Edukhabar
आइतबार, १९ असोज २०८२
गतिविधि

मेरा लागि मन्त्रालयमै ओछ्च्यान र भान्सा कोठा व्यवस्था गर्नु : शिक्षा मन्त्री

आनाकानी गर्दै पहिलो निर्णयमा हस्ताक्षर

सोमबार, ०६ असोज २०८२

काठमाडौं - आफ्नो प्राथमिकता काम मात्रै भएको बताउँदै नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री डा. महावीर पुनले मन्त्रालयमै ओछ्च्यान र भान्सा कोठा व्यवस्था गर्न कर्मचारीहरुलाई भनेका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको सपथ खाए लगत्तै केशरमहल स्थित नयाँ भवनमा पदवहाली गरेका मन्त्री पुनले आफूलाई मन्त्री क्वाटर, खादा माला, गार्ड केही नचाहिने बताए । आफू जहाँ काम गर्ने त्यही सुत्ने खाने गर्ने शैलीको भएको बताउँदै उनले कामलाई प्राथमिकता दिन त्यो शैली जरुरी रहेको बताए । 

‘मलाई सेवा सुविधा केही पनि चाहिन्न, म मन्त्रालयमा ओच्छ्यान लगाएर बस्ने हो’ उनले भने ‘मन्त्रालयभित्र किचेन होला, त्यहीँ पकाइ खाने, त्यहीँ सुत्ने, काम गर्ने ।’

सपथ लगत्तै विज्ञानका क्षेत्र आफ्नो प्राथमिकतामा रहने बताएका मन्त्री पुनले शिक्षाका विषयमा विज्ञका सुझाव लिएर काम गर्ने बताए । बजेट नभएकाले निःशुल्क शिक्षा कार्यान्वयन गर्न नसकिने बताउँदै उनले संसद भंग भएसँगै रोकिएको विद्यालय शिक्षा विधेयकको विषयमा थप छलफल गर्ने बताए । 

'विज्ञको सल्लाह विना केही गर्न सक्दिन' उनले भने 'विज्ञले नि:स्वार्थ सल्लाह दिनु होला ।' 

कर्मचारीहरुबाट खादा माला नलगाएका मन्त्री पुनले कर्मचारीले दिएको फुलको गुच्छा लिएर मन्त्रालय प्रवेश गेका थिए । विज्ञान सचिव विश्ववाबु पुडासैनीले संकोच मान्दै 'रुद्राक्षको माला लगाउँ कि नलगाउँ ?' भन्दै सोधेका थिए । मन्त्री पुनले 'अरु ठाउँमा पनि लगाएको छु लगाईदिनु' भने पछि बल्ल उनले उक्त माला लगाईदिए । 

पहिलो निर्णयमा आनाकानी 

पदवाहालीको औपचारिकता पुरा गर्न फाईल सदरको प्रकृयामा मन्त्री पुनले आनाकानी गरेका थिए । मन्त्रालयले पदवहालीका बेला विज्ञान प्रविधिको क्षेत्रमा सल्लाह सुझाव दिनका लागि चार वटा छुट्टा छुट्टै सल्लाहकार समिति बनाउने निर्णय तयार पारेको थियो । तर मन्त्री पुनले 'कामै नगर्ने समिति किन बनाउने ?" भन्दै प्रश्न सोधेका थिए । कर्मचारीले मुखामुख गरे पछि उनले फेरी 'बजेट छ ?' भनेर सोधेका थिए ।

मन्त्रालयका दुई सचिव पुडासैनी र चुडामणि पौडेलले औपचारिकताको प्रकृया बुझाए पछि बल्ल उनले हस्ताक्षर गरेका थिए । 

सपथ लगत्तै सञ्चारर्कीसँग उनले दिएको प्रतिकृया पढ्नुहोस् : शिक्षा पट्टीका कुरा अहिले बताउन चाहन्न : नवनियुक्त शिक्षा मन्त्री पुन

यो पनि पढ्नुहोस् : विज्ञानमा मात्रै रुची गरेका पुन शिक्षा मन्त्री

जेनजी विद्रोहको जगमा पूर्व प्रधानन्यायाधिस सुशीला कार्कीको नेतृत्वमा गठन भएको सरकारमा दोश्रो पटकको मन्त्रीमण्डल विस्तारमा पुन सहित अनील कुमार सिन्हा, उद्योग, वाणिज्य तथा आपूर्ति , भूमि व्यवस्था तथा सहकारी र गरिबी निवारण  र कानुन तथा संसदीय मामिला मन्त्री, डा. मदन परियार कृषि तथा पशुपंक्षी विकास र जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएका छन् । यस अघि नै डा. रामेश्वर खनाल अर्थ, ओम प्रकाश अर्याल गृह र कुलमान घिसिङ् उर्जा, जलश्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री भईसकेका छन् । 

जेनजी विद्रोहको पाँचौँ दिनमा गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो नियुक्तिको १० औं दिनमा आईतबार साँझ नयाँ मन्त्रीहरुको नाम टुङ्गो लगाएकी थिईन् । 

यस अघि स्वास्थ्य मन्त्रीका रुपमा नाम टुङ्गो लागेकी डा.संगीता कौशल मिश्राको नाम भने अन्तिममा काटिएको छ । स्वास्थ्यमन्त्री बन्न अतिरिक्त स्वास्थ्य सचिवबाट राजीनामा दिएकी मिश्रा स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा भएको स्वास्थ्य उपकरण खरिदमा अनियमितता भएको भन्दै अनुसन्धान चलिरहेकोले उनको नाम अन्तिममा काटिएको जनाईएको छ ।
 

प्रतिक्रिया