भक्तपुर - एउटा विद्यालयको 'क्याचमेण्ट एरिया' कति हो ? उत्तर आउन सक्छ – पैदल नै हिँडेर विद्यालय आउ जाउ गर्न सक्ने क्षेत्र अर्थात् विद्यालय वरीपरी !
तर, भक्तपुर सानोठिमीको आदर्श माध्यमिक विद्यालय एउटा अपवाद बनेको छ । जहाँ ७१ जिल्लाका विद्यार्थी अध्ययनरत छन् । यस बाहेक भारतका ११ जना विद्यार्थी पनि यही विद्यालयमा अध्ययन गर्छन् ।
मनाङ मुस्ताङ, म्याग्दी, पर्वत, गोरखा, ललितपुर बाहेक जिल्लाका विद्यार्थी आदर्शमा अध्ययनरत रहेको विद्यालयको तथ्याँङ् छ । एउटै कक्षामा कम्तीमा १२ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको र सबैभन्दा बढी कक्षा १० ख मा ३२ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक रामबाबु रेग्मीले बताए ।
जिल्लागत रुपमा सबैभन्दा बढी दोलखाका ५८ जना विद्यार्थी अध्ययनरत छन् । भारतका ११ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक रेग्मीले बताए । १० जना भन्दा बढी विद्यार्थी हुने २५ जिल्लाका छन् । अछाम, बाँके, कपिलबस्तु, कास्की, नवलपरासी पूर्व र पश्चिम, स्याङजा, तेह्रथुमका एक–एक जना विद्यार्थी अध्ययनरत छन् । सिकाइ उपलब्धिका आधारमा पनि यो विद्यालय सामुदायिक तर्फ मध्यपुर ठिमी नगरपालिकाको उत्कृष्ट विद्यालय मध्येमा पर्छ । कक्षा ८ को नतिजाका आधारमा यो विद्यालय पालिकामै पहिलो हो । त्यस्तै कक्षा १० को नतिजाका आधारमा पनि यो विद्यालयले लगातार दुई बर्ष सम्म नगरकै उत्कृष्ट विद्यालयको पुरस्कार प्राप्त गरिसकेको छ । यही नतिजाका कारण अभिभावकको रोजाईमा परेपछि विद्यालयमा भर्ना हुन प्रवेश परीक्षा अनिवार्य गरिएको छ ।
विद्यार्थीको चाप भए पछि विद्यालयले, कक्षा ६ देखि कम्तीमा दुई वटा सेक्सन छुट्याएर पढाउने व्यवस्था मिलाएको छ । कक्षा ९ र १० मा तीन/तीन वटा सेक्सन विभाजन गरिएको छ ।
नतिजा सुधारका लागि विद्यालयले विभिन्न विधि अपनाउँदै आएको छ । अतिरिक्त कक्षा सँगै आन्तरिक परीक्षा प्रणालीको विधि अपनाईएको छ । आन्तरिक परीक्षामा कमजोर नतिजा ल्याउने विद्यार्थीलाई थप अतिरिक्त कक्षाको व्यवस्था गरिएको सहायक प्रधानाध्यापक टंक आचार्यले बताए । विद्यालयले नियमित रुपमा अभिभावकसँग भेटघाट गर्ने गर्छ । खासगरी अनुपस्थित विद्यार्थीकोअभिभावकलाई सम्पर्क गरेर उसको पढाईको अवस्था यकिन गर्ने प्रचलन रहेको उनले बताए ।
'विद्यालयको नतिजा उत्कृष्ट हुनुमा अतिरिक्त कक्षा सञ्चालनको भूमिका महत्वपूर्ण छ, अहिले गर्मी विदामा पनि कक्षा ८, ९ र १० का विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गरिरहेका छौं' उनले भने, 'हामीकहाँ आउने विद्यार्थी पनि अरु जस्तै हुन् तर हामी अभिभावकको प्रत्यक्ष सहभागिताका आधारमा नतिजा सुधारका काम गर्छौं ।'
२०२४ सालमा स्थापना भएको यो विद्यालयको पुरानो संरचना अमेरिकी सहयोग नियोग यूएसएआईडीले बनाइदिएको थियो । भूकम्प पछिको पुननिर्माणमा पनि यूएसएआईडी कै सहयोग छ । यूएसएआईडीले २२ करोडमा नयाँ भवन बनाइदिएको हो ।
सत्ताधारी दल नेपाली कांग्रेसका सांसद समेत रहेका अर्बपति व्यवसायी विनोद चौधरी, उद्योगपति वसन्त चौधरीले पनि यही विद्यालयमा अध्ययन गरेका हुन् । त्यस्तै पूर्व पत्रकार रमा सिंह, नेपाली फिल्मका नायक भुवन केसी पनि यही विद्यालयका पूर्व विद्यार्थी हुन् ।
प्रतिक्रिया