काठमाडौ - वर्षा र बाढीको जोखिमबाट सजग गराउँदै शिक्षा मन्त्रालयले शैक्षिक संस्थामा विदा र परीक्षा स्थगित गर्न निर्देशन दिएको भोलिपल्ट बिहीबार विभिन्न पालिकाहरुले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । वंगालको खाडीबाट शुरु भएको मौसमी प्रणालीले नेपालमा समेत असर गर्ने प्रक्षेपण भईरहेका बेला बुधबार अबेर शिक्षा मन्त्रालयले विहीबार र शुक्रबार विद्यालय लगायत शैक्षिक संस्थामा विदा दिन निर्देशन दिएको थियो ।
निरन्तर वर्षा हुन थालेपछि सुनसरीको इटहरी उपमहानगर र मोरङको विराटनगर महानगरले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । जल तथा मौसम पूर्व अनुमान विभागले आजबाट निरन्तर ठूलो पानी पर्ने सूचना जारी गरेपछि विद्यालय बन्द गर्ने निर्णय गरेको पालिकाहरुले जनाएका छन् । कोशी प्रदेशका अधिकांश जिल्लामा गए रातिबाटै पानी परिरहेका छ ।
सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै बुटवल उपमहानगरपालिकाले पनि नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ । विहीबार दिवा सत्रका कक्षा मात्र बन्द गरिने र शुक्रबार बिहानी र दिवा दुवै सत्रका सम्पूर्ण कक्षा बन्द रहने निणय गरिएको छ । अत्यधिक वर्षाले बाढी, पहिरो लगायतका जोखिम भएको भन्दै पोखरा महानगरपालिकाले पनि बिहीबार र शुक्रबार दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
काभ्रेका विभिन्न चार स्थानीय तह बनेपा, बेथानचोक, मण्डनदेउपुर र रोशीले बिहीबार र शुक्रबार सबै विद्यालय पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका छन् ।
मन्त्रालयले बुधबार साँझ दुई छुट्टाछुट्टै सूचना जारी गर्दै जिल्ला स्थित शिक्षा विकास तथा समन्वय एकाइलाई स्थानीय तहसँगको समन्वयमा आवश्यकता अनुसार शैक्षिक संस्थामा विदा र परीक्षा समेत स्थगित गर्न निर्देशन सहित सार्वजनिक सूचना समेत जारी गरेको थियो । सोही आधारमा पालिकाहरुले भटाभट विद्यालयमा विदाको निर्णय गरिरहेका छन् ।
मनसुनी र पश्चिमी वायुको प्रभावसँगै देशभर आगामी तीन दिन अधिकांश बदली र वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनीलगायत प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी तथा गण्डकी र लुम्बिनीका एक दुई स्थानमा अति भारी वर्षाको चेतावनी दिइएको छ ।
प्रतिक्रिया