Edukhabar
सोमबार, ०४ जेठ २०८३
विचार / विमर्श

भुइँ तहको शिक्षा : एक्ले बाँदर, गाँजा खेती र उदास विद्यालय

शिक्षक प्रअमा देखिएको लघुताभास : संविधान र दिगो विकासका लक्ष्यको प्रतिवद्धता सुनिश्चितत गर्न यही गति र मतिले हुँदैन

सोमबार, ०४ जेठ २०८३

सन्दर्भ

चेपाङ र तामाङ जातिका मानिस बसोबास गर्ने मकवानपुरको उत्तरतर्फको ग्रामिण पहाडी भूगोलमा पर्छ राक्सिराङ्ग गाउँपालिका । हेटौडा देखि करिब ३० किलोमिटर पश्चिमा पर्ने मनहरी  बजारवाट ७ किलोमिटर जति उत्तर उकालो लागेपछि चैनपुर भन्ने ठाँउमा पालिकाको कार्यालय छ । मूल मोटरबाटोबाट धेरै टाढा नभए पनि त्यहाँ पुगेपछि शहरी भन्दा निकै भिन्न परिवेशको अनुभव गर्न सकिन्छ । पालिकाको कूल जनसंख्याको करिब एकतिहाइ बासिन्दा क्रिश्चियन धर्मालम्बी रहेछन् । 

शिक्षा सम्बन्धी निश्चित उद्देश्य सहित औपचारिक कार्यक्रमको तालिका बनाएर पालिका गइएको थियो । औपचारिक कार्यक्रमको प्रतिवेदन बन्ने नै छ । त्यसका निश्चित मान्यता (रिक्वारमेण्टस्) पूरा गर्नु पर्छ, गरिन्छ नै । त्यसको अर्कै सन्दर्भमा चर्चा हुने नै छ । उद्देश्य एक, सिकाइ अनेक भनेजस्तो सो भ्रमणका क्रममा बाटामा भेट भएका मानिस, बारिमा मकै गोडेका किसान, चियापसलमा गफिएका स्थानीय, मोटरबाटो भरखरै पुगेकाले मोटरसाइकल सिक्न कस्सिएका अधवैंसे पुरुष लगायतसँगको कुराकानी, भलाकुसारी, उनीहरुले गरेका आपसी गफ र यो पंक्तिकारले राखेका केही जिज्ञासाका आधारमा यो आलेख तयार भएको छ । 

राज्य जोडिएको भूँइको पसल : पालिकाको सदरमुकामबाट आधि घण्टा जति हिँडेर पुगिने बोटबारी भन्ने गाउँको तलपट्टि खोलाको किनारमा एउटा चिया खाजा पसल रहेछ । त्यही बाटो भएर पालिकाको माथिल्लो भेकतिर मानिसहरुको आवतजावत हुँदो रहेछ । बिहानीको हिँडाइको क्रममा सात बजे तिर हामी त्यहाँ पुग्दा मानिसहरु गफिइ रहेका थिए । 

विषयवस्तु रहेछ – प्रधानमन्त्रीले संसदमा जवाफ दिन पर्ने ? कि नपर्ने ? 

त्यहाँ ७/८ जना मानिस थिए । सबै जसो प्रधानमन्त्रीको पक्षमा आफ्ना भनाइहरु राखिरहेका थिए । उनीहरु निर्धक्क भनिरहेका थिए – किन जवाफ दिने ? खुरुखरू आफ्नो काम गरिरहे भइहाल्यो नि !

सरकारले गरेका सुकम्बासी उठाउने,  प्रधानन्यायधिशको नियुक्ति सिफारिस, सुशासन लगायतका विषयमा एउटाले गरेको सकारात्मक टिप्पणीमा अर्कोले हो मा हो मिलाउँदै थपथाप गरिरहेका थिए । यसै क्रममा त्यो पसलका साहूले पनि झन् चर्को स्वरमा अरु राजनीतिक दलका मानिसहरुलाई गाली गर्दै प्रधानमन्त्रीको प्रशंसा गरे । उनीहरुले शिक्षा र स्वास्थ्य क्षेत्र पनि सुध्रिने अपेक्षा गरे । 

एकै छिनमा सबै जना गए । म र पसलाका साहू मात्र भयौं । कुराकानी गर्दा थाहा भयो ती अघि गफिने पुरुषहरु सबै गिटी बोक्ने ट्रक र ट्रिपरका चालक र सहचालक रहेछन् । उनीहरु सबैजसो त्यतैका स्थानीय हुन रे । 

साहूजीलाई मैले सोधेँ –  अहिलेको सरकारका मान्छे कसैलाई चिन्नुहुन्छ ? 

