Edukhabar
सोमबार, ०६ असोज २०८२
गतिविधि

विज्ञानमा मात्रै रुची गरेका पुन शिक्षा मन्त्री

२०७४ सालमा दुई पटक बदलिएको शिक्षा मन्त्रालयको नाम फेरी बदल्दा गलत शन्देश जाने भनिए पछि बल्ल पुन शिक्षा मन्त्रालय सम्हाल्न तयार

सोमबार, ०६ असोज २०८२
एडुखबर फाईल फोटो

काठमाडौं - जेनजी विद्रोहको जगमा गठन भएको सरकारमा शिक्षा मन्त्रालयको जिम्मेवारी राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका वैज्ञानिक अनुसन्धाता महावीर पुनलाई तोकिएको छ । विद्रोहको पाँचौँ दिनमा गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले आफ्नो नियुक्तिको १० औं दिनमा आईतबार साँझ अबेर नयाँ मन्त्रीहरुको नाम टुङ्गो लगाएकी हुन् । 

नाम टुङ्ग्याउनु अघि भएको छलफलमा पुनले आफू विज्ञान मन्त्री हुने भए मात्रै हुने अरु मन्त्रालयमा चासो नभएको शन्देश कार्कीलाई पठाएका श्रोतले जनाएको छ । तर विज्ञान मन्त्रालय शिक्षामै रहेको र अहिलेको अवस्थामा मन्त्रालय टुक्र्याउँदा गलत शन्देश जाने भनिए पछि बल्ल पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्हाल्न राजि भएको उक्त श्रोतले जनाएको छ । 

'उहाँको जोड त विज्ञान मात्रैमा थियो तर, फरक राजनीतिक सन्दर्भमा गठन भएको सरकार भएकोले अहिले मन्त्रालय चलाउने कुरा गर्नु उचित हुँदैन भन्ने भए पछि उहाँ शिक्षा सहितको मन्त्रालय सम्हाल्न तयार हुनु भएको हो' उक्त श्रोतले भन्यो । 

संघीय सरकारमा २५ सदस्यीय भन्दा ठूलो मन्त्रिपरिषद् बनाउन नपाइने संवैधानिक ब्यवस्था छ । नयाँ संविधान बन्नु अघिको राजनीतिक अस्थिरताका बेला दलहरुले आफू अनुकुलका व्यक्ति मन्त्री बनाउन मनलाग्दी मन्त्रालय फोड्ने क्रम बढे पछि संविधानमै मन्त्रिपरिषद्को संख्या तोकिएको हो । २०७४ फागुन ११ गतेको मन्त्रीपरिषद्को बैठकले मन्त्रालयको संख्या ३० बाट घटाएर १८ मा झार्दा शिक्षा मन्त्रालयमा विज्ञान प्रविधि एवं युवा तथा खेलकुद मन्त्रालय गाभेर शिक्षा मन्त्रालयको नाम शिक्षा, विज्ञान प्रविधि एवं युवा तथा खेलकुद मन्त्रालय बनाईएको थियो । 

मधेसवादी दलहरुलाई समेत सरकारमा सहभागी गराउनु पर्ने भएको तर्क सहित सत्ताधारी दलहरुले एक महिना पनि नबित्दै मन्त्रालयलाई फेरी फुटाएर संख्या बढाउन सहमती गरेका थिए ।  २०७४ चैत २ गते बसेको मन्त्रीपरिषद् बैठकले शिक्षाबाट युवा तथा खेलकुदलाई निकाल्ने निर्णय गरेको थियो । त्यस यता बल्ल शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय भएको हो । उक्त बैठकले यो सहित सिँचाई र श्रम तथा रोजगार गरी तीन मन्त्रालय थप गरेको थियो । 

विद्यालयका शिक्षकहरु समेत मन्त्रालयका निकाय मातहत हुने हुँदा शिक्षामा तलै सम्म फैलिएको ठूलो कर्मचारी संरचना छ । तर, विज्ञानको संरचना केन्द्रमा मात्रै सिमित छ । 

विद्यार्थीका माध्यमबाट नागरिक तह सम्म फैलिएको शिक्षाको कार्यक्षेत्र पनि ठूलो छ । संघीयता अनुकुल आवश्यक कानून निर्माण नहुँदा शिक्षा क्षेत्र भने तदर्थमा चलिरहेको छ । 

विज्ञान तथा प्रविधिका क्षेत्रमा आफूलाई संलग्न गराउँदै आएका पुनले अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका छन् । २०११ माघ ९ गते म्याग्दीको नाङी गाउँमा जन्मेका पुनले शुरुमा १३ वर्ष सम्म शिक्षक भएर काम गरेका थिए ।

१३ बर्ष सम्म स्थायी शिक्षक भएर काम गरेपछि आफ्नो दिमाग 'बिग्रिएको र बहुलाएको' पुनले बताउने गरेका छन् । 

पढ्नुहोस् उक्त सन्दर्भ : महावीर पुन भन्छन् : १३ बर्ष स्थायी शिक्षक भए पछि म बहुलाएँ !

