन्धित निकायले संकलन गरी आवश्यकता अनुसार कार्य अगाडी बढाउने ।

–    Reconstruction : क्षतीग्रस्त क्षेत्रमा आवश्यक निर्माण र जनजीवनलाई सामान्य अवस्थामा फिर्ता ल्याउन आवश्यक व्यवस्थापकीय कार्य गर्ने ।  

विपद् रोकथाम तथा प्रतिकार्य, बालसुरक्षा तथा विद्यालय शान्ति क्षेत्रको अवधारणा समावेश भएको एकिकृत विधि हो । 

    विद्यार्थी, शिक्षक तथा अन्य कर्मचारीको लागि सुरक्षित वातावरण सुनिश्चित गर्ने ।

    विपद् पश्चात पठनपाठन सुचारु गर्न , तयारी अवस्थामा बस्ने ।

    आपतकालिन अवस्थाको सामना गर्न मनोवल विकास गर्ने । 

    सुरक्षित विद्यालयमा मात्र सुरक्षित सिकाइ सुविधा रहने तथ्य बोध गर्ने । 

    विद्यालयमा वृहत विद्यालय सुरक्षालाई संस्थागत गर्ने । 

    विपद् पछिको उद्धारमा आधारित शिक्षा संचालन गर्ने । 

सुरक्षित विद्यालयका तीन स्तम्भ 

१. Physical safety

२. Psychological safety

३. Educational Continuity 

विपद्को कारण शिक्षा प्रदान गर्ने कार्य रोकिने कल्पना गर्नु हुँदैन । पछिल्लो समय प्रविधिमा भएको विकासले पनि सिकाइको आयाम बदलेको छ । अनलाईन माध्यम सम्भव नभए सुरक्षित र पायक पर्ने स्थानमा अस्थायी प्रवन्ध तोकेर पनि सिकाइलाई निरन्तरता दिन सकिन्छ । 

अन्त्यमा, 

विद्यालयमा आईपर्ने विपद्को व्यवस्थापन, सुरक्षित विद्यालय र सृजनशील सिकाइ, यी तीनै पक्ष एक अर्कासंग अन्तर सम्बन्धित छन् । विपद् व्यस्थापन कार्य ढाँचाले विद्यार्थीलाई सुरक्षित रहन सिकाउने जिम्मेवारी बोध गराउँछ । यो सुरक्षित वातावरणले विद्यार्थीलाई सृजनात्मक हुन सहयोग गर्दछ । सृजनशील सिकाइले विपद् व्यवस्थापन जस्ता विषय व्यवहारिक रुपमा सिकाउन सहयोगी रहन्छ । 

तसर्थ, विपद्  व्यस्थापन, सुरक्षित विद्यालय  र सृजनशील सिकाइ एक आपसमा सम्बन्धित रहेकोले समग्रमा गुणस्तरीय, सुरक्षित र व्यवहारिक शिक्षा सुनिश्चित गर्छ । यस्तो वातावरणमा विद्यार्थीले केवल सुरक्षित महशुस गर्ने मात्र हैन उनीहरुमा आत्मविश्वास, सिर्जनशीलताको पनि विकास हुन्छ । नेपालमा विपद्को क्षेत्रमा सकृय निकाय राष्ट्रिय विपद् जोखिम न्युनिकारण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को सक्षमता विकास गरी स्थानीय र प्रदेश सरकारको समन्वय तथा सहकार्यमा द्रुत कार्य टोली (Rapid action team ) रहनुपर्ने आवश्यकता बोध हुँदै गएको छ । 

शिक्षा मन्त्रालयका उपसचिव यादव, शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीका प्रमुख हुन् ।

प्रतिक्रिया