Edukhabar
शनिबार, २१ भदौ २०८२
गतिविधि

सातै प्रदेशका उत्कृष्ट शिक्षक छनोट

जनही ५० हजार रुपैयाँ र सम्मान पत्रका साथमा उनीहरुका विद्यार्थीका लागि १० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री समेत प्रदान, विद्यालय प्रोत्साहन पुरस्कार पनि प्रदान

शनिबार, २१ भदौ २०८२

काठमाडौं - शिक्षण शैली र पेशा प्रतिको समर्पण लगायत निर्धारित विभिन्न मानकका आधारमा सामुदायिक विद्यालयमा कार्यरत उत्कृष्ट शिक्षक छनोट गरिएको छ । देशभरबाट प्राप्त आवेदनहरुलाई छनोटका विभिन्न मानकका आधारमा स्वतन्त्र विज्ञहरुबाट मूल्याँकन गरेर उत्कृष्ट छनोट गरिएको आयोजक पीपी प्रसाई फाउण्डेसनले जनाएको छ । हरेक प्रदेशबाट एक एक जना गरी छनोट भएका शिक्षकलाई जनही ५० हजार रुपैयाँ र सम्मान पत्रका साथै उनीहरुका विद्यार्थीका लागि १० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री समेत प्रदान गरिएको छ । 

सुदूरपश्चिम प्रदेशबाट धनगढी नमूना प्राविधिक विद्यालय, कैलालीका शिक्षक हेमराज विष्ट, कर्णाली प्रदेशबाट कर्णाली माध्यमिक विद्यालय, जुम्लाका शिक्षक देवेन्द्र तिमिल्सिना उपाध्याय र लुम्बिनी प्रदेशबाट बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय, बर्दियाका शिक्षक प्रभात सुवेदी उत्कृष्ट भएका छन् । यस्तै गण्डकी प्रदेशबाट  राधा माध्यमिक विद्यालय, तनहुँका शिक्षक विष्णु घिमिरे, बाग्मती प्रदेशबाट जन उद्धार माध्यमिक विद्यालय, काठमाडौंकी शिक्षक अप्सरा कुमारी घिमिरे र मधेश प्रदेशबाट अजिज मियाँ माध्यमिक विद्यालय, पर्साका  प्रधानाध्यापक जितेन्द्र राम उत्कृष्ट शिक्षक भएका छन् । कोशी प्रदेशबाट फिक्कल माध्यमिक विद्यालय, इलामका शिक्षक  केशवराज कट्टेल उत्कृष्ट भएका छन् । 

उत्कृष्ट शिक्षकलाई पुरस्कार प्रदान गर्न शुक्रबार आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले उत्कृष्ट शिक्षकहरुलाई बधाइ दिँदै पुरस्कार तथा सम्मान पत्र प्रदान गरे । विगत १२ बर्ष देखि फाउण्डेशनले उत्कृष्ट शिक्षक छनोट गर्दै आएको छ । 

आवेदन हाल्न तोकिएको समयमा प्राप्त निवेदनहरु मध्ये सबै प्रकृया पुरा गरेर एक सय चार शिक्षक अन्तिम चरणसम्म आईपुगेका पुरस्कार छनोट समितिले जनाएको छ । स्थानीय अभिभावक तथा समुदायको सिफारिस लगायतका आवश्यक प्रकृया पुरा गरेका शिक्षकहरु मध्ये अन्तिम चरणमा पुगेका शिक्षकहरुको एक एक गरी अन्तरवार्ता लिएर अन्तिम सूची तयार पारिएको फाउण्डेशनले जनाएको छ । पूर्व शिक्षक धनञ्जय शर्माको संयोजकत्वमा शिक्षा क्षेत्रमा कृयाशिल विभिन्न व्यक्तिहरु सम्मिलित समितिले उत्कृष्ट शिक्षक छनोटका लागि शिक्षण शैली र शिक्षण पेशाप्रतिको समर्पण सहितका मानकका आधारमा छनोट गरेको हो । विद्यार्थीको अतिरिक्त प्रतिभा तथा सीप सिकाइमा शिक्षकले दिने प्रोत्साहन एवं अभिभावक तथा समुदायसँगको सम्बन्ध, तालिमबाट सिकेका ज्ञानको कक्षाकोठामा प्रयोग, सिकाइ उपलब्धि , स्थानीय अभिभावक तथा समुदायको सिफारिस लगायतका मानक समितिले तयार पारेको छ । प्राप्त आवेदनलाई यीनै मानकहरुमा ढालेर छनोट समितिले अन्तिम नाम सिफारिस गर्दछ ।

यसैगरी फाउण्डेसनले विद्यालय प्रोत्साहन पुरस्कारबाट भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित देवी आधारभूत विद्यालयलाई सम्मानित गरेको छ । सुधारका लागि प्रयत्नशील विद्यालयलाई एक लाख रुपैयाँ सहित सम्मान गरिएको हो । कक्षा ५ सम्म चलेको सो विद्यालयलाई  विद्यार्थी संख्या न्यून भई कक्षा ३ मा झारिएको थियो । विद्यार्थी संख्या कम भएको भन्दै अर्को विद्यालयमा गाभ्ने (मर्ज) अवस्थामा पुगेको विद्यालयमा प्रधानाध्यापक तिलकदास श्रेष्ठ र उनको टीम मिलेर सुधार गरेका हुन् , नगरपालिकाले खुला प्रतिस्पर्धाबाट श्रेष्ठलाई प्रधानाध्यापक नियुक्त गरेपछि कक्षा ३ मा घटुवा गरिएको विद्यालय पुनः कक्षा ५ सम्म सञ्चालनमा आएको छ ।

सार्वजनिक शिक्षा सुधारका लागि योगदान पुर्याइरहेका शिक्षकहरुलाई सम्मान र हौसला प्रदान गर्र्न पर्यटन व्यवसायी स्व. प्रजापति प्रसाईको सम्मानमा उनको परिवारले फाउण्डेशन स्थापना गरी पी.पी.प्रसाई पुरस्कार प्रदान गर्न शुरु गरेका हन् ।  

यसैगरी फाउण्डेसनले पर्यटन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पूर्व पर्यटन सचिव दीपेन्द्रपुरुष ढकाललाई पी.पी. प्रसाई टुरिज्म लाईफटाइम अचिभमेन्ट अवार्ड २०२५ बाट सम्मानित गरेको छ । नेपाल भ्रमण वर्ष–१९९८ अभियान ढकालको कार्यकालमा शुरु भएको थियो  । ढकालकै नेतृत्वमा सन् १९९८ मा नेपाल पर्यटन बोर्ड स्थापना भएको थियो । त्यस्तै नेपाल नागरिक उड्डययन प्राधिकरण स्थापना गर्न पनि उनको महत्वपूर्ण भूमिका थियो ।

प्रतिक्रिया