Edukhabar
आइतबार, २९ चैत्र २०८२
विचार / विमर्श

गन्तब्य एसईई : हराइरहेका विद्यार्थी, ओरालो लागेको सिकाइस्तर

कमजोर सिकाइ केवल शैक्षिक गुणस्तरको समस्या मात्र होइनः यो समता र अवसरको पनि गम्भीर प्रश्न हो ।

आइतबार, २९ चैत्र २०८२

भर्खरै सकिएको कक्षा १० को अन्तिम परीक्षा (एसईई) मा नियमित तर्फ सहभागी चार लाख ४१ हजार पाँच सयभन्दा बढी विद्यार्थीले (केही अपवाद बाहेक) आफ्नो शैक्षिक यात्रा २०७२ सालमा सुरु गरेका थिए । त्यस बेला देशभर कक्षा १ मा नौ लाख ७४ हजार दुई सयभन्दा बढी विद्यार्थी भर्ना भएका थिए । यस अर्थमा, १० वर्षभित्र झण्डै ५५ प्रतिशत विद्यार्थी शैक्षिक यात्राका क्रममा बीचैबाट हराएका छन् । २०७२ सालमा कक्षा १ मा भर्ना भएर शैक्षिक यात्रा सुरु गरेका यति धेरै सहपाठी किन र कसरी बीच बाटैमा हराउँछन् ? राज्यका तर्फबाट यो विषय किन प्राथमिकतामा पर्दैन ? अझ विडम्बना के हो भने, यो समस्या नयाँ होइन : दशकौँदेखि दोहोरिँदै आएको छ । 

आजको सन्दर्भमा यिनै प्रश्नलाई भर्खरै पुनः चर्चामा आएको कक्षा ५ सम्मको उदार कक्षोन्नती, निरन्तर ओरालो लागेको सिकाइस्तर र एसईईलाई राज्यले नदिएको महत्वसँग जोडेर हेर्ने जमर्को हो । 

विद्यार्थीको शैक्षिक यात्रा र एसईईको गन्तव्यका बारेमा कुरा गरौँ । तलको ग्राफमा देखाइएको विद्यार्थीको यात्राले वास्तविक समस्या –बिन्दुहरू धेरै पहिले नै देखापर्ने र पछिल्ला चरणमा पनि दोहोरिने स्पष्ट संकेत गर्दछ । २०७२ मा कक्षा १ मा भर्ना भएका विद्यार्थीको पछिल्लो यात्राक्रम हेर्दा हामीले विद्यार्थीलाई मुख्यतः तीन बिन्दुमा गुमाइरहेका छौं ः पहिलो, प्रारम्भिक कक्षाहरूमा, विशेषगरी कक्षा ३ अघि वा त्यसको सेरोफेरोमा । 

दोस्रो, कक्षा ६ अघि वा त्यसको सेरोफेरोमा । 

र तेस्रो, माध्यमिक तहमा प्रवेश गर्ने चरण तथा एसईईतर्फ उक्लिने क्रममा । 

ग्राफले के देखाउँछ भने, कक्षा १ मा भर्ना भएकामध्ये करिब २२ प्रतिशत छात्र र २८ प्रतिशत छात्रा कक्षा ३ मा वा त्यस अघिनै हराइसक्छन् । त्यसैगरी, कक्षा १ मा भर्ना भएकामध्ये करिब ३४ प्रतिशत छात्र र ४० प्रतिशत छात्रा कक्षा ६ मा वा त्यस अघिनै हराइसक्छन् र अन्त्यमा, कक्षा १ मा भर्ना भएकामध्ये करिब ५५ प्रतिशत छात्र र छात्रा एसईईसम्म पुग्दैनन् । यसरी हेर्दा, कक्षा १ मा भर्ना भएका मध्ये करिब ४० प्रतिशत विद्यार्थीले त माध्यमिक तह नै टेक्दैनन् । यही कारणले यो प्रवृत्तिलाई माध्यमिक शिक्षाको समस्याका रूपमा मात्र बुझ्न मिल्दैन । विद्यार्थी संख्यामा ह्रास प्रारम्भमै सुरु हुन्छ, बिस्तारै गहिरिन्छ र एसईई नजिक फेरि तीव्र बन्छ । 

data_studrent_cehrd
स्रोत : सम्बन्धित वर्षको फ्ल्यास रिपोर्ट, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी ।

