काठमाडौं - जेन - जी समूहको बिद्रोह भड्किएर सिंहदरबार छिरेको हुलले शिक्षा मन्त्रालयमा पनि तत्काल कामै गर्न नसकिने गरी क्षति पुर्याएको छ । क्षतीको अवस्थाबारे बुझ्न मुख्य सचिव एकनारायण अर्याल सहित शुक्रबार सिंहदरबार छिरेको टोलीले शिक्षा सहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयमा शतप्रतिशत क्षति भएको यकिन गरेको छ ।
बसेर काम गर्नै नसक्ने गरी क्षती भए पछि विकल्पमा अर्को स्थान खोजी भइरहेको शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले बताए । मन्त्रालयका पदाधिकारी सहित नयाँ विकल्पमा छलफल शुरु गरिएको उनले बताए ।
‘के कति क्षति पुगेको छ भन्ने मुल्याङ्कन भइरहेको छ’ पौडेलले भने,‘सिंहदरबारबाटै नियमित काम सुरु गर्न सक्ने अवस्था भने देखिएन, अर्को ठाउँको खोजीमा छौँ ।’
मन्त्रालयको नियमित काम सुरु गर्न दुई ठाउँलाई विकल्पको रुपमा अघि सारेको छ । एउटा केशरमहलको केशर पुस्तकालय भएको भवन र दोस्रो विकल्पमा सानोठिमी स्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको भवन । सोही विकल्प अनुसार आन्तरिक छलफल जारी रहेको बताईएको छ ।
मन्त्रालय सिंहदरबार सार्नु अघिसम्म केशर महलमै थियो । पछि भुकम्पले भत्काएको भवन पुनःनिर्माण पछि सार्वजनिक खरिद अनुगमन कार्यालय र केशर पुस्तकालय सञ्चालनमा छन् । केशर पुस्तकालयमै मन्त्रालय सार्ने गरी छलफल भइरहेको सचिव पौडेलले बताए ।
सिंहदरबारमा रहेका अन्य प्रायः मन्त्रालयमा पनि आंशिक क्षति देखिएको छ । अर्थ मन्त्रालय बाहिर रहेको टहरा र गाडीहरूमा क्षति भएको, सिंहदरबार बाहिर रहेको एकमात्र मन्त्रालय स्वास्थ्यमा समेत शतप्रतिशत क्षति भएको अर्थ सचिव घनश्याम उपाध्यायले बताए । क्षतीको आर्थिक विवरण तत्काल गणना गर्न सक्ने अवस्था नदेखिएको उनले बताए ।
सामाजिक सञ्जाल बन्दको विरुद्धमा भदौ २३ गते सडकमा उत्रिएको जेन–जी समूह माथि सरकारले बर्बर दमन गर्दा एकै दिन १९ जना युवाको ज्यान गएको थियो । त्यसकै प्रतिशोधमा भोलिपल्ट युवाहरुले शुरु गरेको बिद्रोह हुलदलंगामा बदलिएसँगै सरकारी निकाय, नेताहरुका घर, व्यापारिक भवन सहितमा अन्धाधुन्ध आक्रमण गरिएको थियो ।
प्रर्दशन बढ्दै गए पछि राजिनामा दिएका प्रधानमन्त्री केपी ओली सहितका मन्त्रीहरु अहिले सम्म सार्वजनिक भएका छैनन् । उनीहरुलाई नेपाली सेनाले सुरक्षित स्थानमा राखेको बताईएको छ । शान्ति सुरक्षा कायम गर्ने जिम्मा नेपाली सेनालाई नै दिईएको छ । यता राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको प्रयास थालेका छन् । नेपाली सेनाकै संयोजनमा आन्दोलनरत पक्ष र राष्ट्रपति बिचको छलफलमा पूर्व प्रधानन्याधिस सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने तय भईसकेको बताईएको छ । यद्यपी नयाँ नियुक्तिको मोडालिटि र अन्तरिम सरकारको स्पष्ट क्षेत्राधिकारका बारेमा टुङ्गो लाग्न बाँकी नै छ ।
उता अन्तरिम प्रधानमन्त्री सहित मन्त्रीहरुका लागि सिंहदरबारमै कार्यालय व्यवस्थापन गरिने बताईएको छ । गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय राख्ने गरी तयारी थालिएको छ ।
यसैबिच उक्त प्रर्दशनमा ज्यान गुमाउनेहरुको संख्या तीन प्रहरी, एक भारतीय महिला सहित ५१ पुगेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया