काठमाडौ - सरकारले आवासीय विद्यालय सञ्चालन गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्ले द्वारा शुक्रबार प्रस्तुत आगामी आर्थिक बर्षको बजेटमा उक्त कार्यक्रम उल्लेख गरिएको हो । लामो समय देखि चर्चामा रहँदै आएको आवासीय विद्यालय सञ्चालन सम्बन्धि उक्त अवधारणा आगामी बर्षबाट कार्यान्वयन गर्ने सरकारले घोषणा गरेको हो । पहिलो विद्यालय चितवन जिल्लाको चेपाङ बस्तिबाट शुरु गर्ने उनले उल्लेख गरे ।
'मानव विकास सूचकाङ्कमा पछाडि परेका समुदायको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गर्नेछौं' बजेट भाषण गर्दै वाग्लेले भने 'यस कार्यक्रम चितवन जिल्लाको चेपाङ समुदायबाट सुरु गर्ने छौं ।'
शिक्षाका लागि आगामी बर्ष २ खर्ब १८ अर्ब ३० करोड विनियोजन गरेको उनले बताए ।
शिक्षाका लागि मुलुकभरका सामुदायिक विद्यालयको पुर्वाधार आवश्यकताको म्यापिगं गर्नका लागि रु १ अर्ब र विद्यालय तहदेखि उच्च शिक्षा सम्मका लक्षित विद्यार्थी छात्रवृत्तिका लागि रु ८ अर्ब ६० करोड विनियोजन गरेको बताए ।
विभिन्न प्रदेशका सामुदायिक विद्यालयमा कक्षा ५ देखि कक्षा ८ सम्म अध्ययन र विद्यार्थी तथा शिक्षक विद्यार्थी आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने बजेटमा उल्लेख छ ।
विद्यालय व्यवस्थापन समितिलाई गुणस्तरीय शिक्षा सुनिश्चितताको माध्यम बनाईने पनि बजेटमा उल्लेख छ ।
सुदूरपश्चिम प्रदेशको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक सत्र ०८३ ०८४ देखि एमबिबिएस लगायत चिकित्सा शिक्षाका चारवटा विधामा कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्दै उनले संगीत कला तथा साहित्य सम्बन्धी अध्ययनलाई देशैभर प्रर्वधन गर्ने बताए । राजगुठि लगतमा दर्ता रहेको त्रिपुरेश्वर महादेव मन्दीर परिसरमा गुठि रिसर्च ईन्ष्टिच्युट एर्व एथ्नो म्युजिकोलोली सेण्टर स्थापना गर्ने बताउँदै उनले अन्तर्राष्ट्रिय स्तरका उच्च श्रेणीमा रहेका विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न नीतिगत व्यवस्था र प्रोत्साहन गर्ने बताए । स्वदेशी र विदेशी प्राध्यापकहरूबीच प्राज्ञिक आदानप्रदान कार्यक्रम सुरु गर्ने, विश्वविद्यालयलाई शैक्षिक प्रशासनिक तथा वित्तीय स्वायत्तता प्रदान गरी लागत साझेदारी मोडलमा सञ्चालन गर्न कानूनी प्रवन्ध गर्ने जस्ता कार्यक्रम बजेटमा समावेश गरिएको छ ।
वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालय अन्तर्गत अध्ययनको अवसर प्रदान गर्ने बजेटमा उल्लेख छ ।
प्रतिक्रिया