अब यी तीनवटा कमजोर बिन्दुका बारेमा चर्चा गरौँ ।

पहिलो बिन्दु : विद्यार्थी संख्यामा ह्रासको पहिलो र सबैभन्दा गम्भीर संकेत प्रारम्भिक कक्षामै देखिन्छ । कक्षा ३ सम्म पुग्दा मूल विद्यार्थी समूह उल्लेख्य रूपमा घटिसकेको हुन्छ । यसले विद्यालय बहिर्गमनको समस्या मुख्यतः प्रारम्भिक वर्षमै सुरु हुने देखाउँछ । विद्यालय प्रवेशका लागि पर्याप्त तयारी, नियमित उपस्थिति, आत्मीय, सुरक्षित र स्वागतपूर्ण विद्यालयीय वातावरण तथा आधारभूत सिकाइको सुनिश्चितता यही चरणका मुख्य प्रश्न हुन् । त्यसैले प्रारम्भिक कक्षालाई विद्यालय शिक्षाको सुरुआत मात्र होइन, पहिलो प्रमुख सुधार तथा शैक्षिक गुणस्तर विकासको आरम्भ बिन्दु मान्नुपर्छ । 

दोस्रो बिन्दु : कक्षा ६ आसपास देखिने अर्को ह्रास ले प्रारम्भिक कक्षा पार गरेपछि विद्यार्थी टिकाउपन स्वतः सुरक्षित हुन्छ भन्ने मान्यतालाई गलत सावित गर्दछ । कमजोर सिकाइ आधार, अनियमित उपस्थिति, र विद्यालयसँग कमजोर बन्दै गएको लगाव यस चरणका सम्भावित कारण हुन् । त्यसैले आधारभूत तहको मध्य चरणलाई पनि छुट्टै जोखिम–बिन्दुका रूपमा पहिचान गरी आवश्यक नीति तर्जुमा गरिनु आवश्यक देखिन्छ । 

तेस्रो बिन्दु : तेस्रो ठूलो ह्रास माध्यमिक तहमा प्रवेश गर्ने चरण र एसईईतर्फको यात्राका क्रममा देखिन्छ । यसले बीचका कक्षाहरू पार गर्नु मात्रले नतिजा सुनिश्चित हुँदैन भन्ने देखाउँछ । यस चरणमा विगतका सिकाइ कमजोरीसँगै परीक्षाको भय, कमजोर आत्मविश्वास, आर्थिक – सामाजिक दबाब र निरन्तरताको अनिश्चितता आदि जोडिन्छन् । त्यसैले एसईईलाई केवल अन्तिम सूचकका रूपमा होइन, त्यहाँ पुग्नु अघिका संक्रमणकालीन कमजोरीहरूको परिणामका रूपमा बुझ्नुपर्ने हुन्छ । यो तहमा पुगेका विद्यार्थीलाई ट्युसन वा तयारी कक्षाले केही राहत दिन सक्ला, तर अपेक्षित सिकाइस्तर र आत्मविश्वासलाई आधारभूत रूपमा बलियो बनाउन यो चरणसम्म आइपुग्दा ढिला भइसकेको हुन सक्छ । 

अब आधारभूत तहको सिकाइस्तर हेरौँ । सन् २०२२ को ल्ब्क्ब् प्रतिवेदनले ७५ जिल्लाका एक हजार आठ सय विद्यालयबाट सहभागी ३४ हजार एक सय ७० जना कक्षा ५ का विद्यार्थीको उपलब्धि मापन गर्दा २०१८ को तुलनामा गणितमा १५ दशमलब ४ अंक र नेपालीमा १ दशमलब १ अंकले घटेको देखाएको छ । प्रतिवेदनले प्रदेश, विद्यालयको प्रकार, लिङ्ग, भाषा र सामाजिक समूह अनुसार गहिरो असमानता पनि उल्लेख गरेको छ । यसले स्पष्ट गर्छ, नेपालमा कमजोर सिकाइ केवल शैक्षिक गुणस्तरको समस्या मात्र होइनः यो समता र अवसरको पनि गम्भीर प्रश्न हो । 

