एकजना साइकल डोहोर्याउँदै कुद्दै थिए, कसैले सोध्यो : ‘किन साइकल नचढेको ?’
उनले जवाफ दिएः ‘मलाई एकदम हतार छ, साइकल चढ्ने फुर्सत छैन !’
अपमान गरेको नसम्झुन्, तर, सार्वजनिक भएको कार्यसूची हेर्दा नवनियुक्त शिक्षामन्त्रीको हालत मैले विद्यालयकालमा सुनेको यो चुट्किला जस्तै लाग्छ ।
कति लोकप्रियतावाद हो त्यो त भविष्यले देखाउने छ नै । हामीलाई थाहा छ, शिक्षामन्त्री मात्र होइन अहिलेको सरकार नै कार्यप्रदर्शनको दबाबमा छ । तर अहिलेको सरकारले पनि शिक्षालाई आफ्नो प्राथमिकतामा राखेको देखिएन । शिक्षाबिना कसरी देश समृद्ध हुन सक्छ ? त्यो पत्याउन गाह्रो कुरा हो । क्षणिक रुपमा कुनै जादू भइहालेछ भने पनि स्तरीय शिक्षाको सुदृढीकरण बिना त्यस्तो समृद्धि दीर्घकालीन र टिकाउ हुन सक्ने छैन ।
सरकारले दीर्घकालसम्म केही गर्छु भन्ने हो भने शिक्षालाई प्राथमिकतामा राखेर शिक्षा भित्रका प्राथिमकतामा काम गर्नु आवश्यक छ । उनका सहकर्मी गृहमन्त्रीले प्रहरीलाई सुविधा र क्षमता सम्पन्न बनाउने एउटा आधारभूत प्रस्ताव अघि सारे । उनको निर्णय ठीक बेठीक वा रणनीतिक अर्को ठाउँमा होला तर उनले शासकीय प्रबन्धका वाहक प्रहरीलाई सुसज्जित गर्ने प्राथमिकताका विषयमा हात हाले । यदि गृहमन्त्रीबाट सिक्ने हो भने शिक्षा मन्त्रीले शिक्षकलाई यसै गर्छु भन्नु पर्ने हो । शिक्षक शिक्षा क्षेत्रका प्रहरी जस्तै अग्रपङ्क्तिका कार्यकर्ता हुन् । लेखकले यसै पेज र अन्यत्र पनि के गर्नु पर्छ होला भनेर लेखेको छ । तल सुशासनका सय बुँदामा परेका शिक्षाका पाँच कार्यसूची माथि छरितो टिप्पणी गरिएको छ ।
| बुँदा नं. | काम | प्राथमिकताको तह | पुष्टि |
|---|---|---|---|
| १५. | शिक्षकको सिटरोल दर्ता तथा अवकाश पश्चातका सेवा सुविधा व्यवस्थापन आगामी आर्थिक वर्षदेखि प्रदेशको शिक्षा हेर्ने मन्त्रालयबाटै गर्ने व्यवस्था मिलाउने । | मध्यम | यसले प्रदेशलाई शिक्षामा चलायमान बनाउने छ र शिक्षकलाई काठमाडौ धाउने बाधा हटाउने छ, सङ्घीय सरकारको बोझ कम गर्ने छ । शिक्षकको विषय सरकारको चासोमा जान्छ भन्ने सन्देश पनि दिन्छ । |
| ८६. | शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न ६० दिनभित्र विद्यालय/विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी सङ्गठनका संरचना हटाई ९० दिनभित्र Student Council/ Voice of Student संयन्त्रको विकास गर्ने। | न्यून | यो संरचनात्मक भन्दा राजनीतिक विषय हो । दल प्रतिबन्धित हुँदा पनि यस्ता गतिविधिहरु चलिरहन्थे । मुख्य कुरा सार्वजनिक शैक्षिक संस्थाहरुको गुणस्तर कम हुनु र शिक्षक वा प्राध्यापक गैर जिम्मेवार हुनु हो । उनीहरुको शिक्षण विधि पुरानो हुनु र पढाउन मन नलाग्ने जागिरेहरुको भीड जम्मा हुनु हो । त्यहाँ अपनत्व नहुनु हो । उच्च