Edukhabar
आइतबार, २१ बैशाख २०८२
गतिविधि

पढाईमा भएको क्षती विदाको समयमा कक्षा लिएर पुरा गर्ने

पालिकागत अनुकुलतामा विदाको समय उपयोग गरिने

आइतबार, २१ बैशाख २०८२
धादिङ्को एक विद्यालय : एडुखबर फाईल फोटो

काठमाडौं - सडक प्रदर्शनका कारण बालबालिकाको पढाईमा भएको क्षतीलाई विदाको समयमा कक्षा लिएर पुरा गर्ने नेपाल शिक्षक महासंघले निर्णय गरेको छ । सरकारसँग सहमती भएको तीन दिन पछि शनिबारको मिति राखेर महासंघले आईतबार सार्वजनिक गरेको आफ्नो निर्णयमा पालिकागत अनुकुलतामा विदाको समय उपयोग गरिने उल्लेख छ । 

'आन्दोलनका क्रममा विद्यालयमा भएको शैक्षिक क्षतीलाई न्यूनीकरण गर्न पालिकागत अनुकुलतामा विदाको समय उपयोग गरी आपूरण गर्नु हुन अनुरोध छ' शिक्षक कर्मचारीलाई सम्बोधन गर्दै महासंघले भनेको छ, 'भर्ना, अध्यापन, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण जस्ता विद्यालय शिक्षासँग सम्बन्धित सबै कामहरुमा यथावत संलग्न हुन सबैमा अनुरोध छ ।'

गत चैत २० गते देखि काठमाडौं केन्द्रित सडक प्रदर्शनको अगुवाई गरेको महासंघसँग बैशाख १७ गते राती शिक्षा मन्त्रालयमा सहमती भएसँगै रोकिएका शैक्षिक गतिविधि सञ्चालनमा महासंघ राजी भएको थियो ।  

आफ्नो आन्दोलनले विद्यालय विद्यार्थी, शिक्षक कर्मचारीका समस्या र मागमुद्दा आम मानिसका बिचमा समेत स्थापित गरेको महासंघले ठहर गरेको छ । विगतमा महासंघसँग राज्यले गरेको सहमती मध्ये मन्त्रिपरिषद्को निर्णयबाट हुनसक्ने विषयहरु कार्यान्वयनमा आएको महासंघले उल्लेख गरेको छ । विद्यालय शिक्षा ऐन जारी गर्ने आफ्नो माग संसदको प्रकृया भित्र रहेका पदाधिकारीबाट समय तालिका सहित सनिश्चित गरिएकोले आफ्नो आन्दोलन सफलता पूर्वक सम्पन्न भएको महासंघले जनाएको छ । शिक्षक कर्मचारीका मागमा प्राप्त सहयोग प्रति महासंघले सम्वद्ध सबै समक्ष आभार पनि व्यक्त गरेको छ । 

शिक्षक सडक प्रदर्शनका कारण नयाँ शैक्षिक सत्रसँगै सञ्चालन हुने शैक्षिक गतिविधि ठप्प भएका थिए । प्रदर्शनका कारण धकेलिएको कक्षा १२ को परीक्षा आईतबारबाट शुरु भएको छ ।

प्रतिक्रिया