उनले कसैलाई पनि चिन्ने रहेनछन् । उनलाई सत्ताधारी दलको नाम पनि मुस्किलले आउँदो रहेछ । प्रधानमन्त्रीको नाम भने कण्ठै रहेछ । 

मोबाईलका कारण आपसी गफगाफको संस्कृति घट्दै गएको अवस्थामा यस्तो गफगाफ सुन्न पाउँदा विगतको याद आयो । मज्जा लाग्यो । स्थानीय सार्वजनिक स्थानमा हुने अनौपचारिक छलफलहरु प्रजातन्त्रको आत्मा हुन् भन्ने भनाइको स्मरण गरायो । 

एक्ले बाँदर : त्यो खाजा चिया पसलबाट बोटबारी गाउँ हुँदै फर्किन अघि लागियो । त्यो बोटबारी गाउँमा मकै खेती असाध्य राम्रो देखियो । बाटामा एक्लै मोडरसाइकल सिक्न कोशिस गरिरहेका करिब ५० वर्षका पुरुषले हामीले वास्तै नगरी हिँड्दै गरे पनि दुई हात जोडेर नमस्कार गरे । रोकिएर कुरा गर्ने मन भयो । कुरा उनैले शुरु गरे – बुढेसकालमा मोटरबाइक सिक्न लागेको नहुने रहेछ । खै सिकिँदैन क्यारे ! 

मकै खेती निकै राम्रो भएको प्रसंग निकाल्दै पानीको सुविधाका बारेमा कुरा भयो । बोरिङ्गबाट पानी तानेर सिञ्चाइको राम्रो व्यवस्था गरिएको रहेछ, त्यो गाउँमा । त्यही क्रममा अहिलेको नेपालका किसानका प्रमुख समस्याको रुपमा विकसित हुँदै गरेको बाँदरको प्रसंग निस्कियो । उनका अनुसार बाँदरको हुलै त आउँदो रहेनछ तर एक्ले बाँदर आएर निकै सताउने गरेको रहेछ । फरासिला रमाईला ति मानिस सँग

कुरै कुरामा भनियो - यसको समाधन नयाँ सरकारले गर्ला कि त ! उनले पनि आशा चैँ गरेका रहेछन् ।

गाउँबाट विद्यालयको दूरी र बालबालिको पठनपाठका बारेमा पनि केही कुरा गर्न खोजेको तर मोटरसाइकल सिक्ने रहर र एक्ले बाँदरको पिरलोले होला ध्यान आकर्षित गर्न सकिएन ! 

तर, एउटा दूरदराजको भूँइतहको मानिसमा त्यति टाढाको केन्द्रको सरकारप्रतिको आशा र भरोसा देख्दा अचम्म मान्दै हामी हाम्रै बाटो लाग्यौं । निर्वाचनले भुइँ र केन्द्रलाई भावनात्मक रूपमा यसरी पो जोड्ने रहेछ ! 

गाँजा र अफिम : राक्सिराङ्ग गाउँपालिकाको शिक्षामा अपेक्षित सुधार नहुनुमा अफिम र गाँजाको खेतीलाई कारक भनेर धेरै मानिसहरुले भनेको सुनियो । त्यो काममा विद्यालयका हरेक बालबालिका करिब तीन महिना संलग्न हुन्छन् रे ! सानै बच्चाले पनि ५० हजार देखि एक लाखसम्म रुपैंया सम्म कमाउँछन् रे ! त्यसरी पैसा कमाउन सिकिने हुँदा पढेर के गर्ने ? भन्ने धारणा मानिसहरु छ रे ! यो खेती र यसको कारोबार अवैधानिक हो भने पनि अदृश्य रूपमा वैधानिक जस्तो छ रे ! गाँजा खेती लगाउन शुरु गर्दै केही जग्गामा पछि नष्ट गर्ने मनसायले खेती गरिने रहेछ । त्यही नष्ट गर्न लागइएको गाँजा र अफिम पछि प्रहरीले नष्ट गर्छ रे ! त्यही विषय राष्ट्रिय समाचार बन्छ रे ! प्रहरीले अवैध खेती गरिएको यति रोपनी जग्गाको गाँजा र अफिम खेती नष्ट गर्यो भनेर समाचारमा आउँछ रे ! 

