Edukhabar
बुधबार, ०२ जेठ २०८१
शिक्षामा गत साता

शिक्षकको दलीय सम्बन्धन र त्रिविका गतिविधि

शिक्षकलाई दलीय राजनीतिबाट अलग गर्न शिक्षा मन्त्रालय अग्रसर, कार्यकर्ता शिक्षकको बचाउमा दलका नेताहरु गर्छन् ट्रेड युनियन अधिकारको तर्क ।

सोमबार, १७ बैशाख २०८१

काठमाडौं– राजनीतिक दलमा आवद्ध शिक्षकलाई कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्र मार्फत जिल्ला स्थित शिक्षा विकास तथा समन्वय एकाईलाई गरेकोपत्राचार गत साताका सञ्चार माध्यममा मुख्य विषय बन्यो । मन्त्रालयले दलको कार्यकारिणी पदमा रहेका १२ जना शिक्षकलाई कारबाही गर्ने निर्णय गरेको थियो । शिक्षा ऐनले शिक्षकलाई दलमा आवद्ध हुन रोक लगाएको छ ।

कान्तिपुरमा यही विषयको सम्पादकीयमा शिक्षकले गुणस्तरीय शिक्षा प्रदान गर्ने दायित्व भन्दा दलको सदस्यतालाई निरन्तरता दिने हो भने शिक्षक पदबाट हट्ने विकल्प रहेको सुझाव छ ।

शिक्षक महासंघ र शिक्षक संघ संगठनका पदाधिकारीले पेशागत संगठनमा समेत बस्न नदिने गरी मन्त्रालयले दिएको निर्देशन मान्य नहुने भन्दै बिरोध जनाएको समाचारमा उल्लेख छ । 

गत सोमवार शुरु भएको नेपाल शिक्षक महासघंको दोस्रो राष्ट्रिय महाधिवेशनमा आपसी सहमति नहँुदा एमाले निकट शिक्षकहरु अनुपस्थित भएको समाचार छ । महासंघको अध्यक्ष विनै  महाधिवेशनको तीन दिने कार्यक्रम सम्पन्न भएको समाचारमा उल्लेख छ । 

शिक्षक आन्दोलनले रोकिएको काठमाडौं र ललितपुरमा एसईई उत्तरपुस्तिका परीक्षण सुरु भएको समाचार आएको छ । उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक बढाउनुपर्ने माग गर्दै शिक्षकहरूले ललितपुर र काठमाडौंमा एसईईको उत्तरपुस्तिका परीक्षण रोकेका थिए । राष्ट्रिय परीक्षा बोर्डले पारिश्रमिक बढाउने प्रक्रिया सुरु गरिसकेको आश्वासन दिएपछि शिक्षकहरू काममा फर्किएको समाचारमा उल्लेख छ ।

सिराहा धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोत र सशर्त शिक्षण अनुदानका शिक्षकहरूले ९ महिनादेखि तलब नपाएको समाचार छ । पालिकामा आन्तरिक स्रोतको कमी र अन्य समस्याका कारण करिब २० जना शिक्षकहरूले तलब भत्ता नपाएको समाचारमा उल्लेख छ ।

यसै बीच ै काठमाडौँ महानगरपालिकाले विद्यालय समयमा अन्यत्र काम नगर्न शिक्षकहरूलाई चेतावनी दिएको, दोलखामा  एक वर्षको अवधिमा तीन वटा विद्यालयका शिक्षकबाटै किशोरी बलात्कारको सिकार भएका शिक्षक सम्बन्धित अरु समाचार पनि छन् ।

गत शुक्रबारबाट सुरु भएको कक्षा १२ को परीक्षामा  नियमिततर्फ १ लाख ९७ हजार छात्रा र १ लाख ९४ हजार छात्र गरी जम्मा तीन लाख ९१ हजार विद्यार्थी सहभागी रहेको समाचार छ । त्यस्तै ग्रेड वृद्धितर्फ १ लाख ६ सय ५० विद्यार्थीले परीक्षा दिइरहको समाचारमा उल्लेख छ । काठमाडौंको ठूलो भ‍र्याङबाट एक जना नक्कली परीक्षार्र्थी पक्राउ परेको समाचार छ भने काठमाडौंको धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेण्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महतले आफ्ना भाइहरूलाई कक्षा १२ पास गराउन नक्कली परीक्षार्थी खडा गरेको अर्को समाचार पनि आएको छ । 

