Edukhabar
शुक्रबार, २५ बैशाख २०८३
गतिविधि

छनोटको नयाँ कार्यविधि, आवेदन हाल्न शिक्षामन्त्रीको आह्वान

आफ्नो अध्यक्षतामा छनोट समिति गठन भए पनि यो पदीय रुपमा भएको औपचारिक प्रकृया मात्रै भएको बताउँदै पूर्ण रुपमा निष्पक्षता कायम गर्ने, दलीय पक्षपात नहुने दावी

शुक्रबार, २५ बैशाख २०८३

काठमाडौ - एक जनाले बढिमा दुई विश्वविद्यालयको उपकुलपतिमा आवेदन हाल्न सक्ने गरी शिक्षा मन्त्रालयले उपकुलपति छनोटको नयाँ कार्यविधि लागू गरेको छ । पदाधिकारी विहीन भएका विभिन्न आठ विश्वविद्यालयहरूको नेतृत्व चयनलाई लक्षित गरि बिहीबार जारी गरिएको कार्यविधिमा आवेदन दिएका मध्ये उच्चतम अँक प्राप्त गर्ने १० जनाको सर्ट लिष्ट सार्वजनिक गरिने उल्लेख छ ।  यी सर्टलिष्टमा परेकाहरुका सम्बन्धमा सार्वजनिक रुपमा राय सुझावका लागि आह्वान गरिने छ ।

सोचपत्र, रणनीतिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता पछि उपकुलपति छनोट गरिने कार्यविधिमा उल्लेख छ । सोचपत्र तथा कार्ययोजना एक भन्दा बढी विज्ञबाट मुल्याँकन गर्नु पर्ने छ । छनोटलाई थप पारदर्शी, योग्यतामा आधारित र निष्पक्ष बनाउन नयाँ कार्यविधि लागू गरिएको मन्त्रालयको दावी छ ।

हेनुहोस् कार्यविधि 

यसैबिच शिक्षामन्त्री सस्मित पोखरेलले उपकुलपति नियुक्ति प्रक्रिया शुरु भएको जानकारी दिदैं छनोटका लागि विज्ञ समिति गठन गरी मूल्याङ्कन गरिने तथा खुला प्रतिस्पर्धा मार्फत छनोट प्रक्रिया अगाडि बढाइने दावी गरेका छन् ।

शुक्रबार दिउँसो, आफ्नै सामाजिक सञ्जाल मार्फत् भिडियो सार्वजनिक गर्दै मन्त्री पोखरेलले सर्टलिष्टमा परेका आवेदकहरूको नाम सार्वजनिक गरी विद्वत् समुदायबाट सुझाव समेत लिइने व्यवस्था गरिएको जनाएका छन् । 

'सम्भवतः नेपालको ईतिहासमै पहिलो पटक हामीले नेपालका सम्पूर्ण विश्वविद्यालयको पदपूर्ती एकैपटक शुरु गरेका छौं । यो नेपालको शिक्षा क्षेत्र सुधार गर्ने महाअभियानका रुपमा पनि हामीले लिन सक्छौं' भिडियो सार्वजनिक गर्दै मन्त्री पोखरेलले भनेका छन्  'यो ईतिहासमा शैक्षिक क्षेत्र सुधार गर्ने मौका हो । यसलाई एउटा पदपूर्ती गर्ने प्रकृया भन्दा पनि शिक्षा क्षेत्र सुधार गर्नको लागि खेल्ने भूमिकाको रुपमा लिन आग्रह गर्दछु ।' 

आफ्नो अध्यक्षतामा छनोट समिति गठन भए पनि यो पदीय रुपमा भएको औपचारिक प्रकृया मात्रै भएको बताउँदै मन्त्री पोखरेलले छनोटका लागि पूर्ण रुपमा निष्पक्ष, स्वतन्त्र, विज्ञ समूह गठन गर्ने र त्यहाँ प्राज्ञिक व्यक्तिहरुलाई सामेल गरेर समितिमा पूर्ण रुपमा निष्पक्षता कायम गर्ने, दलीय पक्षपात नहुने दावी पनि गरेका छन् । 

'नेपालका प्राज्ञिक अग्रज व्यक्तिहरुलाई आह्वान गर्न चाहन्छौं, उपकुलपति पदको पदपूर्ती प्रकृयामा सामेल हुनुहोला, निष्पक्षतामा विश्वास गरिदिनु होला, नेपालको शैक्षिक क्षेत्र सुधार गर्ने यस मौकामा हामीलाई साथ दिनु होला' उनले भनेका छन्  'यस योगदानलाई ईतिहासले सँधै याद गर्ने छ । नेपालको शैक्षिक क्षेत्र सुधार गर्ने महाअभियानमा उपकुलपतिका लागि योग्य उम्मेद्वालाई आवेदन पेश गर्न  निवेदन गर्दछु  ।' 

राजनीतिक नियुक्ति बदर गर्ने गरी सरकारले तयार पारेको अध्यादेश जारी भएपछि त्रिभुवन, पुर्वाञ्चल, पोखरा, लुम्बिनी बौद्ध, कृषि तथा वन विज्ञान, मध्यपश्चिम, सुदुरपश्चिम र राजर्शी जनक विश्वविद्यालय गरी आठ विश्वविद्यालयमा एकै पटक उपकुलपति रिक्त भएको छ । 

'देश तथा विदेशमा रहेका योग्यता पुगेका प्राज्ञिक व्यक्तित्वहरूलाई यस प्रक्रियालाई राष्ट्रसेवाको अवसरका रूपमा ग्रहण गरी सहभागिता जनाउन म हार्दिक आव्हान गर्दछु' उनले भनेका छन् ।

आवेदन अनलाइन मार्फत दिन सकिनेछ। सोही अनुसार १० दिन भित्र आवेदन हाल्न मन्त्रालयले सूचना पनि सार्वजनिक गरिसकेको छ । 

प्रतिक्रिया