Edukhabar
मंगलबार, १७ चैत्र २०८२
विचार / विमर्श

शैक्षिक समस्याको सहज निकास

शिक्षा विकासमा अरु देशले के गरे ? हामी के गर्दैछौं ? अनुसन्धान के  भन्छ ? हाम्रा समस्याको आगामी निकास के हुनसक्छ ?

मंगलबार, १७ चैत्र २०८२

सन्दर्भ 

शिक्षामा लेख्ने कुरा सकिए । खोजी पसे ती कुरा संविधानमा छन् । नीतिमा छन् । प्रस्तावित ऐन, नियमावली र कार्यविधिमा छन् । पालिकाको जिम्मेवारी भनिएका २३ बुँदे  कार्यक्रममा छन् । शिक्षा आयोगका प्रतिवेदनमा छन् । अवैतनिक सल्लाहकारका समसामयिक लेखमा छन् । सम्भावना देखाएर ऋण बोकाउने विकास साझेदारहरुका दस्तावेजमा छन् । नभएको जिम्मेवार निकाय मात्रै हो । पालिकाले साक्षरता र अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित गर्ने जिम्मेवारी पूरा नगरे सजाय पाउने कानूनी प्रवन्ध नभएर मात्रै हो । शिक्षक तथा प्राध्यापकले शैक्षिक गुणस्तरको सुनिश्चित गर्ने जिम्मा नलिएर मात्र हो । स्थानीय पालिकाले शिक्षकलाई सघाउने निश्चित खाका नबनेर मात्रै हो । विश्वविद्यालयहरुले विश्वविद्यालय अनुदान आयोगले बनाएको खाकामा आवश्यक फेरबदल गरी शैक्षिक गुणस्तरको मानक बनाएर आ-आफना प्राध्यापकलाई जिम्मेवार नबनाएर मात्र हो । यही परिवेशमा शिक्षा विकासमा अरु देशले के गरे ? हामी के गर्दैछौं ? अनुसन्धान के  भन्छ ? हाम्रा समस्याको आगामी निकास के हुनसक्छ ? यिनैं बुँदामा यो लेख आधारित छ । 

साक्षरता अभियानको निकास

सन २०२२ को तथ्यांकले भन्छ - २४ प्रतिशत नेपाली निरक्षर छन् । मधेशका ३२ प्रतिशत निरक्षर छन् । दलितका ३० देखि ५० प्रतिशत निरक्षर छन् । यी र यस्तै समस्या समाधान गर्न चीनले साक्षरता अभियान चलायो । आधा दिनको कक्षा सञ्चालन ग¥यो । शिक्षकहरुलाई ब्यापक परिचालन ग¥यो । परिणामतः अहिले ९८ प्रतिशत चिनीया साक्षर छन् । भारतले समग्र साक्षरता अभियान चलायो । अहिले पुरुष साक्षरता ८८ प्रतिशत छ । महिला साक्षरता ८१ प्रतिशत छ । नर्डिक देश (डेनमार्क, नर्वे, स्वीडेन, आइसल्याण्ड, फिनल्याण्ड) ले धर्मशास्त्र पढनै पर्छ भनेर जनतालाई साक्षर बनाए । साक्षरतालाई सामाजिक वाध्यता बनाए । परिणामतः त्यहाँ ९९-१०० प्रतिशत साक्षर छन् । ओइसिडी देश (अष्ट्रेलिया, अष्ट्रिया, बेल्जियम, क्यानाडा, चिली, कोलम्बिया, कोष्टारिका, चेक रिपब्लिक) ले डिजिटल साक्षरतालाई जोड दिए । परिणामतः त्यहाँका ९९.२ प्रतिशत साक्षर छन् । भियतनामले निरक्षरतालाई शत्रु नै मान्यो । तदनुसार साक्षरता अभियान चलायो । परिणामतः त्यहाँका ९५-९८ प्रतिशत जनता साक्षर छन् । 

नेपालले पनि साक्षरताका बाह्रवुँदे सूचक बनाएको छ । त्यसमा लेखाइ, पढाइ, गणित, कार्यमूलक ज्ञान, तथा डिजिटल साक्षरता आदि समावेश गरिएको छ । विगतमा पनि नेपालले साक्षरता शिक्षा दिन विभिन्न अभ्यासहरु गरेको थियो । वातावरणको साक्षरीकरण । साक्षरता कक्षा । विस्तारित साक्षरता कक्षा । अभिभावक पढाऔं अभियान । केही वर्षदेखि वडा/पालिका/जिल्ला निरक्षरता उन्मुलन अभियान चलाइएको छ । परिणामतः देशमा रिपोर्टेड साक्षरता दर ७६.०२ प्रतिशत पुगेको छ (पुरुषको ८५.प्रतिशत , महिलाको ७०.१ प्रतिशत ।) । मधेश प्रदेशमा ६८.३ (पुरुष ७७.९ महिला ५९.९) मानिसहरु साक्षर छन । यसको अर्थ हो - साक्षरता शिक्षामा मधेश कर्णाली भन्दा पनि पछाडि छ । युनेस्को तथा विश्वबैंकका सूचकहरुको आधारमा भन्ने हो भने मधेश विकासमा पनि पछाडि छ । जस्तो नेपालको विकास सूचकाङ्क ०.६२२ हो ।अर्थात विश्वका १९३ देशमा नेपाल १४५ मा पर्छ । मधेश प्रदेशको विकासको सूचकाङ्क ०.१४९ हो । कर्णालीको ०.१३९ हो । यसरी हेर्ने हो भने सबैभन्दा बढी गरीबी मधेश प्रदेशमा छ । यसको अर्थ हो मधेश प्रदेशमा साक्षरता शिक्षाका लागि वातावरणको साक्षरीकरण गर्नुपर्छ । साक्षरता अभियान जोडनुपर्छ । डिजिटल प्रविधिबाट साक्षरोत्तर तथा निरन्तर शिक्षाको ब्यवस्था मिलाउनु पर्छ । स्वमूल्याँकन फारम बनाई साक्षर भए नभएको कुरा स्वयं यकिन गर्ने प्रवन्ध मिलाउनु पर्छ । देशका सबै पालिकामा डिजिटल प्रविधिबाट साक्षरोत्तर तथा निरन्तर शिक्षा सुनिश्चित गर्नुपर्छ । संविधानको अनुसूची ८ अनुसार पालिकाले यसको जिम्मेवारी लिनुपर्छ ।  

जस्तो, चीनले अनिवार्य तथा निःशुल्क शिक्षाकै अङ्गको रुपमा साक्षरता शिक्षामा लगानी गर्छ । केन्द्र, प्रदेश तथा काउण्टीको साझा लगानी हुन्छ । गैसस, तथा निजी संस्थाले सघाउँछन् ।

भारतमा केन्द्र तथा प्रदेशले लगानी गर्छन् । निजी र गैससले सघाउँछन् । ओइसिडी देशमा केन्द्र, क्षेत्र तथा स्थानीय सरकारले लगानी गर्छन् । नर्डिक देशमा मूलतः केन्द्र तथा स्थानीय सरकारले लगानी गर्छ । नेपालको लगानी केन्द्रले गर्छ । केही रकम प्रदेशले लगाउँछ । तर स्थानीयले साक्षरता शिक्षामा लगानी गरेको देखिँदैन । अबको बाटो भनेको स्थानीय सरकारलाई पनि साक्षरता शिक्षामा लगानी गर्न लगाउनु पर्छ । डिजिटल्ली दिइने निरन्तर शिक्षालाई विविध विधाको बनाउनु पर्छ । कृषिको । स्वास्थ्यको । आय आर्जन गर्ने विविध तरीकाको । स्थानीय, प्रादेशिक तथा राष्ट्रिय प्रतियोगिताबाट यस्ता सामग्रीहरु संकलन तथा वितरण गरिनुपर्छ । 