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति प्रा.डा. केशरजंग बरालले तालाबन्दीका कारण काम गर्न समस्या भएको भन्दै तालाबन्दी मुक्त विश्वविद्यालय बनाउन विभिन्न विद्यार्थी संगठनहरूसँग छलफल गर्ने, उनीहरूबाट तालाबन्दी नगर्ने प्रतिवद्धता गराउने  प्रयास थालेको समाचार छ ।तर सत्तारूढ माओवादी, एकीकृत समाजवादी र कांग्रेस सम्बद्ध विद्यार्थी संगठनले पाटन संयुक्त क्याम्पसमा एक महिना अघि लगाएको तालाबन्दी अझै नखुलेको समाचार छ । त्यस्तै एमाले निकट अनेरास्ववियुले पनि अस्कल (अमृत) क्याम्पस लैनचौरमा दुई सातादेखि लगाएको तालाबन्दी पनि नखुलेको समाचारमा उल्लेख छ । 

पाटन क्याम्पसमा विद्यार्थी संगठनले क्याम्पस प्रमुख लक्ष्मण सिंह कुँवरलाई प्रवेशमा समेत रोक लगाएको समाचार छ । कम्प्युटर उपलब्ध गराउन, पुस्तकालयमा पुस्तक, चमेना गृह र खानेपानीको व्यवस्था गर्न माग राख्दै संयुक्त रूपमा तालाबन्दी गरेको समाचारमा उल्लेख छ । 

त्रिविकै आंगिक क्याम्पस शंकरदेवमा नेपाल विद्यार्थी संघ (नेविसं) र कख समर्थक स्वतन्त्र विद्यार्थी युनियन बीच सामान्य झडप भएको समाचार छ । नेविसंघले क्याम्पसमा आर्थिक अनियमितता भएको भन्दै क्याम्पस प्रमुखलाई विज्ञप्ति बुझाउन जानेक्रममा स्ववियु अध्यक्षले रोक्न खोजे पछि झडप भएको समाचारमा उल्लेख छ । 

त्यस्तै त्रिवि सेवा आयोगले हाल प्रचलनमा रहेको कार्यविधि विपरीत प्राध्यापक पदपूर्ति गर्न खोजेको भन्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध गरेको समाचार आएको छ । सेवा आयोगले हालै ९ जना प्राध्यापक पदपूर्तिका लागि विज्ञापन गरेको छ । प्रकाशित समाचार अनुसार शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी कार्यविधि २०७५ को पछिल्लो संशोधनलाई बेवास्ता गर्दै निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक बनाउन खोजेको आरोप लगाइएको छ । 

त्रिविका उपकुलपति प्रा डा. केशरजंग बरालले शैक्षिक कार्यक्रमलाई  प्रभावकारी बनाउन त्रिविकै प्रदेश विश्वविद्यालय स्थापना गर्ने योजना   अगाडि सारेको गोरखापत्रमा समाचार छ । प्रदेशमा स्थापना हुने  विश्वविद्यालयले सम्बन्धित क्षेत्रमा रहेका त्रिवि अन्तर्गतका आङ्गिक  तथा सम्बन्धन प्राप्त क्याम्पसको शैक्षिक गुणस्तर मापन गर्ने, शैक्षिक  कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनमा सघाउने अधिकार हुने  योजना रहेको समाचारमा उल्लेख छ । 

त्यस्तै वागमती प्रदेशले आफ्नै  विश्वविद्यालय  स्थापनाको  तयारीस्वरुप बागमती विश्वविद्यालयको विधान तयार गरेको समाचार छ । 

पूर्वाञ्चल विश्वविद्यालयको १२औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय देखिएको बौद्धिक पलायनलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी देखिएको बताएको समाचारमा उल्लेख छ ।