अर्थात्, यी सबै काम सेटिङ्गमा हुन्छ भनेर सामान्य मानिस देखि विद्यार्थी र भेटिएका सबैजसोले सुनाए । यसले दुई तीन तरिकाले बालबालिकाको पठनपाठनमा नकारात्मक असर पुर्याएको ठम्याइ पनि बताए । 
त्यो काममा संलग्न हुँदा विद्यालय आउँदैनन् एउटा मूल समस्या त्यही नै भयो । दोस्रो वेथिति बढेको छ, पैसा मुठाका मुठा घरमा हुन्छ, पैसा लिने खर्च गर्न जाने आदतले विद्यालय त तिरस्कारको संस्था बनेको छ रे ! लोकाचारको निम्ति मात्र विद्यालय पठाउने गरेको पिडादायक अनुभूति शिक्षकहरुले सुनाउने रहेछन् । यस कुराले अभिभावकहरु पनि शिक्षाका गतिविधिमा आकर्षिक नहुने गरेको गुनासो शिक्षकको छ । अवैधानिक कमाइ हुनाले समाजमा धेरै प्रकारको विकृति ल्याएको भन्ने शिक्षक र अन्य जानकारको भनाइले नयाँ कुराको विषयवस्तु अवगत भयो । हाम्रा विद्यालयहरु सामजिक अन्तरक्रियाका थलो हुन् भन्ने मान्यतालाई स्थापित र विकसित गर्न त धेरै मिहेनत पो गर्नु पर्ने रहेछ भन्ने लाग्यो । 

एउटा मात्र दरबन्दी भएको पालिका : पालिकामा छ वटा माध्यमिक विद्यालय छन् ।  तर माध्यमिक तहको शिक्षक दरबन्दी एउटामा मात्र रहेछ ! पालिकाका पदाधिकारी र शिक्षाका सरोकारवलाहरु प्रायः सबैलाई यो कुराको जानकारी रहेछ । शिक्षामा गुणस्तर र योग्यता पुगेका शिक्षक तथा मापदण्ड अनुसारको शिक्षकको व्यवस्था जस्ता विषय त्यस पालिकाको शैक्षिक योजनामा उल्लेख गरिएको रहेछ । त्यसरी उल्लेख गरिएका विषयवस्तुको कार्यान्वयनको अवस्थाका बारेमा जिज्ञास राख्दा सरोकारवलाहरुले संघीय सरकारप्रति आक्रोश व्यक्त गरे । पालिकाका अध्यक्ष र उपाध्यक्षले त संविधानले दिएको पालिकाको अधिकार ऐन र नियमावली मार्फत झन् खुम्च्याइयो भनेर तितो अनुभव व्यक्त गरे । दुई कार्यकाल पूरा गर्न लागेका पालिकाका अध्यक्षले २०७४/०७५ सालतिर भन्दा अहिले पालिकालाई झन् कमजोर बनाइएको, नौ जना शिक्षक स्थानीय तहले आफ्नै स्रोतवाट व्यवस्था गरेको, तर महालेखा परीक्षकले बेरूजु लेखिदिएकाले हटाउन परेको पिडादायक अनुभव सुनाए । 

जिल्लामा कुनै शिक्षकलाई कारवाही गर्न परेमा राक्सिराङ्ग पठाउने प्रचलन नै थियो, त्यो अझ पनि यदाकदा कायमै भएको कुरा पालिका अध्यक्षको थियो । शिक्षकको रोजाइमा पनि अन्तिममा पर्ने अवस्थामा गुणस्तरीय शिक्षा र एसईईमा राम्रो नतिजाको अपेक्षा गर्नु नै वेकार हो भन्ने कार्यकारीको वैठकमा चर्चा गरिएको विषय पनि चाखपूर्ण लाग्यो । 