बालविकास शिक्षाको निकास

नेपालका कुनै समुदायमा सोह्र संस्कार छन् । कुनैका ९ वटा संस्कार छन् । कुनैका ७ वटा । कुनैका ५ वटा । तर सबैका संस्कारमा बाल स्याहार (child caring), वाल रेखदेख ( child rearing) र वाल शिक्षण (child educating) छन्। यी अभ्यासहरुको खोजी भने गरिएको छैन । तिनलाई वाल विकासको अङ्ग बनाइएको पनि छैन । तर चीनको बालविकासमा भने आप्mनो संस्कारलाई निरन्तरता दिएको देखिन्छ । त्यसैले बालविकासमा लगानी गर्ने जिम्मा पनि अभिभावकको हो भनिन्छ । अर्थात सिधै पैसा तिर्ने अभिभावक हो । त्यति हुँदा पनि सरकारले ५० देखि ८० प्रतिशत सम्म रकम दिएको देखिन्छ ।

निजी तथा दाता संस्थाले पनि केही सघाएका छन् । सरकारले ऐन नियम बनाएको छ । स्थानीय सरकारले कार्यान्वयन गर्छ । भारतमा पनि सरकार, अभिभावक, अन्य संस्थाको सामाजिक दायित्वको रकम बालविकासमा लगाइएको छ । तर बालविकासको लगानीमा कसैले पनि रकमको ग्यारेण्टी गर्दैन । नर्डिकः देशमा अभिभावकले ६ देखि २५ प्रतिशत लगानी गर्छन् । बाँकी दाता र सरकारले लगानी गर्छ । ओइसिडी देशमा ८० देखि १०० प्रतिशत सरकारले लगानी गर्छ । हाम्रो निम्ति निकास हो —साझेदारीको । पञ्चायतले ५० प्रतिशत स्थानीय सरकारबाट अपेक्षा गरेको थियो । विगतको सरकारले पनि सोही कुरालाई निरन्तरता दिन खोजेको थियो । तर बालविकासका शिक्षकहरुले यो कुरामा विरोध जनाए । गाउँ पालिका महासंघ तथा नगरपालिका संघले पनि विमति जनायो । यो स्थितिमा स्थानीय मापदण्डमा आधारित हुने गरी सम्पन्न अभिभावकलाई २५ प्रतिशत, मध्यमलाई ५० प्रतिशत तथा विपन्नलाई शत प्रतिशत सरकारी रकम बालविकासका लागि लगानी गर्नु उपयुक्त हुन्छ । अर्थात अभिभावकसँग पनि रकम लिने नीतिगत ब्यवस्था गर्नुपर्छ । त्यसको कारण हो - बालविकासका अनुसन्धान अनुसार ९० प्रतिशत दिमाग ५ वर्षमैं बन्छ । (https://developingchild.harvard.edu/resources) त्यतिबेलै तिनले भाषा, संवेग र ज्ञानको ९५ प्रतिशत आर्जन गर्छन्

(https://journals.lww.com/atmr/fulltext/2024/04000/influence_of_early_childhood_education_programmes.14.aspx)

सन २०२३ देखि २०२६ सम्मका अध्ययन अनुसार बाल विकासमा लगानी गरेमा भविष्यमा उनीहरुले १३ प्रतिशतका दरले देशलाई वार्षिक फिर्ति (annual rate of return)  रकम उपलब्ध हुनसक्छ । यो कुरा बुझाउनासाथ अभिभावक आफैं रकम लगानी गर्न तयार हुन्छन् ।

https://heckmanequation.org/resource/13-roi-toolbox

अनिवार्य तथा निःशुल्क शिक्षाकोे निकास

शिक्षालाई अनिवार्य गर्ने सोच युगौंदेखिको हो । शुरुमा प्रोटेस्टेण्टले । पछि प्युरिटानले । अरबबाट लखेटिएका यहुदीले । कालान्तरमा सरकारले । अहिले विश्व संगठनहरुले । यसरी हेर्दा धर्म जान्न अनिवार्य शिक्षा चाहिन्छ । राजनीतिक सचेतताका लागि शिक्षा चाहिन्छ । पछिल्लो चरणमा सामाजिक तथा ब्यक्तिगत आय बढाउन अनिवार्य शिक्षा चाहिन्छ । यही मेसोमा नेपालले पनि २०१२ सालदेखि अनिवार्य शिक्षाको सोच ल्यायो । यसका लागि चीनले कानूनै बनायो । काउण्टी तहको सरकारले अनिवार्य तथा निःशुल्क शिक्षाको जिम्मा लियो । केन्द्रीय सरकारले आर्थिक जिम्मेवारी लियो । दुईखुट्टे अभियान चलायो । पहिलो खुट्टा औपचारिक शिक्षा हो । दोश्रो खुट्टा अनौपचारिक शिक्षा हो । अर्थात औपचारिक शिक्षाबाट अनिवार्य तथा निःशुल्क शिक्षा । बेलामा पढ्न नपाएका तथा नभ्याएकाहरुलाई  समकक्षी अनौपचारिक शिक्षा । भारतले गरीवका केटाकेटीलाई नन् एडेड निजी स्कूलमा २५ प्रतिशत निःशुल्क शिक्षा दिने प्रवन्ध ग¥यो । सरकारले शोधभर्नाको रुपमा केही रकम पनि दियो ।  यस बाहेक अनिवार्य तथा निःशुल्क शिक्षा दिनका लागि केन्द्रले ६० प्रतिशत र प्रदेशले ४० प्रतिशत रकम लगानी गर्ने प्रवन्ध ग¥यो । कम आय भएका प्रदेशमा केन्द्रले ९० त कतै शतप्रतिशत लगानी गर्ने ब्यवस्था मिलायो । नर्डिक तथा ओइसिडी देशहरुले चाँहि बालबालिका पठाउने जिम्मा अभिभावकलाई दिए । सुविधा दिने जिम्मा स्थानीय सरकारहरुले लिए । आवश्यक रकम करबाट उठाए । गुणस्तर सुनिश्चित गर्न पिसा (Programme for International Student Assessment)  परीक्षा लागु गरे । यसरी हेर्दा नर्डिक तथा ओइसिडी देशहरुले विकेन्द्रीकरणको नीति अपनाए । स्थानीय सरकारलाई जवाफदेही बनाए । चीनले जनवादी केन्द्रीकरणको अभ्यास गरेर सोही काम ग¥यो । नेपाल र भारतले चाँहि स्थानीय सरकारलाई जिम्मेवार बनाउन सकेनन् । युनेस्को तथा विश्ववैंकका अध्ययन अनुसार अनिवार्य तथा निःशुल्क शिक्षा भएमा वार्षिक १० प्रतिशतले ब्यक्तिगत आम्दानी बढ्छ । किशोर मृत्यु दर १७ प्रतिशतले घट्छ । सामाजिक फिर्तिदर (social rate of return) १० प्रतिशतले बढ्छ । यो स्थितिमा अबको बाटो हुनुपर्छ - अनिवार्य तथा निःशुल्क शिक्षाको जवाफदेही पालिकाले लिनुपर्छ । दुईखुट्टे प्रणाली अर्थात् औपचारिक एवं अनौपचारिक शिक्षा कार्यक्रमलाई एकअर्काका परिपूरक बनाउनु पर्छ । आवश्यकता अनुसार स्कूलले दुईखुट्टे कार्यक्रम चलाउनु पर्छ । डिजिटल स्वमूल्यांकन फारम भराई तिनको क्षमता सहितको तथ्यांक पालिकाको वेभसाइटमा राखिनु पर्छ । अभिभावक सहयोग अन्तर्गत धनीसँग लिने र गरीवलाई निःशुल्क शिक्षा दिने तरीका अपनाउनु पर्छ । करको रुपमा भए पनि । सहयोगको रुपमा भए पनि । 