अर्को समाचारमा सर्वोच्च अदालतले त्रिविका प्रमुख कानुनी सल्लाहकार नारायण खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न सरकार एवं त्रिभुवन विश्वविद्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्न देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउने र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न सरकारले आवश्यक तयारी गरिरहेको बताएको समाचारमा उल्लेख छ । 

पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहमा स्नातक तथा स्नातकोत्तर उत्तीर्ण गरेका ४ सय ८५ विद्यार्थीहरूलाई दीक्षित गरिएको समाचारमा उल्लेख छ । दीक्षित हुनेमा एमबीबीएस, एमएस, एडि, एमपिएच, बिएस्सी, बिएनएस जस्ता विषय उत्तीर्ण गरेका विद्यार्थीहरू रहेको समाचारमा जनाइएको छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्राविधिक शिक्षा अध्ययन गरिरहेका दुई विद्यार्थीलाई जनही एक लाख रुपियाँ छात्रवृत्ति प्रदान गरेको, झापा गाउँपालिकाले तीनवटा सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत छ सय ३० जनालाई छात्रवृत्ति प्रदान गरेको पनि समाचारमा जनाएको छ ।

सिन्धुपाल्चोकका ५१ वटा सामुदायिक विद्यालयमा नर्स खटाइएको समाचार आएको छ । तीन नगरपालिका, नौ  गाउँपालिकाका  सामुदायिक  विद्यालयमा नर्स खटिएपछि शैक्षिक कृयाकलाप प्रभावकारी  हुन थालेको समाचारमा उल्लेख छ । 

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको रानीपौवा माध्यमिक विद्यालयमा  अध्ययनरत दुई  विद्यार्थीले विज्ञान शिक्षकको सहायतामा चार पाङ्ग्रे  विद्युतीय गाडी निर्माण गरेको समाचार छ । उनीहरूले कबाडी सामग्री बटुलेर विद्युतीय कार निर्माण गरेको समाचारमा उल्लेख छ । 

गुल्मीको मालिका गाउँपालिकाले कक्षा १ देखि ८ सम्म ‘हाम्रो मालिका’ नामक स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पठनपाठनको क्रममा सालको पातबाट दुना र टपरी बनाउन सिकाइएको समाचारमा उल्लेख छ ।

अर्को समाचार अनुसार राउटे बालबालिकालाई भर्ना अभियानले छुन सकेको छैन । लेखपढ  नगर्ने,  एकै  ठाउँमा  नबस्ने  र  खेतीपाती नगर्ने मान्यता भएका राउटे समुदाय पछिल्लो समय भने सामाजिक व्यवहारमा जोडिँदै आएको भए पनि उनीहरूलाई विद्यार्थी भर्ना अभियानमा जोड्न नसक्दा  राउटे बालबालिका शिक्षाको अवसरबाट वञ्चित भएको समाचारमा उल्लेख छ । त्यस्तै सर्लाहीमा अझै आठ हजार २ सय ७७ जना बालबालिका  विद्यालय बाहिर रहेको समाचार छ । विद्यार्थी भर्ना अभियान चलिरहँदा ती  बालबालिकालाई विद्यालयमा भर्ना गराउन २० वटै पालिकाका विद्यालयले घरदैलो अभियान सञ्चालन गरिरहेको समाचारमा उल्लेख छ । 

त्यस्तै शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह अन्र्तगत शिक्षा क्षेत्रमा कृयाशील संस्थाहरुले विभिन्न कार्यक्रम गरिरहेको समाचार छ । 

अष्ट्रेलियामा विदेशी विद्यार्थीलाई अध्ययन पछि उपलब्ध गराउँदै आएको टेम्पोररी रेसिडेन्स (टीआर) ग्य्राजुएट भिसा आवेदन दिन उमेर हद र समयावधिमा व्यापक परिवर्तन गरिएको अनलाइन खबरमा समाचार आएको छ । यसअघि अध्ययन पछि ५० वर्षसम्मका विद्यार्थीले टीआर भिसाको लागि आवेदन दिन पाउनेमा अब यसलाई ३५ वर्षमा झारिएको समाचारमा उल्लेख छ । त्यस्तैस्नातकोत्तर पढेका विद्यार्थीले तीन वर्षको टीआर भिसा पाइरहेकोमा यसलाई घटाएर दुई वर्ष बनाइएको नियम आगामी जुलाई १ देखि लागू हुने पनि समाचारमा जनाइएको छ । 

