Edukhabar
मंगलबार, १७ असार २०८२
गतिविधि

एसईई नतिजा सुधारको जस प्रधानमन्त्रीले दिए आफ्ना आईटी विज्ञको कम्पनीलाई !

कुनै कम्पनी र व्यक्तिको नाम उच्चारण नगरिकनै ओलीले संसदमा भने : व्यक्तिगत रुपमा मैले आग्रह गरेर डेढ लाख विद्यार्थीलाई निःशुल्क अनलाईन पढाईएको छ ।

शनिबार, १४ असार २०८२

काठमाडौं - कक्षा १० को अन्तिम परीक्षा एसईईको नतिजा सुधार हुनुमा प्रधानमन्त्री केपी ओलीले आफ्ना आईटी विज्ञको कम्पनीलाई जस दिएका छन् । आफ्नो स्पेन भ्रमणका बारेमा संसदलाई जानकारी दिन शनिबार रोष्टममा उभिएका ओलीले दुई अढाई सय युवा परिचालन गरेर एसईईको नतिजा सुधार भएको दावी गरे । 

केही अत्यन्त ट्यालेण्ट खालका युवालाई आफूले व्यक्तिगत रुपमा आग्रह गरेर काम गराएको बताउँदै उनले डेढ लाख विद्यार्थीलाई निःशुल्क अनलाईन पढाएका कारण नतिजा सुधार भएको बताए ।  

'यसमा अढाई सय भन्दा बढि मानिसहरु खटेका छन् । मेण्टरका रुपमा खटेका छन्, शिक्षकका रुपमा खटेका छन् । धेरै कम्प्युटरहरु, ल्यापटपहरु र मोवाईलहरुको प्रयोग गरिएको छ' कुनै कम्पनी र व्यक्तिको नाम उच्चारण नगरिकनै ओलीले भने 'फोर जी सेवा नभएका ठाउँमा दुरसञ्चारले ईण्टरनेट सेवा पुर्याईदिएर व्यक्तिगत रुपमा मैले आग्रह गरेर डेढ लाख विद्यार्थीलाई निःशुल्क अनलाईन पढाईएको छ ।' 

बालबालिकाको सिकाइ सुधार्ने नाममा प्रधानमन्त्रीका आईटी विज्ञ असगर अलीको कम्पनी एम्बिसन गुरुले शिक्षा मन्त्रालयको श्रोत, साधन र जनशक्ति प्रयोग गरी कक्षा १० का बालबालिकाको डाटाबेस हात पारेको थियो । सोही डाटाबेसमा रहेका विद्यार्थीलाई एम्बिसन गुरुले आफ्ना अनलाईन कक्षा सम्बन्धि उत्पादन बेचेको थियो । विद्यालय तहका बालबालिकाको सिकाइका लागि राज्यको करोडौं लगानीमा सञ्चालित कार्यक्रमलाई बेवास्ता गर्दै उक्त कम्पनीबाट उत्पादित सामग्रीलाई प्रवर्द्धन गर्न सरकारनै संलग्न भएको थियो । 

पढ्नुहोस् : सिकाइ सुधार्ने नाममा प्रधानमन्त्रीका विज्ञको कम्पनीको प्रवर्द्धन

उक्त विषय विवादित भए पछि उक्त कम्पनी प्रवर्धन गर्न खटिएका शिक्षाका कर्मचारीलाई फिर्ता गरिएको थियो ।  यो विषयमा एडुखबरले खबर प्रकाशित गरे पछि अख्तियारले समेत छानविन थालेको थियो । 

पढ्नुहोस् : सिकाइ सुधार्ने नाममा प्रधानमन्त्रीका आइटी विज्ञको कम्पनी प्रवर्द्धन गरेकोमा अख्तियारद्वारा छानविन सुरु

निजीको शैक्षिक कार्यक्रम प्रवर्द्धनमा सरकारी कर्मचारी, राज्यको संरचनामा 'माकुराको जालो'