बालविकास र शिक्षा उच्च प्राथमिकता : पंक्तिकारलाई करिब डेढ घण्टा गाउँ कार्यपालिकाको वैठकमा शिक्षाका बारेमा कुराकानी गर्ने अवसर मिल्यो । सो अवसरमा बालविकास र शिक्षालाई उच्च प्राथमिकता दिन पर्ने कुरा सबैजसोले बताए । तल्लो कक्षामा नै विद्यार्थी कमजोर भएकाले कक्षा १० को नतिजा बिजोग हुने गरेको कुरामा उनीहरु एकमत थिए । छ वटा माध्यमिक विद्यालय मध्ये तीन वटा बाट एक जना पनि विद्यार्थी ग्रेडेड नभएको  विषयले लज्जित बनाएको कार्यपालिकाका सबै जसो पदाधिकारी र सदस्यहरुले व्यक्त गरे । 

विद्यामान स्रोत र साधन तथा नीतिगत व्यवस्थका आधारमा स्थानीय तहले खासै केही गर्न नसक्ने उनीहरुको अभिव्यक्ति थियो । युनेस्कोको सहयोगमा बनाईएको पालिकाको शैक्षिक योजनामा बालविकास र शिक्षाका बारेमा सुधारका धेरै कुरा लेखेको रहेछ । स्थानीय परिवेशलाई राम्रैसँग विश्लेषण पनि गरेको रहेछ । पहिचान भएका समस्यालाई सम्बोधन गरिदै लगिने पनि भनिएको रहेछ । त्यसबारेमा जिज्ञासा राख्दा कार्यपालिकाका सहभागीहरुको निष्कर्श समान छ - स्थानीय तहको विद्यामान जनशक्ति, साधन र स्रोतले मात्र आमूल परिवर्तन गर्न सकिँदैन । 

शिक्षक प्रतिको दृष्टिकोणमा भिन्नता : शिक्षा कमजोर हुनुका कारणबारे गरिने यस प्रकारका छलफलहरुमा शिक्षकले काम नगरेर, राजनीति गरेर, विद्यालयमा नगएर जस्ता कुरा सुनिन्छ । तर यो छलफलमा शिक्षकप्रति सकारात्मक र सहानुभूतिका अभिव्यक्ति सुनियो । एउटा कर्मचारीले कति सुविधा पाउँछ ? शिक्षक कहाँवाट आएर यहाँ पढाउन पर्छ, उसलाई खासै सुविधा छैन ! 

चिया पसलका गफगाफ र कर्मचारीहरुसँगको छलफलमा शिक्षक प्रतिको सहानुभूति र आदरभाव विकसित हुँदै गरेको हो कि भन्ने अनुभूति भयो । अघिल्लो बर्ष शिक्षकहरुले गरेको काठमाडौ केन्द्रित सडक प्रदर्शनको प्रसंग पनि निस्क्यो । त्यो प्रसंगमा पनि शिक्षक प्रति धेरै गुनासो सुनिएन ।  

