Edukhabar
सोमबार, १४ बैशाख २०८३
खबर/फिचर

कक्षा १२ को परीक्षा शुरु, नतिजा चाँडै गर्ने योजना

गत बर्ष भन्दा यस बर्षको परीक्षामा ९३ हजार पाँच सय १७ विद्यार्थी कम

सोमबार, १४ बैशाख २०८३

काठमाडौ - कक्षा १२ को अन्तिम परीक्षा सोमबारबाट शुरु भएको छ । परीक्षामा सहभागी हुन चार लाख १८ हजार आठ जना परीक्षार्थीले आवेदन भरेका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यी मध्ये नियमिततर्फ तीन लाख ३२ हजार एक सय ७८ र आंशिकतर्फ ८५ हजार आठ सय ३० विद्यार्थी छन् । जापानको एभरेष्ट स्कुलबाट पनि ३६ जना विद्यार्थीले परीक्षा दिने बोर्डले जनाएको छ । परीक्षाका लागि देशभर एक हजार चार सय २१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । 

गत बर्ष भन्दा यस बर्ष कक्षा १२ को परीक्षामा ९३ हजार पाँच सय १७ विद्यार्थी कम छन् । गत बर्ष पाँच लाख ११ हजार पाँच सय २५ परीक्षार्थी  थिए । गत बर्षको नतिजा अघिल्ला वर्षहरूको भन्दा सुधार भएकाले आंशिकतर्फको विद्यार्थी संख्या घट्दा यस वर्ष कम विद्यार्थी भएका बोर्डले जनाएको छ । गत साउनमा प्रकाशित गत बर्षको १२ कक्षाको नतिजामा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।  

उत्तर पुस्तिका सहितका आवश्यक सामग्री पहिल्यै पठाए पनि प्रश्नपत्र भने अनलाइनबाट पठाउने व्यवस्था कायम गरिएको छ । कोभिड महामारी यता कक्षा १२ को प्रश्नपत्र अनलाईनबाट पठाउने व्यवस्था गरिदैं आएको छ । सम्बन्धित परीक्षाको प्रश्न परीक्षा केन्द्रहरुले प्रिण्ट गरेर विद्यार्थीलाई दिने प्रवन्ध गरिएको छ । जुन विषयको परीक्षा हो त्यसको प्रश्नपत्र परीक्षा सञ्चालन हुने केही बेर अघि मात्रै बोर्डले ईमेल गर्छ । केन्द्राध्यक्ष सहित केन्द्रमा खटिने प्रहरीको रोहवरमा प्रश्नपत्र प्रिण्ट गरिन्छ । परीक्षा वैशाख २७ गते सकिने छ ।

परीक्षाको उत्तर पुस्तिका परीक्षण तोकिएको परीक्षण केन्द्रमा गरिने बोर्डले जनाएको छ समान्यतया यस अघि तीन महिना भित्र  नतिजा प्रकाशन हुदैं आए पनि यस बर्ष चाँडै नतिजा निकाल्ने बारेमा छलफल भएको बोर्डका अधिकारीहरुले जनाएका छन् । कक्षा १० को अन्तिम परीक्षा एसईईको नतिजा एक महिना भित्रै सार्वजनिक गर्ने गरी काम भईरहेको छ । 

प्रतिक्रिया