निजी विद्यालयको निकास

हुने र रहर लाग्नेले रकम दिएर चलेका पिँढी विद्यालय नै नेपालका प्रथम निजी विद्यालय हुन् । अहिले गुठीमा छन् भनिएका सन १९५१ को सिद्धार्थ बनस्थली तथा सन १९६६ को आदर्श विद्या मन्दिर तात्कालीन समयका निजी विद्यालय हुन् । सन १९८० को अन्तिम दशकमा शुरु भएका निजी विद्यालयहरु भने सरकारको नवउदारवादी नीतिसँगै ह्वात्तै बढे । अहिले करीव ३० प्रतिशत बालबालिका निजी विद्यालयमा पढछन् । शहरी क्षेत्रका झण्डै ६० प्रतिशत बालबालिका त्यहीं पढछन् । चीनमा पनि मीनब्यान तथा निजी विद्यालय छन् । मिनब्यान भनेको राज्यको जिम्मेवारीमा जनताले खोलेको  विद्यालय हो । आवश्यकताको आधारमा तिनमा सरकारको केही लगानी पनि हुन्छ । हाउजिङ तथा कारखानाले सञ्चालन गरेका विद्यालयमा कतै निःशुल्क हुन्छ । कतै कम शुल्क । ब्यक्ति, समूह तथा अन्तरराष्ट्रिय संघ संस्थाले खोलेका चाँहि निजी विद्यालय मानिन्छन् । त्यहाँ झण्डै १० प्रतिशत वालबालिका निजी विद्यालयमा पढछन् । भारतमा एडेड र नन्एडेड निजी विद्यालय छन् । एडेड भनेको सरकारले रकम दिएर निश्चित ठाउँमा खोलिएका विद्यालय हुन् । नन्एडेड भनेको ब्यक्ति, समूह तथा संस्थाहरुले खोलेका विद्यालय हुन । भारतमा ३० देखि ५० प्रतिशतको बीचमा निजी विद्यालयमा पढ्ने विद्यार्थी छन् । ओइसिडी देशमा करीब १८ प्रतिशत बालबालिका निजी विद्यालयमा जान्छन् । नर्डिक देशमा ५ देखि १५ प्रतिशत बालबालिकाहरु निजीमा गएका देखिन्छन् । ओइसिडी र नर्डिक देशमा मुनाफा रहित निजी विद्यालयलाई विद्यार्थीको टाउको गनेर सरकारी भाउचर दिने प्रवन्ध पनि छ । 

अनुसन्धानले देखाएको छ कि निजी विद्यालयले अभिभावकलाई सन्तुष्ट बनाएका छन् । तर सामाजिक विभेद पनि संस्थागत गर्दै गएका छन् । अमेरिकाको NAEP तथ्याङ्क, सन् २०२४ अनुसार निजी विद्यालयका विद्यार्थीको उपलब्धी १६ देखि २० प्वाइण्ट अंकले फरक छ । विकासशील देशमा यो अंकको फासला अझ बढी छ । यो फासला मेट्नका लागि सामाजिक उत्तरदायित्वको खाका उपयोगी हुन्छ । यो खाकामा निजी, सरकारी तथा धार्मिक/परम्परागत विद्यालयबीचको संस्थागत साझेदारी सुनिश्चित गर्नुपर्छ । विद्यार्थी आदान प्रदान गरेर । शिक्षक आदान प्रदान गरेर । कर्मचारी आदान प्रदान गरेर । ब्यवस्थापन तथा सञ्चालकहरुको आदान प्रदान गरेर । भौतिक श्रोतको आदान प्रदान गरेर । 

दोश्रो मोडेल हुनसक्छ, निजी विद्यालयलाई चीनको मिनब्यान वा भारतको एडेड जस्तो गरी जनताको माग र सरकारको चाहना अनुसारको ठाउँमा विद्यालय चलाउने ब्यवस्था मिलाएर । 

तेश्रो मोडेल हुनसक्छ शहरी क्षेत्रका नचलेका वा लडखडाएका विद्यालयहरु निजी विद्यालयलाई दिएर । 

चौथो मोडेल हुनसक्छ, जोनिङ्ग गरेर । 

पाँचौं मोडेल हुनसक्छ नर्डिक तथा ओइसिडी देशले जस्तै निजी तथा सरकारी विद्यालयको नतिजामा समान बनाउने प्रवन्ध गरेर । 

निजी विद्यालयलाई मेधावी विद्यार्थी मात्र पढाउने बयवस्था गरेर । जापानको जस्तो कमजोर विद्यार्थीलाई मात्र पठनपाठन गराएर । सीप शिक्षामा सीमित गरेर । निश्चित तहमा मात्रै निजी विद्यालय चलाउने स्वीकृति दिएर । 

व्यावसायिक तथा प्राविधिक शिक्षाको निकास

व्यावसायिक विद्यालयले ब्यावहारिक र गरिखाने सीप (hands on training) दिन्छन् । अर्थात कसरीको शिक्षा (how to education)। प्राविधिक शिक्षाले ब्यावसायिक शिक्षाको कसरीमा सिद्धान्त जोड्छ । विज्ञान जोड्छ । प्रविधि जोड्छ । यसरी हेर्दा प्लम्बिङ्ग, वाइरिङ्ग आदि ब्यावसायिक शिक्षा हुन । वैदिक शब्दावलीका ६४ कला भनेका ब्यावसायिक शिक्षा हुन् । कम्प्युटर, साइवर सुरक्षा, ग्राफिक डिजाइन, इलेक्ट्रोनिक्स आदि प्राविधिक शिक्षा हुन् । प्रकारान्तले दुबैलाई क्यारियर शिक्षाको रुपमा स्वीकारिएको छ । अध्ययनले देखाउछ कि परम्परागत सिकाइभन्दा प्रविधिमा आधारित गरी ब्यावसायिक शिक्षा सिकाउनाले बढी प्रभावकारी हुन्छ । कतिपय व्यावसायिक सीपहरु त पूरै प्रविधिमा आधारित गरेर पनि सिक्न तथा सिकाउन सकिन्छ । अचार बनाउने सीप एउटा उदाहरण हुनसक्छ । नेपालमा चाहिँ व्यावसायिक तथा प्राविधिक शिक्षालाई एकै मेसोमा हेरिएको देखिन्छ । युनेस्कोको चिन्तनले गर्दा यसो भएको हुनसक्छ । प्राविधिक विद्यालय तथा प्राविधिक धारका विद्यालयले पनि व्यावसायिक तथा प्राविधिक शिक्षालाई छुट्ट्याएको देखिन्न । 