शिक्षक प्रअमा देखिएको लघुताभास : विद्यालयका शिक्षक र प्रधानाध्यापकमा आत्माविश्वास अत्यन्तै कमजोर भएको छलफलका क्रममा अनुभूति भयो । शिक्षाको गुणस्तर भनेकै विद्यार्थीले राम्रोसँग सिक्नु हो । यसका लागि विद्यार्थीलाई सहयोग, माया र मार्गदर्शन गर्न शिक्षकमा आत्माबल उच्च हुन जरुरी हुन्छ ।  विद्यार्थीले सिक्नका लागि शिक्षकले मात्र विद्यार्थी उपर सबैभन्दा बढी न्याय गर्न सक्छन् । शिक्षकले सोधिएका प्रश्न र छलफलमा उठेका सवालमा ढुक्क साथ तर्कपूर्ण जवाफ दिन मन पटक्कै गरेनन् । उत्साहित भएनन् । व्यक्तिगत भेटघाटमा होस् वा सामुहिक छलफलमा अभिव्यक्ति अत्यन्तै कमजोर महशुस भयो । सोधिएका प्रश्नको वस्तुगत रुपमा उत्तर दिने र शालिनता देखाउने शैली भने लोभलाग्दो थियो । यही प्रकृतिको अनुभूति केही महिना पहिला लमजुङ जिल्लाका प्रअहरुको भेलामा पनि भएको थियो । त्यतिबेला पनि शिक्षकमा पाइएको कमजोर आत्माविश्वासले खिन्न बनाएको भने थियो । शिक्षक समेतको सहभागितामा पहिला पहिला हने सामुहिक छलफलहरुमा अरुको भन्दा शिक्षकको प्रभुत्व उच्च हुने गर्दथ्यो । व्यक्ति र समाजलाई ज्ञान र व्यवहारले अगुवाइ गर्ने शिक्षकहरुको यस्तो मनोदशाको बारेमा व्यापक बहसको विषय बन्न नसक्नु शिक्षा शास्त्रको विद्यार्थीको हैसियतले दुःखलाग्नु स्वभाविकै भयो । 

निल्नु र उकेल्नुको निःशुल्क र अनिवार्य शिक्षा : सबैजसो सरोकारवलाहरुले समान आक्रोश थियो – सरकारले एउटा दरबन्दी दिन्छ र शुल्क नउठाउन पटकपटक सूचना जारी गर्छ ! विद्यालयहरुले अभिभावकको सहमतिमा चन्दाको रुपमा केही रकम लिने गरेकोमा पनि पत्रकार र समाजका नकारात्मक प्रवृत्तिका मानिसहरुले हुर्मत लिने गरेको  व्यथा कार्यपालिकको वैठकमा सुन्न पाईयो । त्यही अनुसार शिक्षक र प्रअहरुको पनि निराशाजनक गुनासो थियो । सबको एउटै कुरा थियो लगानी नभएको शिक्षाको काम छैन । अभिभावकले अलिअलि भए पनि लगानी गर्नु पर्ने रहेछ, त्यसो भएमात्र उनीहरुले बच्चाको पठनपाठनमा ध्यान दिन्छन् ।  

सामान्य बुझाईमा शिक्षा : राक्सिराङ्गमा अपवादमा बाहेक विद्यालय नै भर्ना नभएका बलबालिका छैनन् भन्ने बुझाइ भयो । विद्यालय बीचैमा छाड्ने दर भने उच्च छ, अकल्पनीय छ भन्ने जानकारी मिल्यो । त्यसै गरी पढाइ छाड्ने र दोर्होयाउने दर पनि उच्च छ भन्ने बुझिन्छ । शिक्षाको गुणस्तरको पक्ष त झनै कहाली लाग्दो नै छ । पालिकामा सबै विद्यालय सामुदायिक रहेछन् । –पालिका भरमा एउटा मात्र निजी विद्यालय रहेछ), तथापि ती सामुदायिक विद्यालयहरु गरिबका बालबालिका मात्र पढाउने विद्यालयमा रुपान्तरण भएका छन् । हुनेखानेले राजमार्गमा पर्ने मनहरी बजार, हेटौँडा र काठमाडौंमा आफ्ना बच्चाहरु पढाएका छन् ।  हाम्रो संविधानमा उल्लेखित अनिवार्य र निःशुल्क शिक्षाको कथा र व्यथा यस्तै पाइयो ! 

निचोड : यो अनुभूतिजन्य लेखमा मेरो निचोड केही छैन । पाठकले जे अनुभूति गर्छन् त्यही नै निचोड हो । तथापि एउटा कुरा के भने, राक्सिराङ्ग एउटा प्रतिनिधि मूलक उदाहरण हो, संविधान र दिगो विकासका लक्ष्यमा गरेको प्रतिवद्धता सबैका लागि गुणस्तरीय शिक्षाको सुनिश्चितता यही गति र मतिले हुँदैन, भिन्न तरिकाको बिमर्श र स्रोतको आवश्यकता पर्दछ भन्ने चाँहि लाग्दछ । 

प्रतिक्रिया