काठमाडौ - शैक्षिक सत्र पर धकेल्ने शिक्षा मन्त्रालयको निर्णयको विपरीत स्थानीय सरकारले ६ दिन अघि नै पठनपाठन शुरु गर्ने भएका छन् । काठमाडौँ उपत्यका भित्रका स्थानीय सरकारहरूले आगामी शैक्षिक सत्र अन्तरगत बैशाख ११ गतेबाट भर्ना अभियान र १५ गतेबाट नियमित पठनपाठन शुरु गर्ने निर्णय गरेका छन् ।
शिक्षा मन्त्रालयले भर्ना अभियान १५ गतेबाट र पठन पाठन २१ गतेबाट गर्ने निर्णय गरेको थियो । सङ्घीय सरकारको उक्त निर्णयले शैक्षिक क्षेत्रमा अन्योल सिर्जना गरेको निष्कर्ष निकाल्दै उपत्यका मेयर्स फोरमको सोमबार बसेको बैठकले विद्यालय तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार मातहत भएको स्मरण समेत गराएको छ । सोही अधिकारका आधारमा शैक्षिक कार्यतालिका तय गरिएको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख छ ।
यस अघि देशका विभिन्न पालिकाहरुले पनि शिक्षा मन्त्रालयको निर्णय विपरित शैक्षिक सत्र शुरु गर्ने निर्णय गर्दै आएका थिए । पोखरा महानगरपालिकाको एउटा वडाले समेत शिक्षा मन्त्रालयको निर्णयको अवज्ञा गरेको थियो ।
शिक्षा नियमावलीमा तोकिएको शैक्षिक सत्र अनुसार विद्यालय सञ्चालन गर्नका लागि उपत्यका भित्रका सबै पालिकाहरुलाई अनुरोध गर्ने निर्णय गरेको फोरमले जनाएको छ ।
'नेपाल सरकारको उक्त सूचनावाट विद्यालय सञ्चालनमा अन्योलता सृजना भई नियमित शैक्षिक क्रियाकलापमा असर पर्न गएकोमा उपत्यका मेयर्स फोरमको गम्भिर ध्यानाकर्षण भएको छ' विज्ञप्तिमा भनिएको छ 'सरोकारवाला निकायहरुबाट प्राप्त गुनासो समेतको विश्लेषण गर्दा विद्यार्थीको सिकाइ उपलब्धिमा हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न र उपत्यकाको शैक्षिक वातावरणमा एकरुपता कायम गर्नका लागि सबै विद्यालयहरूमा शैक्षिक सत्र सञ्चालनको भावना अनुरुप पठनपाठन सुचारू गर्न आवश्यक देखिएको छ ।'
मुलुकमा विद्यमान इन्धन संकटलाई ध्यानमा राख्दै आगामी दिनमा इन्धनको थप संकट बढ्दै गएमा बिद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिन र विद्यालय सञ्चालन तथा पठनपाठन अवरूद्ध हुन नदिनका लागि अनलाइन कक्षा लगायत अन्य बैकल्पिक उपायको समेत तयारी फोरमले अनुरोध गरेको छ ।
प्रतिक्रिया