शिक्षा अति सस्तो हुनु हो । बिना परिणाम सरकारले विश्वविद्यालयहरुलाई अनुदान दिइरहने व्यवस्था हो । सम्भवत: शिक्षक वा प्राध्यापकको पुन: परीक्षा लिने र केही कोष जम्मा गर्ने काम पनि प्राध्यापकहरुको हुने व्यवस्था गर्दा बढी प्रभावकारी हुन सक्थ्यो । यसमा दलहरु नै पनि वाक्क भइसकेका छन् । यो झण्डै राष्ट्रिय सहमति प्राप्त हुने र गर्दा असल हुने विषय हो । |
| ८७. | विश्वविद्यालयहरूबाट लिइने स्नातक र स्नातकोत्तर परीक्षाको नतिजा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको क्यालेण्डर अनुसार निकाल्ने । | मध्यम | विश्वविद्यालयहरुले आफ्नै क्यालेण्डर बनाउनु पर्छ । कति विविका कुलपति प्रम नै छन् । एकरुप गर्ने हुँदा यस्तो काम विश्वविद्यालय अनुदान आयोगले गर्नु सान्दर्भिक हुन्छ । |
| ८८. | विद्यार्थीलाई स्नातकसम्मको अध्ययन गर्न नागरिकता नचाहिने गरी विश्वविद्यालयहरूले आवश्यक कार्यविधिगत व्यवस्था तत्कालै गर्ने। | उच्च | यो प्रशासकीय झण्झट हटाउने काम स्वागतयोग्य हो । विद्यालय तहमा नै यो झण्झट धेरैले भोगिरहेका छन् । |
| ८९. | कक्षा ५ सम्मका विद्यार्थीलाई आन्तरिक परीक्षा लिने कार्य आगामी शैक्षिक सत्रदेखि बन्द गर्ने । उनीहरूलाई मनोवैज्ञानिक असर र दवाव नपर्ने खालको मूल्याङ्कन प्रणालीबारे विकल्प तयार गर्ने । | न्यून | काम उपयुक्त तर यो आदेश दिएर हुने कुरा होइन । कक्षा १-३ मा एकीकृत पाठ्यक्रम कार्यान्वयन नभए पनि लागू भएको छ । त्यहाँ विस्तृत नियमित मूल्याङ्कन पद्धतिको कुरा छ । चुनौतिका साथ भन्न सकिन्छ अधिकाँश शिक्षकहरुले त्यो प्रयोग गर्न जानेका छैनन् । कतिले उक्त पाठ्यक्रम कसरी प्रयोग गर्ने तालिम पनि पाएका छैनन् । कक्षा ४-५ को पनि आन्तरिक र बाह्य ५०% अङ्कन पद्धति छ । अहिले पनि विद्यार्थीले जानेनन् भने विद्यार्थीले नसिक्नुमा शिक्षकहरु उदार कक्षोन्नतिको नीतिलाई दोष लगाइरहेछन् । यो शिक्षकलाई उत्प्रेरित र सक्षम बनाएर गर्नु पर्ने विषय हो । यसले पूर्वमन्त्रीले विद्यालयले शुल्क नउठाउनु भन्ने आदेश दिएर सिर्जित अनावश्यक अन्यौल जस्तै व्याक फायर गर्न सक्छ । एउटा गर्न सकिने काम मौखिक परीक्षाको अनुपात बढाउने हो । |
निर्णय गर्नु अघि गर्नु पर्ने के हो ? भनेर प्राथमिकीकृत कार्ययोजना बनाउनु पर्यो ।
एक जना लेखकले यसै पेजमा लेखे : शिक्षामा लेख्ने कुरा सकिए... नभएको जिम्मेवार निकाय मात्रै हो ।
कामको जिम्मेवार निकाय वा पदाधिकारी तोक्नु पहिलो काम हो । ती जिम्मेवार निकाय वा सम्बन्धित पदाधिकारीसँग सेवाग्राही अर्थात् अभिभावक र शिक्षक जवाफदेही हुन थाले भने त्यसले र्यापिड फायरकै शैलीमा काम गर्न सक्छ । अरुका कुरा सुन्ने मन्त्रालयको आफ्नो पद्दति होला, त्यसको जिम्मेवारी तोक्नु पनि राम्रो हो ।
प्रतिक्रिया