विदेश पढेर आएकाको योजनालाई नेपालमा विशेष मान्ने र विदेशी शिक्षाका वेबसाइट डाउनलोड गरेर तदनुरूपका कार्यव्रmम प्रस्तुत गर्ने विज्ञलाई शिक्षाविद्को पगरी गुथाई उनका सुझावलाई विद्यालय शिक्षामा लाद्ने गरेको शान्तिकृष्ण अधिकारीको विचार गोरखापत्र प्रकाशित भएको छ ।

सबै विद्यालयका विद्यार्थीको पोशाक एकैथरी बनाउने इटहरी उपमहानगरपालिकाको निर्णय निजी विद्यालयले अवज्ञा गरेको समाचार आएको छ । उपमहानगर कार्यपालिकाका बहुमत सदस्य, राजनीतिक दल र प्रवुद्ध वर्गको साथ सहयोग रहेको भन्दै निजी विद्यालयको प्रतिनिधिमूलक संगठनहरुले विद्यालयको पोशाकसम्बन्धी निर्णय कार्यान्वयन नगर्न निजी विद्यालयहरुलाई आग्रह गरेको समाचारमा जनाएको छ । 

काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि दुई सय तीन संस्थागत विद्यालय सम्पर्कमा आएको महानगरले जनाएको समाचार छ ।

त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकाले  विद्यालयको   वर्गीकरण  गरी  शुल्क  निर्धारण गरेको समाचार छ । संस्थागत   विद्यालय   मापदण्ड तथा  निर्देशिका  २०८०  अनुसार    संस्थागत  विद्यालयको    वर्गीकरण   गरेर    शुल्क समेत निर्धारण  गरेको  समाचारमा उल्लेख छ ।

निजी विद्यालयलका शिक्षकको संगठन (इष्टु)को कार्यक्रममा शिक्षकलाई आवश्यक तालिम, शैक्षिक सामग्री र पारिश्रमिक सुनिश्चित नहुँदा पेशामा टिक्न मुस्किल परिरहेको शिक्षकरुले बताएको समाचार सार्वजनिक भएको छ । 

गोरखापत्रमा बालबालिकाको  सर्वाङ्गीण विकासका लागि शिशु विकास र स्याहार केन्द्र  सञ्चालन  गर्न  सकिने  व्यवस्था  रहेकोमा  कति वर्षदेखिका बालबालिका भर्ना गर्न सकिने भन्नेमा नीतिगत अन्योल र अस्पष्टता रहेको विचार छापिएको छ । निजी लगानीबाट सञ्चालित मन्टेश्वरी, प्ले ग्रुप, नर्सरी, एलकेजी आदि नामबाट  दुई  वर्षदेखिका  बालबालिका  भर्ना  लिने  र  सुरुवातदेखि  नै  पाठ्यपुस्तकमा  आधारित  पढाइ  लेखाइका व्रिmयाकलापमा संलग्न गराउने गरेको लेखमा औल्याइएको छन् ।

साता भरिका शैक्षिक विषयवस्तुको वर्गीकरण र संश्लेषण गरी तिनलाई सामाजिक न्याय र सिर्जनशील शिक्षण विधिका दृष्टिबाट वस्तुपरक टिप्पणी गरी नीति निर्माता एवं सरोकारवालाहरुलाई एकै स्थानमा साताभरीका शैक्षिक समाचारको  सार उपलब्ध गराउनु यसको उद्देश्य हो । शिक्षा नीति तथा अभ्यास केन्द्र र एडुखबरको संयुक्त प्रयासमा दैनिक पत्रिकाहरु कान्तिपुर, गोरखापत्र र दि हिमालयन टाईम्स, अनलाईन खबर, सेतोपाटी र रातोपाटी अनि हिमालय टिभि र नेपाल टेलिभिजनलाई समेटिएको छ । यस पटक २०८१ बैशाख ८ देखि १४ गते सम्मका सामाग्री समेटिएका छन् – सम्पादक ।

प्रतिक्रिया