तर, यसभन्दा पनि गहिरो र थप चिन्ताको विषय अर्को छ । सिकाइको कमजोरी विद्यालय यात्राको त्यही चरणहरूमा देखिन्छन्, जहाँ विद्यार्थी टिकाउपन सबैभन्दा कमजोर छ । विशेषतः कक्षा ३ र फेरि कक्षा ६ को सेरोफेरोमा देखिने क्षतिले एउटा गम्भीर अवस्थाबारे संकेत गर्दछ । वर्तमान शिक्षा प्रणालीले धेरै बालबालिकालाई टिकाइराख्न पनि सकिरहेको छैन र टिकेका धेरैलाई अपेक्षित स्तरको आधारभूत सिकाइ सुनिश्चित गर्न पनि सकिरहेको छैन । यही कारणले आधारभूत तहको संकटलाई केवल सिकाइको कमजोर नतिजा भनेर मात्र बुझ्न मिल्दैन । एकैचोटि देखिएको, कमजोर टिकाउपन र कमजोर सिकाइले संरचनागत अथवा प्रणालीगत समस्या तर्फ संकेत गर्छ । 

त्यसैले यदि प्रारम्भिक र आधारभूत तहको मध्य चरणमा बालबालिकाले अपेक्षित सिकाइ हासिल गर्न सकेनन् भने, उनीहरूको निरन्तरता, आत्मविश्वास र पछिल्लो चरणमा प्राप्त हुने उपलब्धि स्वाभाविक रूपमा कमजोर हुन्छ । त्यसैले सुधारको केन्द्र केवल अन्तिम परीक्षा वा कक्षोन्नतीमा होइन, आधारभूत तहको त्यही चरणमा हुनुपर्छ, जहाँ सिकाइ र टिकाउपन दुबै एकसाथ कमजोर देखिएका छन् । 

यही सन्दर्भमा उदार कक्षोन्नती सम्बन्धी भर्खरै आएको नीतिगत दिशाले एउटा गम्भीर प्रश्न उठाएको छ । प्रश्न, साना बालबालिकालाई परीक्षाको अनावश्यक दबाबबाट जोगाउने कि नजोगाउने ? भन्ने होइन । प्रश्न के हो भने, उदार कक्षोन्नतीसँगै विश्वसनीय सिकाइ सुनिश्चित गर्ने व्यवस्था निर्माण भएको छ कि छैन ? भन्ने हो । 

यदि बालबालिकालाई कक्षाकोठामा आधारित मूल्याङ्कन, स्पष्ट न्यूनतम सिकाइ अपेक्षा र पछि परेकालाई समयमै दिइने सुधारात्मक सिकाइ सहयोगबिना माथिल्लो कक्षामा कक्षोन्नती गरियो भने, कक्षागत रूपमा विद्यार्थी अघि बढेको देखिन सक्छन्, तर सिकाइ, आत्मविश्वास र वास्तविक प्रगतिका हिसाबले उनीहरू अघि नबढेका हुन सक्छन् । यही अवस्था आजको विद्यालय शिक्षाको यथार्थसँग पनि मिल्दोजुल्दो देखिन्छ । 

त्यसैले शैक्षिक बहसलाई “उदार कक्षोन्नती कि असफलता” वा “आधारभूत सिकाइ कि टिकाउपन” जस्ता सवालमा सीमित नगरी “कक्षोन्नती” र “प्रगति” का सवालमा केन्द्रित हुनुपर्छ । कक्षोन्नती भनेको एउटा कक्षाबाट उपल्लो कक्षामा सार्नु हो, प्रगति भनेको वास्तविक सिकाइ, आत्मविश्वास र सुधारात्मक सहयोग सहित अघि बढ्नु हो । अहिलेको मुख्य जोखिम उदार कक्षोन्नती आफैंमा होइन, सिकाइ सुनिश्चित नगरी गरिने कक्षोन्नती हो । 

यही कारणले उदार कक्षोन्नतीलाई बालमैत्री नीतिका रूपमा मात्र हेर्नु पर्याप्त छैन । यदि यो आधारभूत सिकाइ, नियमित अनुगमन, थप सिकाइ सहयोग, आत्मीय र स्वागतपूर्ण विद्यालयीय वातावरणसँग जोडिएन भने, यसले कमजोर सिकाइ र कमजोर टिकाउपन दुबैलाई अझ कमजोर र संस्थागत बनाउन सक्छ । त्यसैले नीतिको केन्द्र “कसरी माथिल्लो कक्षामा सार्ने” भन्ने होइन, “कसरी सिकाइ सुनिश्चित गर्दै अघि बढाउने” भन्ने हुनुपर्छ । 

अब ध्यान कहाँ दिने ?