सिकाइका नाममा ‘सत्ताको दुरुपयोग’ रोक

तत्कालिन शिक्षामन्त्री विद्या भट्टराईलाई उक्त कम्पनीले मागे अनुसार डाटाबेस उपलब्ध गराउन र सरकारी जनशक्ति परिचालन गर्न प्रधानमन्त्रीकै तहबाट दबाब दिईएको थियो । तर, भट्टराईले सरकारी संरचना, सामग्री, जनशक्ति र बजेट हुँदा हुँदै निजी कम्पनीलाई सहभागी नगराउने अडान लिए पछि ओली भट्टराई सम्बन्धमै चिसो आएको थियो । अन्ततः भट्टराईले राजिनामा नै दिन वाध्य भएकी थिईन् । शनिबार संसदमा प्रधामन्त्री ओलीले एसईई नतिजा सुधार गर्ने उक्त कार्यमा संलग्न युवा विद्यार्थी, युवा शिक्षक, युवा टेक्निसियनलाई संसदबाटै धन्यवाद समेत ब्यक्त गरे ।  

'४८ नपुगेको ठाउँबाट ६२ पुगेको छ यो सानो उपलब्धि हैन, राम्रो  कामको प्रशंसा गर्नु पर्छ हामीले राम्रो नतिजालाई स्विकार्न र खुसी हुन सक्नु पर्छ' उनले भने 'आगामी बर्ष ६५ देखि ७० प्रतिशत सम्मको नतिजा ल्याउने प्रयास हुने छ ।' 

आगामी बर्ष पनि केही लाख विद्यार्थीलाई निशुल्क रुपमा अनलाईन कक्षामा सामेल गराउने बताउँदै उनले यो सेवा अझ विस्तार गर्ने योजना रहेको पनि बताए । 

'म आह्वान गर्छु युवाहरुलाई यो सेवामा सरिक हुनुस् र यसबाट देशलाई उत्थान गर्ने कार्यमा योगदान गर्नुस्' उनले भने 'यो सेवा मौका परीक्षा दिनेहरुका लागि भोलिबाटै शुरु हुन्छ । अर्को बर्षको एसईईको लागि तुरुन्तै शुरु हुनेछ । अर्को बर्ष एसईई दिनेहरुका लागि समेत शुरु गर्न आग्रह गर्न चाहन्छु ।'

यो नतिजा आएकोमा सबै खुसी हुनु पर्ने बताउँदै उनले नतिजामा भएको सुधारलाई अँक थपेर पास गराएको जस्ता हचुवाका विना आधारका कुरा सार्वजनिक भएको भन्दै कटाक्ष पनि गरे । 

'मेहनत गरेर विद्यार्थीले पास गरेको कुरालाई अपमान हुने गरी, नयाँ पुस्ताको उत्साहलाई होच्याउने र अपमान गर्ने गरी कुनै कुनै विद्धानले बोलेको सुन्दा मलाई दुख पनि लाग्छ अचम्म पनि लाग्छ' प्रश्न गर्दै उनले भने 'हामी मेहनत गरेर आफ्नो स्तर उठाउन सक्दैनौं ? नम्बरमा खेलवाड गर्नु पर्छ अँकमा खेलवाड गर्नु पर्छ ?' 

अंकमा खेलवाड हैन विद्यार्थीले मेहनत गरेर यो नम्बर ल्याएका ओलीको दावी छ । त्यस अघि उनले एसईई परीक्षामा राम्रो अँकका साथ उत्तीर्ण हने वा उत्तीर्ण हने सबै विद्यार्थीलाई बधाई र शुभकामना व्यक्त गरेका थिए । 

'मैले यसै सदनबाट भनेको थिएँ यस पटक कमसेकम ६० प्रतिशत भन्दा बढी पुर्याईने छ, मैले पहिले भनेको थिएँ, ७० प्रतिशत सम्म पनि पुर्याउने सम्भावना हुन्छ यदी सबैको सहयोग भयो भने तर विभिन्न दृष्टिकोणका मानिसहरु छन्, सहयोग गर्ने कुरा त्यस्तै हो' उनले भने । 

प्रतिक्रिया