चीनले उद्योगमा आधारित हुनेगरी ब्यावसायिक सीपको तालीम पनि दिन्छ । सिधा तालीम । इण्टर्नसीप तालीम । प्रविधि मिश्रित तालीम । प्राविधिक शिक्षालयमा भने सिद्धान्त पनि जोड्छ । समस्यामा आधारित सिकाइ (problem based learning) पनि गर्छ । उद्योगमा पनि लान्छ । भारतले व्यावसायिक सीपलाई तालीम र प्राविधिक विद्यालयलाई सैद्धान्तिक ज्ञान दिने प्रक्रियाको रुपमा उपयोग गर्छ । चीनले केन्द्रीय नेतृत्व अनुसार काम गर्छ । भारतले विकेन्द्रीकरणलाई आधार लिन्छ । त्यसैले लगानी पनि मिश्रित स्वरुपको छ । समन्वयको भने समस्या छ । ओइसिडी देशहरुमा थरिथरिको अभ्यास छ । कतै कम्पनीले चलाउने व्यावसायिक शिक्षा । प्राविधिक शिक्षा । कतै स्कूल कलेजले चलाउने व्यावसायिक तथा प्राविधिक शिक्षा । नर्डिक देशहरुमा भने साधारण शिक्षासँगै व्यावसायिक सीप सिकाउने ब्यवस्था छ ।  

नेपालमा चाहिँ व्यावसायिक तथा प्रविधिक शिक्षा छुट्ट्याउन छोटो अवधिको तालीम तथा लामो अवधिको कक्षा सञ्चालन गरिन्छ । छोटो अधिको तालीमलाई व्यावसायिक शिक्षा भन्न सकिन्छ । लामो अवधिको शिक्षालाई प्राविधिक शिक्षा भन्न मिल्छ । यसरी हेर्दा चीनले व्यावसायिक तथा प्राविधिक शिक्षालाई आर्थिक सम्वृद्धिमा जोड्यो । भारतले धेरैजनालाई सीप दिने कुरा मात्रै सोच्यो । नर्डिक तथा ओइसिडी देशहरुले व्यावसायिक शिक्षालाई साधारण शिक्षाकै अंग बनाए । नेपालले व्यावसायिक शिक्षा भने पनि प्राविधिक शिक्षा भने पनि पढ्दै कमाउँदै भने पनि कमाउँदै पढ्दै भने पनि सीपमा शिक्षा र शिक्षामा सीप मिलाउन सकेको छैन । अध्ययनले देखाउँछ कि चीनले व्यावसायिक तालीमबाट समाजको माग पूरा गर्छ । यसो गर्नाले उत्पादन पनि बढेको छ । गरीवी पनि घटेको छ । सामान्यतया प्राविधिक शिक्षाले उद्योगलाई जनशक्ति उपलब्ध गराउँछ । यसबाट विश्वस्तरमा प्रतियोगी काम भएको छ (https://www.sciencedirect.com/science/article/pii/S1059056026001929?via%3Dihub)।

भारतले व्यावसायिक तालीमबाट सीपको खाडल पूरा गरेको छ । स्किल रिपोर्ट, २०२५ अनुसार ब्यावसायिक तालीम तथा प्राविधिक शिक्षाले रोजगारीको अवसर बढाएको छ । ओइसिडी देशहरुले व्यावसायिक शिक्षालाई पढाइसँगै जोडेकाले विद्यार्थीले पढ्ने तथा काम गर्ने अवसर एकसाथ पाएका छन् । नर्डिक देशहरुले चाहिँ उद्योगसँग जोडेर ब्यावसायिक सीप तथा प्राविधिक शिक्षा दिँदा मानव सम्पदा पनि तयार भएको छ । आर्थिक असमानता घटेको छ । दीगो विकासमा पनि यसले योगदान दिएको छ । 

यस अर्थमा अबको बाटो हो - आधुनिक प्रविधिमार्फत ब्यापक रुपमा ब्यावसायिक सीपको जानकारी हुने भिडियोहरु पोष्ट गर्ने । छोटो अवधिको डिजिटल तालीम दिने । आवश्यक परेमा आमने सामने स्वरुपको तालीम दिने । यो एउटा बाटो हो । यसोगर्दा सबै विद्यार्थी तथा इच्छुक युवाहरुले पनि गरिखाने सीप पाउँछन । पढाउँदा सीप उन्मुख हुने तरीका अपनाउने । हर सीपमा विज्ञान के छ ?  ज्ञान के छ ? कमाइ गर्ने सम्भावना के छ ? भन्ने कुराको चर्चा गर्नु गराउनुपर्छ । यसो गर्नासाथ शिक्षक स्वयंले शिक्षालाई, वैज्ञानिक, ब्यवहारिक, तथा उत्पादनमुखी बनाउन सक्छन् । यो दोश्रो उपाय हो । हर सीपमा पढाइ र हर पढाइमा सीप खोज्ने तेश्रो उपाय हो । विद्यालयमा सर्जक तर ससाना उद्यम गर्नु चौथो उपाय हो । पालिकाले लिजमा जमीन लिएर विद्यार्थीलाई अन्न बाली, वागवानी, नगदेवाली आदिको काममा लगाउनु पाँचौ उपाय हो । यसो गर्दा इजराइलको किबुजले जस्तो कृषि उत्पादन प्रशोधन तथा वहु परिकार बनाउने मेसिन उपलब्ध गराउनु पर्छ । उत्पादन बेच्ने सहकारी चाहिन्छ । यो काममा पालिकालाई जिम्मेवार बनाउनु पर्छ । ससाना मेसिन हाम्रै गाउँघरका आरनमा बनाउन सकिन्छ । वाइल्डिङ्ग वर्कसपमा बनाउन सकिन्छ । अहिलेका प्राविधिक तथा प्राविधिक धारका विद्यालयले सोही तथा छिमेकी विद्यालय तथा बस्तीमा गएर छोटो अवधिको सीप तालीम दिने प्रवन्ध मिलाउनु छैठौं बाटो हो । उद्योगहरु भएका क्षेत्रमा चाहिँ विद्यालय तथा कलेजसँग मिलेर तिनीहरुले ब्यावसायिक सीप तथा प्राविधिक शिक्षा दिनैपर्ने प्रवन्ध मिलाउनु सातौं बाटो हो । यसो गर्नाले ब्यावसायिक सीपबाट पालिका पालिकामा स्वरोजगार जमात बन्छ । प्राविधिक शिक्षाबाट देशलाई चाहिने उद्यमी जनशक्ति बन्छ । किबुजको जस्तो तरीका अपनाए बिचौलिया ब्यापारको अन्त्य हुन्छ । 

उच्च शिक्षाको निकास

आधारभूत तथा माध्यमिक शिक्षाले सामाजिक प्रतिफल (social rate of returnल) बढ्छ । उच्च शिक्षाको लगानीले ब्यक्तिगत प्रतिफल (individual rate of return) बढ्छ । विश्ववैंकको यो अध्ययनको अनुशरण गर्नाले नेपालको उच्च शिक्षामा लगानी घटिरहेको छ । यसको अर्थ हो विश्वविद्यालयहरुले आफैं कमाए मात्र उनीहरुको धानिने अवस्था छ । अध्ययनले देखाउँछ कि सरकारी सहायता, शुल्क, अनुसन्धानबाट आर्जित रकम, दाताको सहयोग, अक्षयकोष, ब्यापार तथा उद्यमबाट उच्च शिक्षा आफैं धानिन्छ । चीनमा ५० देखि ६० प्रतिशत केन्द्रीय तथा स्थानीय सरकारको लगानी छ । १५ देखि २० प्रतिशत ट्युशनबाट आउँछ । ११ प्रतिशत जति रकम विश्वविद्यालयले चलाउने उद्योग र ब्यापारबाट आउँछ । बाँकी रकम दान दातब्य तथा अक्षयकोषबाट आउँछ । भारतमा भने विश्वविद्यालय अनुदान आयोग तथा राज्य सरकारले सबै रकम उपलब्ध गराउँछ । त्यसैले निजी विश्वविद्यालय महंगा छन । सरकारी सस्ता छन् । नर्डिक देशहरुले ९० प्रतिशत अनुदान पाउँछन् । बाँकी रकमका लागि उनीहरुले उपलब्धीमा आधारित अनुदानमा भरपर्नु पर्छ ।  केही विश्वविद्यालयले सूत्रमा आधारित रकम (formula based funding) पनि पाउँछन् ।