पछि अमेरिका पढ्न गएका उनी २०४९ सालमा नेपाल फर्केर आफ्नै गाउँमा शिक्षा तथा प्रविधिको पहुँच विस्तार गर्ने काममा संलग्न भएका थिए । 

दुर्गम क्षेत्रहरूमा ताररहित प्रविधिको प्रयोगमा उनले गरेको काम चर्चित छ । २०५८ सालमा उनले गरेको कामलाई बीबीसीले प्रचार गरिदिए पछि युरोप र अमेरिकाबाट विभिन्न दाताहरूले पुनलाई आर्थिक सहयोग गरेका थिए । त्यस पछि उनी नाङ्गी र राम्चे आसपासका गाउँहरूमा ताररहित इण्टरनेट सञ्चालन गर्न सफल भएका थिए।

उनको कामको सम्मान गर्दै नेपाल सरकारले नवप्रवर्तनका अभियन्ताका रुपमा २०७९ सालमा एक करोड रुपैयाँ राशीको भवन कीर्ति रत्न पुरस्कारबाट सम्मान गरेको थियो । विश्वका विभिन्न प्रतिष्ठित पुरस्कार प्रदान गरिएको छ । एसियाको नोबेल पुरस्कार भनिने ‘रोमन म्यागसेसे पुरस्कार’ समेत उनले पाएका छन् । 

सूचना तथा प्रविधि मार्फत देश विकास गर्ने उद्देश्य राखेर उनले २०६९ सालमा राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेका थिए । २०५९ सालदेखि बन्द अवस्थामा रहेको वीरगन्जस्थित कृषि औजार कारखानालाई पुनः सञ्चालनमा ल्याउँदै उनले विभिन्न औजारहरु निर्माण र आविष्कारका कामहरू गरिरहेका छन् । उनको केन्द्र स्थापनाका लागि सरकारले त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा परिषरमा ठाउँ दिएको छ ।

सम्भावनाहरूको खोज र आविष्कार गर्ने  उद्देश्यले स्थापना गरिएको उक्त केन्द्र मुनाफा रहित संस्था हो । केन्द्र सञ्चालनको खर्च जोहो गर्न उनले आफ्नो आत्मवृत्तान्त ‘महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’ बेचेर उठ्ने पैसा जम्मा गदै आएका छन् । उक्त केन्द्र मार्फत् काम गर्न आवश्यक बजेट विनियोजन गर्न उनले बारम्बार सरकारको ढोका ढकढक्याए पनि सफल हुन सकेका थिएनन् । 

र, अब उनी आफै सरकारमा पुगेका छन् । 

*अपडेट ...
यसैबिच पुनले यो समाचार पोष्ट भईसकेपछि आफ्नो पहिलो प्रतिकृया सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल मार्फत् उनले आफूलाई मन्त्री नभन्न आग्रह गर्दै फूल माला खादा नल्याउन भन्दै आफूलाई फोन गरेर बधाई नदिन पनि भनेका छन् । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच महिनाको अवधिमा गर्न सकिने र गर्नै पर्ने ठोस काम र आइडिया भए ह्वाट्स एपमा सेयर गर्न उनले आग्रह गरेका छन् । 

उनी सँगै कार्कीले अरु चार जना मन्त्रीको नाम टुङ्गो लगाएकी छन् । पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा र कृषि विज्ञ डा. मदन परियारलाई कार्कीले सिफारिस गरेकी हुन् ।

सिन्हाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । यस्तै यस अघि इमेज टिभीका समाचार प्रमुख रहेका खरेलललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि सिफारिस गरिएको छ । तत्कालीन राज्य पुनर्संरचनाका संयोजक समेत रहेका परियार कृषि विकास तथा पशुपंंछि मन्त्रालयका लागि सिफारिस गरिएको छ । 

यस अघि पहिलो पटक मन्त्रीपरिषद् विस्तार गर्दा अर्थमा रामेश्वर खनाल, उर्जा भौतिक योजनामा कुलमान घिसिङ्, गृहमा ओमप्रकाश अर्याल नियुक्त भईसकेका छन् । 

सामाजिक सञ्जालमाथि तत्कालिन केपी ओली सरकारले लगाएको प्रतिवन्धको विरोधबाट शुरु भएको जेन जीको अभियान भ्रष्टाचार, अनियमितता र बेथिति विरुद्ध केन्द्रित भएको थियो । उक्त आन्दोलन माथि सरकारले चरम दमन गरे सँगै चर्किएको विद्रोहले ओली सत्ताच्युत भएका थिए । भदौ २३ गते भएको प्रर्दशनमा सत्ताबाट भएको चरम दमनले १९ जना युवाको ज्यान गएको थियो । त्यसकै प्रतिशोधमा भोलिपल्ट युवाहरुले शुरु गरेको प्रर्दशन हुलदलंगामा बदलिएसँगै सरकारी निकाय, नेताहरुका घर, व्यापारिक भवन सहितमा अन्धाधुन्ध आक्रमण गरिएको थियो । 

प्रतिक्रिया