भक्तपुर - २०८२ सालको कक्षा १० को अन्तिम परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षा सकिएको एक महिना भित्रै नतिजा सार्वजनिक गर्ने सरकारी ‘डेटलाईन’ का कारण सोमबार रातारात गरेरै भए पनि राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो । परीक्षाको नतिजा अनुसार गत बर्ष भन्दा चार दशमलब १७ प्रतिशत धेरै विद्यार्थी ग्रेडेड भएका बोर्डले जनाएको छ ।
यो बर्ष कूल विद्यार्थीको ६५ दशमलब ९८ प्रतिशत ग्रेडेड भएका छन् । गत बर्ष कूल विद्यार्थीको ६१ दशमलब ८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।
नतिजा विबरण यस प्रकार छ :
यस बर्ष सरकारले एक महिना भित्रै नतिजा सार्वजनिक गर्ने घोषणा गरेको थियो । परीक्षा शुरु हुने अघिल्लो दिन चैत १८ गते शिक्षा मन्त्री सस्मित पोखरेलले नतिजा चाँडै निकाल्न उत्तर पुस्तिका परीक्षण गर्ने शैली बदल्ने निर्णय गरेका थिए । सोही निर्णय अनुसार सुरक्षाको कारण बाहेक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको थियो । चैत २९ गते सकिएको परीक्षाको नतिजा जसरी पनि सोमबार गर्नै पर्ने चापमा बोर्ड थियो । मन्त्रीको उक्त निर्णय कार्यान्वयन गर्नै पर्ने भएपछि बोर्डका कर्मचारीले 'रातारात' गरेर नतिजा सार्वजनिक गरेका हुन् ।
नयाँ सरकार बने सँगै, 'नयाँ गर्ने सोच'मा रहेको सरकारले परीक्षाको ढाँचा जस्ताको त्यस्तै राखेर कापी परीक्षणको शैली मात्रै बदलेको थियो ।
पढ्नुहोस् : परीक्षण मात्रै हैन परीक्षाको शैली नै सुधार
र, अहिले नतिजा प्रकाशनको साविकको शैली पनि उही ‘तामझाम’ सहित निरन्तर राखिएको छ ।
२०७३ सालमा भएको शिक्षा ऐनको आठौं संशोधनले विद्यालयको संरचना बदललेर कक्षा १२ लाई विद्यालय तहको अन्तिम कक्षा हुने व्यवस्था गरेको छ । नयाँ संविधान सँगै तीन तहको सरकारको अधिकार क्षेत्रको बाँडफाँट गर्दा कक्षा १० को परीक्षा प्रदेशमा राखिएको छ । तर, उक्त परीक्षा र नतिजा प्रकाशनको काम अझै पनि साविककै शैलीमा संघीय सरकारले नै सञ्चालन गर्दै आएको छ ।
ऐनले विद्यालयको संरचना बलदेको र माध्यमिक तह सम्मको शिक्षाको अधिकार स्थानीय सरकार मातहत हुने संविधानको व्यवस्था लागू भएकै एक दशक बितिसक्यो । परीक्षाको प्रश्नपत्र छपाई देखि परीक्षा सञ्चालन, अनुगमन र नियमनका नाममा हुने कार्य र भ्रमणसँग आर्थिक कृयाकलाप जोडिएको छ । यही परीक्षाको नतिजाका आधारमा निजी विद्यालयहरुले आफ्नो विद्यालयको प्रचार प्रसार गर्दै आएका छन् । यही व्यापारका कारण पनि कक्षा १० को अन्तिम परीक्षाको शैली बदलिन नसकेको शिक्षा क्षेत्रका जानकारहरुको निष्कर्श छ ।
तत्कालिन प्रधानमन्त्री केपी ओलीले एसईईको नतिजा ७० प्रतिशत पुर्याउने घोषणा गरेका थिए । आफ्नो उक्त घोषणा पुरा गराउन उत्तरपुस्तिका परीक्षण उदार बनाई नतिजामा सुधार देखाईएको भन्दै शिक्षाविद्हरुले आलोचना गरेका थिए । तर, नाफा मूलक निजी विद्यालयहरु प्रति नरम ओलीले उक्त नतिजा सुधार हुनुमा आफ्ना आईटी विज्ञको कम्पनीलाई जस दिएका थिए ।
एसईई नतिजा सुधारको जस प्रधानमन्त्रीले दिए आफ्ना आईटी विज्ञको कम्पनीलाई !
प्रतिक्रिया