ओइसिडी देशहरुमा पनि विश्वविद्यालयलाई ९० प्रतिशतभन्दा बढी सरकारी अनुदान दिइन्छ । बाँकी रकम प्रतियोगी अनुदान (competitive grants) बाट जित्नुपर्छ । नेपालका विश्वविद्यालयले पनि सूत्रमा आधारित रकम पाउँछन् । बाँकी रकम शुल्कबाट उठाउनु पर्छ । त्रिभुवन विश्वविद्यालयले स्वीकृत दरबन्दीको आधारमा रकम पाएको छ । दरबन्दीमा मान्छे भए पनि । नभए पनि । काठमाडौ विश्वविद्यालयले अक्षयकोषको अवधारणा पनि ल्याएको छ । केही विश्वविद्यालयहरुले दान तथा अनुसन्धानबाट रकम जोहो गरेका छन् । यसको अर्थ हो - हाम्रा विश्वविद्यालयहरुको आम्दानीको दीगो श्रोत छैन । यसैले उनीहरुले तेश्रो मिसन (third mission) मा काम गर्नुपर्ने हुन्छ ।

Farnell, T. (2020). ‘Community engagement in higher education: trends, practices and policies’, NESET report, Luxembourg: Publications Office of the European Union. doi: 10.2766/071482।

त्यो भनेको थप लगानीका लागि उद्योग, ब्यापार, तथा समुदायसँग सहकार्य गर्ने हो । अनुसन्धान गरेर । परियोजनामा सघाएर । अमेरिकाको ल्याण्डग्राण्ट विश्वविद्यालयले जस्तो खेती गरेर । गराएर । विद्यार्थी तथा प्राध्यापकलाई गुगल अर्थतन्त्रमा समावेश गरेर । प्राध्यापक तथा विद्यार्थीलाई बजारिया अनुसन्धान (market research) मा संलग्न गराएर । 

नेपालका विश्वविद्यालयहरु मूलतः शिक्षणमुखी छन् । तिनमा अनुसन्धान र समाजसेवालाई संस्थागत गर्नु जरुरी छ । एकले अर्काको वा अर्काे क्षेत्रको अनुसन्धान गराएर अनुसन्धानलाई संस्कृतिको रुपमा निरन्तरता दिनु पर्छ । प्रत्येक क्याम्पसले एउटा बस्तीमा शिक्षण, अनुसन्धान, नवप्रवर्धन , विकास, तथा प्रतिलिपि अधिकार लिने प्रवन्ध गर्नुपर्छ । उद्योग, बजार आदिसँग सहकार्य गरी ब्यावसायिक सीप तथा प्राविधिक शिक्षा दिने प्रवन्ध गर्नुपर्छ । इण्टन्र्सको रुपमा । श्रोतब्यक्तिको रुपमा । बस्ती सरेर उजाड भएका ठाउँलाई गुल्जार गर्न कृषि, वागवानी, संग्रहालय आदिको रुपमा काम गर्नु गराउनु पर्छ । शारीरिक श्रम गर्न मन नलाग्नेहरुलाई रैथाने सीपका धनीहरुको सहकार्यमा विद्युतीय तथा इलेक्ट्रोनिक्स सामान बनाई प्रयोग गर्न लगाउनु पर्छ । सबै विश्वविद्यालय तथा तिनका कलेजलाई आजीवन शिक्षाको केन्द्र बनाउनु पर्छ । कुषक शिक्षाको । मजदूर शिक्षाको । ब्यापारी शिक्षाको । उद्यमी शिक्षाको । अन्य विधाको । तिनलाई विकास साझेदार तथा अनुसन्धानकर्ता बनाउनु पर्छ । 

शिक्षक ब्यवस्थापन र तालीमको निकास

बस्ती सराइले विश्वभर भूताहा गाउँ तथा शहर बढ्दै गएका छन् । नेपालले पनि त्यही नियति भोगिरहेको छ । यो स्थितिले गर्दा प्रति विद्यार्थी लागत बढ्दै गएको छ । जिरी नगरपालिकाको प्रति विद्यार्थी प्रति महिनाको लागत रु ५, ००० पर्न गएको छ । सोही कामका लागि प्युठान तथा टोखा नगरपालिकामा रु २,६०० सरकारी लगानी छ । यसरी हेर्दा औषत निजी विद्यालयको भन्दा सरकारको प्रति विद्यार्थी लागत हिमाल र पहाडमा बढी भएको छ । यो स्थितिमा विद्यालय तथा क्याम्पसहरु पनि मर्जरमा जानैपर्ने अवस्था बनेको छ । मर्जर भएका क्याम्पस वा स्कूललाई के गर्ने ? त्यहाँ भएका शिक्षक तथा प्राध्यापकलाई के गर्ने ? विद्यार्थीलाई के गर्ने ? ती विद्यालय तथा कलेजसँग जोडिएका अभिभावकीय संवेगलाई कसरी ब्यवस्थापन गर्ने ? यी प्रश्नहरुको उत्तर खोज्नु जरुरी छ ।

चीनको अनुभवले भन्छ - निरक्षरता उन्मुलन तथा अनिवार्य आधारभूत शिक्षा एकसाथ सञ्चालन गर्नुपर्छ । सेवा निवृत्तलाई त्यस्ता विद्यालयमा पठाउनु पर्छ । हप्तामा एक दुई दिन मात्र चलाउने विद्यालय सञ्चालन गर्नुपर्छ  । प्रविधिमा आधारित विद्यालय तथा कलेज सञ्चालन गर्नुपर्छ । अर्थात कृत्रिम वुद्धिका च्याटबट शिक्षक मार्फत कक्षा चलाउनु पर्छ ।

भारतको अनुभवले भन्छ - त्यहाँ प्यारा (PARA) शिक्षक तथा प्राध्यापकलाई पठाउनु पर्छ । अर्थात काम चलाउ शिक्षक पठाउनु पर्छ । शहर र गाउँको फासला मेटाउने आधुनिक प्रविधि प्रयोग गर्नुपर्छ ।

नर्डिक तथा ओइसिडी देशहरुमा विशेष सुविधा दिने गरेझैं त्यस्ता बस्तीमा पढाउने शिक्षकलाई थप सुविधा दिनुपर्छ ।