समग्रमा भन्नुपर्दा, नेपालको विद्यालय शिक्षा अहिले यस्तो मोडमा छ, जहाँ कमजोर आधारभूत सिकाइ, प्रारम्भिक कक्षामै देखिने विद्यार्थी निरन्तरतामा उल्लेख्य ह्रास र पर्याप्त सिकाइ सुनिश्चित नगरी अघि बढाइने उदार कक्षोन्नती— यी तीनवटा समस्या, शिक्षा प्रणालीको एउटै मूल कमजोरीका रूपमा त्यहि समस्या–बिन्दुहरूमा केन्द्रित भएका छन् । त्यो मूल कमजोरी भनेको विद्यालय यात्राको सुरुआती चरणमै बालबालिकालाई सिकाइ, टिकाउपन र आत्मविश्वा ससहित अघि बढाउने आधार सुनिश्चित गर्न नसक्नु हो । 

विद्यालय शिक्षा प्रणालीमा विद्यार्थी निरन्तरताको समस्या मात्र होइन, विद्यार्थीको शैक्षिक यात्रामा केही प्रमुख समस्या–बिन्दुहरू पनि स्पष्ट देखिन्छन् । पहिलो बिन्दु प्रारम्भिक कक्षाहरूमा छ, जहाँ धेरै बालबालिका विद्यालय र आधारभूत सिकाइसँग सुरक्षित रूपमा जोडिन सकिरहेका छैनन् । दोस्रो बिन्दु आधारभूत तहको मध्य चरणमा छ, जहाँ सिकाइ र टिकाउपन दुबै कमजोर देखिन्छन् । तेस्रो बिन्दु माध्यमिक प्रवेश र एसईईतर्फको यात्रामा छ, जहाँ अर्को ठूलो समूह एसईई अघि नै छुट्छ । 

त्यसैले अब केहि नीतिगत सुधार उच्च प्राथमिकताका साथ लागू गर्नु अत्यावश्यक भइसकेको छ ।

पहिलो, प्रारम्भिक कक्षाहरूलाई बढी महत्व दिनुपर्छ, किनकि यही चरणमा बालबालिका विद्यालयसँग जोडिन्छन् वा क्रमशः बहिर्गमनको बाटोमा लाग्छन् । 

दोस्रो, आधारभूत सिकाइ र विद्यार्थी टिकाउपनलाई अलग–अलग विषयका रूपमा हेर्न छोड्नुपर्छ । किनकि प्रणालीगत रूपमा हेर्दा यी दुबै समस्या एकैसाथ भइरहेको देखिन्छन् । 

तेस्रो, उदार कक्षोन्नती सिकाइ बिनाको निरन्तरताका रूपमा हेरिनु हुँदैन । आवश्यक कुरा भनेको विश्वसनीय मूल्याङ्कन, न्यूनतम अपेक्षा, र समयमै दिइने सुधारात्मक सिकाइको व्यवस्था हो । 

चौथो, माध्यमिक तह प्रवेशलाई अर्को प्रमुख सुधार–बिन्दुका रूपमा लिनुपर्छ, जहाँ थप शैक्षिक सहयोग, उपलब्धि मूलक सिकाइ र रोजगार तथा करियरसँग जोडिएको स्पष्ट मार्गचित्र आवश्यक छ । 

कक्षा ५ सम्म उदार कक्षोन्नतीलाई विस्तार गर्ने शिक्षा मन्त्रालयको नीतिगत प्रतिवद्धताले नेपालको विद्यालय शिक्षा प्रणालीलाई गम्भीर नीतिगत द्विविधामा पुर्याएको छ । समस्या केवल सिकाइको कमजोर स्तर वा विद्यार्थी टिकाउपनको कमी मात्र होइन । समस्या शिक्षा प्रणालीको हो, जहाँ प्रारम्भिक कक्षाका कमजोरीहरू क्रमशः ओझेलमा पर्दै जान्छन् । तर समाधान भने स्पष्ट रूपमा खोजिँदैन । यदि अब पनि जहाँ सिकाइ र टिकाउपन दुबै कमजोर देखिएका छन् त्यही बिन्दुमा ध्यान केन्द्रित गरिएन भने, विद्यार्थी कक्षा १० सम्म आईपुग्दा देखिने समस्या फेरि पनि दोहोरिरहने नतिजाका रूपमा निरन्तर रहनेछ ।

प्रतिक्रिया