Edukhabar
आइतबार, ०६ बैशाख २०८३
गतिविधि

शिक्षा समितिको सभापतिमा शेरचन

नियमावलीमा भएको प्रावधान अनुसार हुन्छ / हुन्नका आधारमा सभापति चयन

शुक्रबार, ०४ बैशाख २०८३

काठमाडौ - संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद डा. ओजस्वी शेरचन चयन भएकी छन् । समितिको सभापति चयन गर्न शुक्रबार भएको प्रकृयामा शेरचन सभापतिमा चयन भएकी हुन् । 

जेष्ठ सदस्य रहेका स्वतन्त्र सांसद महावीर पुनको सभापतित्वमा बसेको समितिको पहिलो बैठकले सभापति चयनका लागि दर्ता भएका प्रस्तावहरु निर्णयार्थ पेश गरेका थिए । शेरचन सहित एमालेका सांसद गुरु बरालले पनि सभापतिमा उम्मेद्वारी पेश गरेका थिए । नियमावलीमा भएको प्रावधान अनुसार हुन्छ / हुन्नका आधारमा सभापति चयन गरिएको समितिका सचिव दशरथ धमलाले जानकारी दिए । 

जेन जी बिद्रोहको जगमा भएको निर्वाचन पछि बनेको संसदमा झण्डै दुई तिहाई मत सहित पहिलो दल बनेको रास्वपाको उम्मेद्वार वा उसले समर्थन गरेको उम्मेद्वार स्वतस् विजयी हुने अंक गणितका कारण शेरचन समिति सभापति हुने पक्का थियो । सभापति चयनका लागि बिहीबार भएको मनोनयनमा सत्तारुढ दल रास्वपाले शेरचनालाई सभापतिको उम्मेदवार तय गरेको थियो ।  

वायोकेमेष्ट्री विषयमा अध्यापन एवं अनुसन्धानमा सकृय  शेरचन समानुपातिक तर्फबाट सांसद बनेकी हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडी गरेकी उनले लामो समय प्रतिष्ठान सहित नेपाल मेडिकल कलेजमा काम गरेकी थिईन्  । दुई दशकभन्दा बढी समय चिकित्सा विज्ञानको क्षेत्रमा संलग्न उनी संसदमा पनि मुख्यतया स्वास्थ्य र शिक्षा क्षेत्रका समस्याहरूका बारेमा बोल्दै आएकी थिइन् । 

शिक्षाको विषयलाई समेत हेर्ने गरी संसदमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति रहेको छ । संसदीय समितिलाई मिनि संसद समेत भनिन्छ । सरकारको कामको मूल्याङ्कन तथा विभिन्न विधेयकहरूमा छलफल गरी  टुङ्गो लगाउने जिम्मेवारी समितिलाई हुन्छ । उक्त समितिमा २७ सदस्य रहेका छन् । 

समितिमा रहेका सदस्यहरुका नामावली पढ्नुहोस् : २७ सांसद सहितको शिक्षा समिति गठन 

प्रतिक्रिया