नेपालको सन्दर्भमा ती विद्यालय तथा कलेजलाई फुटसल बनाउन सकिन्छ । ग्रामीण सपिङ्ग मल बनाए हुन्छ । मंगोलियामा जस्तो विद्यार्थीको घर वा बस्तीमा गएर पढाउने ब्यवस्था गर्नुपर्छ । गुरुकुल तथा गुम्वामा जस्तो गरी एउटै शिक्षकले वहु पढाउने प्रवन्ध गर्नुपर्छ । माथिल्लो कक्षाको विद्यार्थीलाई मेण्टर बनाई तल्लो कक्षाका भाइबहिनीलाई पढाउने तरीकालाई उपयोग गर्नुपर्छ । चीनका दुर्गम बस्तीमा जस्तो हप्तामा १ वा दुई दिन कक्षा लिने गरी घुम्ती शिक्षकको ब्यवस्था गर्नुपर्छ । यसरी खाली भएका विद्यालय तथा कलेजमा थरिथरिका संग्रहालय बनाउँन सकिन्छ । सीप तालीम केन्द्र बनाए पनि हुन्छ । स्वीटजरल्याण्डको जस्तो समुदाय संवाद थलो बनाए पनि हुन्छ । बस्ती र त्यसकै वरिपरि हिमाल भए त्यसैबाट पैसा कमाउने तरिका खोज्ने । पोखरी भए त्यसलाई कसरी ब्यवसायिक बनाउने । जंगल भए त्यहाँ कसरी योग, ध्यान, पर्यटन, वाकिङ्ग, बञ्जी जम्प, रक क्याम्बिङ्ग जस्ता कामको संभावना (datahomenepal.org) देखााउनु पर्छ ।

यो तरीकाले विद्यालय तथा कलेज मर्ज गर्नुपर्छ । अर्कातिर मधेशमा शिक्षक तथा विद्यार्थी अनुपात ठूलो छ । अर्थात शिक्षकको कमी छ । पहाड तथा हिमालमा बढी भएका शिक्षक तथा प्राध्यापकलाई त्यहाँ सारे हुन्छ । हेलम्बु गाउँपालिकाले तीनवटा विद्यालयलाई पायक पर्ने ठाउँमा साझा १० कक्षा चलाए जस्तो गरे पनि हुन्छ । शिक्षक पनि पुग्यो । विद्यार्थीलाई मोटरले ल्याउने लाने ब्यवस्था पनि भयो । विषयगत शिक्षकको कमि पनि भएन । विद्यार्थी तथा शिक्षकलाई खाना एवं खाजा दिए पनि सोही रकमले धान्ने भयो । 

माथिका सबै देशले पूर्व सेवाकालीन, सेवाकालीन तथा पटके तालीम दिने गरेका छन् । अब शिक्षकलाई जम्मा गरेर तालीम दिने दिन गए । अर्थात् शिक्षक तालीम डिस्कर्ड वा फेसबुकबाट चलाउनु पर्छ । पान (Principal Association of Headteachers of Nepal- PAN) ले मिदासको सहकार्यमा थालेको शिक्षकका राम्रा अभ्यासहरुको दस्तावेजीकरण गरेर त्यसैमा शेयर गर्नुपर्छ । को पाइलट, अभिषेक घिमिरे तथा हरिस ओलीका शिक्षा सुधारका अभ्यासहरु पनि समावेश गर्न सकिन्छ । सरकारको शैक्षिक चौतारी, कुल्यावको अभ्यास आदिलाई पनि रेफर गर्नुपर्छ । यसो गर्नासाथ सबै शिक्षकहरु एकसाथ जानकार हुन्छन् । त्यसको कारण हो उनीहरु मोवाइलधारी छन् । उनीहरुले मेसेञ्जर, भाइवर, ह्वाटएप्स समूह पनि बनाएका छन् । त्यसैमा पनि शिक्षक तालीम गर्न सकिन्छ । स्टाफ कलेजले दिएजस्तो विशेष तालीमका लागि शिक्षक, प्राध्यापक, तथा कर्मचारीलाई आमने सामने राखेर तालीम दिने अवसर पनि सुनिश्चित गर्नुपर्छ । हाल भएका प्रदेश तहका शिक्षक तालीम केन्द्रहरु त्यसका लागि उपयोगी हुन्छन् । मर्ज भएका कलेज तथा विद्यालयलाई पनि तालीम केन्द्रमा रुपान्तरित गर्न सकिन्छ । जुन विधिबाट भए पनि शिक्षक तथा प्राध्यापकहरु गुणस्तरीय बनाइनु पर्छ । आफू गुणस्तरीय छु वा छैन भनी परीक्षण गर्न शिक्षकको स्वमूल्यांकन लागु गरे हुन्छ । शिक्षक मासिकले यो फारम २०८१ असारको अंकमा प्रकाशित गरेको छ । एनोराइड मोवाइलमा चल्नेगरी शिक्षक मासिकको वेभसाइट https://shikshakmasik.com मा त्यो फारम उपलब्ध छ ।  

विद्यार्थी वचत तथा शिक्षक सुविधाको निकास

देश ऋणको बोझमा छ । यसले दुई कुरा खोजेको छ । पहिलो, दैनिक रुपको अनिवार्य विद्यार्थी वचत अभियानलाई निरन्तरता दिने । हाल फेदीखोला गाउँपालिका, स्याङ्गजा, इलामको रोङ गाउँपालिका, तथा इलामकै सूर्योदय नगरपालिकामा यो अभ्यास जारी छ । त्यहाँको चिन्तन हो, स्थानीय बैंकहरुले सामाजिक दायित्व (social corporate responsibility) अन्तर्गत प्रत्येक विद्यार्थीको निःशुल्क बचत खाता खोलिदिन्छन् । त्यो खातामा प्रतिविद्यार्थी प्रतिदिन रु १ जम्मा गरिदिन्छन् । त्यसैमा पालिकाले पनि प्रति दिन प्रति विद्यार्थी रु १ का दरले रकम थपिदिन्छन् । अभिभावकले पनि आआप्mना सन्तानलाई प्रतिदिन कम्तिमा रु १ थपिदिन्छन् । अनि विद्यार्थीले पनि कमाएर आआप्mनो खातामा कम्तिमा रु १ जम्मा गर्छन् । यसका लागि फेदीखोला गाउँपालिकाले विद्यार्थीलाई फोहोर संकलन गर्न लगाएको छ । त्यस बापत पाउने रकम विद्यार्थीले आआफ्ना खातामा जम्मा गर्छन् । रोङ गाउँपालिकाले विद्यार्थीलाई साग ल्याउन वा सिस्नो ल्याउन लगाएको छ । पालिकाले सबै साग र सिस्नु किन्छ । सागलाई गुन्द्रुक बनाएर प्याकेजिङ्ग गरेर बेच्छ । सिस्नोलाई सुकाएर धूलो बनाई निट्टल सूप भनेर विदेश पठाउँछ । यसरी दिनको कम्तिमा रु ४ जम्मा गरिएको वचत खाता दश वर्षसम्म ननअपरेटिङ हुन्छ । अर्थात बैंकले त्यो रकम लगानी गर्न पाउँछन् । विद्यार्थीले उसको खातामा ब्याज पनि पाउँछ । यो तरीकाले दश वर्षपछि हर विद्यार्थीसँग गरिखानका लागि स्टार्टअप फण्ड हुन्छ । 

शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई भौतिक सुविधा उपलब्ध गराउनका लागि अर्काे सोचलाई उपयोग गर्नुपर्छ । त्यो हो, शिक्षक, प्राध्यापक तथा कर्मचारीले आफनो आम्दानीबाट प्रति महिना कट्टी हुने गरी दीर्घकालीन ऋण दिनका लागि पालिका तथा विश्वविद्यालयलाई अख्तियारी दिनुपर्छ । किनकि विद्यालय शिक्षक तथा कर्मचारीको तलव पालिकामा हुन्छ । प्राध्यापक तथा विश्वविद्यायका कर्मचारीको तलब कलेज÷क्याम्पसमा हुन्छ । विदेशिने नेपालीले भौतिक साधन जोडेको यसरी नै हो । यसो गर्दा स्थानीय सरकार÷विश्वविद्यालय÷कलेज जमानी बसे हुन्छ । ऋण ब्यक्तिले नै तिर्छ । भौतिक साधन किस्तावन्दीमा दिने पसलसँग सहकार्य गरिदिए पुग्छ । यसो गर्नाले शिक्षक, प्राध्यापक, तथा कर्मचारीहरु भौतिक सुविधाले सम्पन्न हुन्छन् । सरकारको लगानी पनि पर्दैन ।  यस बाहेक उनीहरुलाई स्थायी गर्न उमेरको हद नलाग्ने र शिक्षक सेवा आयोग तथा विश्वविद्यालय आयोगले प्रत्येक तीन महिनामा सेवा आयोग खोल्ने प्रवन्ध गरिदिए पुग्छ । 

शिक्षा ऐनहरुको निकास

देशमा संविधान छ । शिक्षा नीति, २०७५ छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ पनि छ । विद्यालय शिक्षा ऐन, ब्यावसायिक तथा प्राविधिक विद्यालय शिक्षा ऐन, उच्च शिक्षा ऐन, तथा उच्च शिक्षा ब्यवस्थापनका लागि बनेको छाता ऐनका मस्यौदाहरु पनि छन् । ती प्रत्येक मस्यौदामा सरकारको तर्पmबाट केही मूलभूत कुरा नछुटोस भनी लेखिदिए हुन्छ । जस्तो एक्काइसौं शताब्दीको विद्यार्थी कस्तो हुनेछ ?  त्यसका लागि कस्तो शिक्षक वा प्राध्यापक चाहिन्छ ? देशका रैथाने ज्ञानमा टेकेर विकास गर्न कस्तो प्रवन्ध चाहिन्छ ? शास्त्रीय ज्ञान, रैथाने ज्ञान, पाठ्यक्रम, पाठ्यपुस्तक, सन्दर्भ तथा कृत्रिम वुद्धि (AI) ले सिर्जना गरेको संसारलाई जोड्न के कस्तो ब्यवस्था चाहिन्छ ? पढ्ने कलामा नै गरिखाने कुरा जोड्न के गर्नुपर्छ ? अनुसन्धान तथा विकासलाई एकसाथ लान शिक्षकमा के तागत हुनु पर्छ ? गुणस्तरको जिम्मा लिनका लागि शिक्षक तथा प्राध्यापकलाई के के सहयोग चाहिन्छ ? त्यसका लागि शिक्षक तयारी कसरी हुन्छ ? शिक्षक सुविधा के हुन्छ ? यी र यस्ता  प्रश्न दिएर ती ऐनहरु सम्वन्धित शिक्षक तथा प्राध्यापकका संघ संगठनलाई नै दिनुपर्छ । उनीहरुले नै सम्वन्धित ऐनहरुमा आवश्यक फेरबदल गर्छन् । अन्तिम मस्यौदा पनि बनाउँछन् । त्यसमा सांसदहरुले आवश्यक हेरफेर गरी ऐनको अन्तिम रुप दिनु पहिलो बाटो हो ।

यसो हुँदा सरोकारवालाले जानकारी पाएनन् भन्ने समस्या हुन्न । सरकारको चासो पनि मर्देन । दोश्रो बाटो हो, शिक्षक, प्राध्यापक, कर्मचारी आदिको सेवा सुविधा राष्ट्रसेवककै नियमावलीमा राख्ने प्रवन्ध गर्नुपर्छ । यसो गर्नाले ऐनहरु छिटो छिटो बदल्नुपर्ने वाध्यता हुँदैन । यति गर्नाले शिक्षा ऐनहरु शिक्षक वा प्राध्यापक वा कर्मचारीमुखी भए भन्ने दोष रहन्न । तेश्रो बाटो हो, संविधानले दिएका मौलिक तथा अन्य हक अधिकारको सूची राख्ने । त्यो सूचीसँग हाल भएको शिक्षा नीतिसँग भिडाउने । अनि ऐनका प्रत्येक मस्यौदामा आवश्यक फेरबदल गर्ने । यसो गर्नाले संविधान, नीति तथा एैनबीचको तालमेल हुन्छ । चौथो बाटो हो, ऐनका मस्यौदाको आधारमा नियमावली तथा कार्यविधि एकसाथ बनाई सम्वन्धित निकायबाट एकैपटक पारित गराउने । यसो नगरिएकोले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ कार्यान्वयनमा गएन किनकि त्यसलाई कार्यान्वयन गर्ने नियमावली २०७८ मा बन्यो । त्यो नियमावली कार्यान्वयनमा लान चाहिने कार्यविधि २०८१ मा मात्र बन्यो । त्यसमा पनि २०७२ को संविधानको अनुसूची ८ ले पालिकालाई दिएको एकल अधिकार हनन् भयो भनी मुद्धा परेकोले  सर्वाेच्च अदालतमा गएर अड्किएको छ । त्यसैले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनमा आएको छैन । यो नियतिबाट बच्न तथा बचाउन चौथो बाटो उपयोगी हुन्छ । यसो गर्न कानूनी अड्चन नभएको कुरा वरिष्ठ अधिवक्ताहरुको राय पनि छ । 

दलीयताको निकास

लोकतन्त्रमा दलहरु हुन्छन् । तर तिनका भातृसंगठनहरु ट्रेड युनियन हुन् कि दल युनियन ? यो प्रश्नले चीन सम्झाउँछ । त्यहाँ अल चाइना फेडरेशन अफ ट्रेड युनियन छ । स्कूल, कलेज, तथा विश्वविद्यालयको साझा संस्था । यसले चीनीया कम्युनिष्ट पार्टीको आदर्श तथा नीति कार्यान्वयन गर्ने काम मात्र गर्छ । धर्ना गर्दैन । विरोध गर्दैन । चीनमा विद्यार्थीको युनियन पनि छ । तर काम भने चीनीया कम्युनिष्ट पार्टीले लाए अह्राएको मात्रै गर्छ । अर्थात शिक्षक तथा विद्यार्थीका ती संगठनहरु सामुहिक सौदावाजी (collective bargaining) को दृष्टिले आलंकारिक जस्तै देखिन्छन् । तिनको काम हो, अतिरिक्त क्रियाकलाप गराउने । सांस्कृतिक कामहरु गराउने । हंकङ्गको शिक्षक युनियन भने अधिकारमुखी छ । त्यसले समालोचकीय क्षमता पनि राख्छ । सामुहिक सौदावाजी पनि गर्छ ।

