Edukhabar
शुक्रबार, १३ असार २०८२
गतिविधि

एसईईको नतिजा सार्वजनिक

शुक्रबार, १३ असार २०८२

भक्तपुर - कक्षा १० को अन्तिम परीक्षा एसईई २०८१ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ सार्वजनिक गरेको नतिजा अनुसार कूल विद्यार्थीको ६१ दशमलब ८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । 

 परीक्षाको नतिजा अनुसार नियमित परीक्षामा सहभागी भएका मध्ये ३ दशमलब देखि चार जिपीए सम्म ल्याउने विद्यार्थीको संख्या ४८ हजार एक सय ७७ छ । यस्तै ३ दशमलब दुई देखि ३ दशमलब ६ सम्म ल्याउने ८१ हजार तीन सय ८५, २ दशमलब ८ ३ दशमलब दुई सम्म ल्याउनेको संख्या ८९ हजार एक सय २४ छ । यस्तै जीपीए २ दशमलब ४ देखि २ दशमलब ८ सम्म ल्याउने विद्यार्थी ४८ हजार चार सय ७९ जना छ । २ दशमलब शुन्य देखि २ दशमलब ४ सम्म चार हजार एक सय २६, जीपीए १ दशमलब ६ देखि २ दशमलब शुन्य सम्म ८ जना विद्यार्थी छन् । एक सय २६ जनाको परुीक्षा रद्द गरिएको छ । नन ग्रेडेड विद्यार्थीको संख्या एक लाख ६७ हजार पाँच सय ९७ छ ।  

SEE_01

गत चैत ७ गते देखि सञ्चालन भएको परीक्षामा नियमित तर्फ चार लाख २१ हजार पाँच सय ८५ र ग्रेड वृद्धि तर्फ ७५ हजार पाँच सय ३९ जना विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ । यस्तै प्राविधिक तर्फ १६ हजार नौ सय ४७ जना सहभागी थिए ।  जम्मा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डसँग तथ्याङ्क छ । 

यस अघि दिउँसो बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक अघि गर्नु पर्ने प्राविधिक परीक्षण गरेर त्रुटि भए नभएको यकिन गरेको थियो । नतिजामा कुनै पनि त्रुटि नभएको ठहर गरेपछि साँझ बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने औपचारिक निर्णय गरेको हो । 

२०७३ सालमा भएको शिक्षा ऐनको आठौं संशोधनले विद्यालयको संरचनामा परिवर्तन गरे पनि बोर्डले पुरानै ढाँचामा कक्षा १० को परीक्षा सञ्चालन गर्दै आएको छ । ऐनले विद्यालय शिक्षाको संरचना बदलेर साविकको एसएलसीको व्यवस्थालाई परिवर्तन गरे पनि नतिजा प्रकाशनको शैली भने साविकको एसएलसीकै जस्तो निरन्तर छ । 

ऐनमा विद्यालयको अन्तिम परीक्षा कक्षा १२ मा हुने व्यवस्था छ । ऐनको दफा ४ ट को उपदफा १ मा माध्यमिक शिक्षाको कक्षा दश र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा, बोर्डबाट सञ्चालन हुने र उपदफा २ मा कक्षा दशको अन्त्यमा हुने परीक्षा क्षेत्रीय स्तरमा सञ्चालन हुने उल्लेख छ । तर तदनुरुप संरचना निर्माण गर्न शिक्षा मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्व सहित बोर्डका अधिकारीहरु ईच्छुक नहुँदा परीक्षाको उही शैली निरन्तर छ । 

अहिले निर्माणको अन्तिम कसरतमा रहेको विद्यालय शिक्षा विधेयकमा एसईईको परीक्षा नरहने उल्लेख भए पनि संसदीय समितिमा उक्त परीक्षा प्रदेश स्तरमा सञ्चालन गर्ने गरी दलहरु लगभग सहमत भएका छन् । परीक्षा सञ्चालन र व्यवस्थापनबारे थप व्यवस्था प्रदेश कानुन अनुसार हुने गरी छाड्न दलहरुले सहमती गरेका छन् । 

कक्षा १० को अन्तिम परीक्षाको शैली बदल्न अनच्छुक हुनुका पछाडी परीक्षाका नाममा सरकारी कोषबाट हुने आर्थिक गतिविधि र कक्षा १० को नतिजा कन्द्रित निजी विद्यालयका सञ्चालकहरुको व्यापार मोहले काम गरेको भन्दै आलोचना हुँदै आएको छ । विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा गर्ने गरी २३ बर्ष अघि नै तत्कालीन नेकपा एमालेबाट शिक्षा मन्त्री बनेका देवी प्रसाद ओझाको अध्यक्षतामा गठित उच्चस्तरीय शिक्षा आयोगले समेत सिफारिस गरेको थियो । उक्त सिफारिसमा एसएलसी परीक्षा क्रमशः क्षेत्रीय तहमा गर्न सुझाव दिईएको थियो । 

तत्कालिन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा २०७५ सालमा सरकारले गठन गरेको उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले पनि कक्षा १० को परीक्षा र नतिजा प्रकाशनको कामलाई प्रदेश मातहत गर्न सुझाव दिएको छ । 

प्रतिक्रिया