भारतमा अल इण्डिया प्राइमरी टिचर्स फेडेरेशन छ । स्कूल टिचर्स फेडरेशन अफ इण्डिया छ । प्रदेश पिच्छेका शिक्षकका फेडेरेशन छन् । अल इण्डिया फेडेरेशन अफ युनिभर्सिटी एण्ड कलेज टिचर्स छ । तिनले नीतिगत पैरवी गर्छन् । दवाव दिन्छन् । राजनीतिक हक अधिकारको वकालत गर्छन् । सामूहिक सौदावाजी गर्छन् । पेशागत काम पनि गर्छन् । विद्यार्थीका पनि संघ संगठन पनि छन् ।  तिनले पनि शिक्षक तथा प्राध्यापककै जस्तो काम गर्छन् । सौदावाजीका । धर्नाका । आन्दोलनका । यदाकदा पेशागत स्वरुपका । नर्डिक तथा ओइसिडी देशहरुमा पनि शिक्षक तथा विद्यार्थी युनियन छन् । तर तिनले दलीय झण्डा बोक्दैनन् । पेशागत मुद्धामा पैरवी गर्छन् । नेपालमा भने दलपिच्छेकै संघ संगठन छन् । शिक्षक महासंघको जिकिर अनुसार संविधानको धारा १७ र ३४ अन्तर्गत बने बनाइएका । सरकार अनुसार शिक्षा ऐन २०२८ को दफा १६ तथा राजनीतिक दल सम्वन्धी ऐन, २०७३ को दफा १४ भन्दा भिन्न भई बने बनाइएका । प्रकारान्तले भातृ संगठनका रुपमा रहेका । शुभेच्छुक संगठनको रुपमा रहेका । दलका दस्तावेजहरुमा यो कुरा उल्लेख गरिएको हुन्छ । शिक्षक, कर्मचारी, विद्यार्थी तथा प्राध्यापक संघ त्यही कोटीका हुन् । दलीयताको अन्त्य गर्न यो स्थितिले अनेकन बाटो खोज्छ । 

पहिलो बाटो हो, दलका भातृ तथा शुभेच्छुक संगठनहरुबीच वैचारिक संवाद गर्दै सहमतिको विन्दु पहिल्याउनु । 

दोश्रो बाटो हो, ती संघ संगठनहरुलाई जनताका मुद्धा वा समस्यामा संवाद गराउनु र सहमतिमा पु¥याउनु । 

तेश्रो बाटो हो, दलका संघसंगठनहरुलाई पालिका, प्रदेश तथा संघका संसद÷सभामा कसरी एजेण्डा प्रस्तुत गर्ने , संवाद गर्ने , नोट लेख्ने, निर्णय गर्ने जस्ता प्रकृयामा अभ्यस्त गराउनु । 

चौथो बाटो हो, दलहरुका विधानमा संशोधन गरी शिक्षक, कर्मचारी, विद्यार्थी, प्राध्यापक, अभिभावक आदिलाई भातृ तथा शुभेच्छुक संगठन नबनाउने निर्णय गर्नु । 

पाँचौं बाटो हो, शिक्षक, विद्यार्थी, कर्मचारी, प्राध्यापक, अभिभावक आदिले आआप्mना संघ संस्थालाई दलका भातृ तथा शुभेच्छुक संगठनबाट अलग गरी साझा संगठन बनाउने गरी तिनका विधान संशोधन गर्नु । त्यसमा संस्था सदस्य हुने प्रावधान हटाई ब्यक्ति सदस्य हुने कुरा उल्लेख गर्नु । 

छैठौं बाटो हो, शिक्षक, कर्मचारी, विद्यार्थी, प्राध्यापक, अभिभावक आदिलाई श्रमिक तथा राजनीतिक ट्रेड युनियनबाट अलग्याएर पेशाकर्मी ट्रेड युनियन बनाउनु । पेशाकर्मी ट्रेड युनियन शिक्षक, प्राध्यापक, डक्टर, इञ्जिनियर जस्ता स्वेत जागीरदार (white collar job holders) का हुन्छन् । तिनले पेशालाई पहिलो जिम्मेवारी ठान्छन् । राजनीतिक ट्रेड युनियन श्रमिमकका हुन्छन् । तिनले दलीय आस्थालाई ठूलो मान्छन् । सामान्य ट्रेड युनियन उद्योग तथा ब्यापारमा हुन्छन् । तिनले सुविधालाई ठूलो मान्छन् । यो कुरा बुभ्mने बुझाउने काम गर्नुपर्छ । 

गुणस्तरको निकास

शैक्षिक गुणस्तर सबैको चासो हो । तर जिममेवार को हुने ? यसबारेमा फरक फरक दृष्टिकोण भेटिन्छन् । चीनको साम्यवादी दलले गुणस्तरको मानक बनाएको छ । सो मानक अनुसार शैक्षिक उपलब्धी भयो कि भएन भनी सम्वन्धित तहको सरकार तथा राजनीतिक दलले गुणस्तरको यकिन गर्छ । भारतमा कर्मचारीतन्त्रलाई त्यो जिम्मा दिइएको हुन्छ । विश्वविद्यालयमा विश्वविद्यालय अनुदान आयोगले यो काम गर्छ । ओइसिडी देशहरुमा सबै क्षेत्रले मानक वा मापदण्ड बनाएको हुन्छन् । सोही मानक अनुसार मेरो शिक्षण संस्थाको स्तर के छ भनी यकिन गर्ने गरिन्छ । पिसा परीक्षा अर्काे मानक हो । यसबाट पनि शैक्षिक गुणस्तरको आँकलन गरिन्छ । नर्डिक देशहरुले स्थानीय पालिकालाई यो जिम्मेवारी दिएका छन् । अर्थात् त्यहाँ पालिकाले शैक्षिक गुणस्तरको जिम्मा लिन्छ । यो स्थितिमा नेपालमा खासै काम भएको छैन । म र डा. रुपा मुनाकर्मीले सरोकारवालाहरुको सोच समेत समावेश गरी वाग्मती प्रदेशका लागि शैक्षिक गुणस्तरको मानक बनाएका छौं 

तर त्यसलाई संघीय सरकारले लागु गरेको छैन । यो स्थितिमा हाम्रो बाटो हनुपर्छ कि सरकारले त्यो मानकलाई आवश्यक फेरबदल गरी अपनत्व लिनु पर्छ । अनि शैक्षिक गुणस्तरको जिम्मा सम्वन्धित शिक्षकको हो भन्ने कुरालाई स्थापित गर्नु पर्छ । अनि शिक्षकलाई सघाउने काम चाहिँ स्थानीय पालिकाको हो भन्नु पर्छ । शिक्षकलाई विधागत रुपमा सघाउन शिक्षकका संघ संगठनहरुले बनाएका समूहहरुलाई एकीकृत गरी म्यासेञ्जर, भाइवर ह्वाटसएप चौतारीमा रुपान्तरण गर्नुपर्छ । पान (PAN ले मिदाससँग मिलेर गरिरहेको कामलाई शैक्षिक गुणस्तरको अंग बनाउनु पर्छ । 

निचोड

शिक्षामा अनेकन समस्या छन् । समाधानका विकल्पहरु पनि छन् । ती विकल्पका बारेमा पालिका, प्रदेश, तथा संघीय तहमा संवाद गर्ने चलन चलाउनासाथ हामी समाधानमा पुग्छौं । यही मात्रै हो भन्यौँ भने अलमलमा हुन्छौं । यसैले प्रत्येक समाधानलाई स्थान सापेक्ष ढंगले अनुकुलन (adaptation) गर्न पालिका तहका सबै खाले सरोकारवालासँग संवाद गर्नु नै आजको आवश्यकता हो । भोलिको अघि बढ्ने बाटो हो । विश्वका अनुभवले पनि यही कुरा सिकाएको छ । 

प्रधानाध्यापक संघ नेपाल (पान) द्वारा आयोजित राष्ट्रिय शिक्षा संवाद–२०८२ मा शिक्षाविद् कोइरालाद्वारा प्रस्तुत कार्यपत्र । 

प्रतिक्रिया