काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले अनलाइन खबरलाई दिएको अन्तर्वार्तामा विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटे राजनीतीकरण बन्द हुने बताएका छन् । त्यस्तै, अघिल्लो साता शिक्षकले दलका कुनै पनि गतिविधिमा संलग्न भए कारवाही गर्न कुनै कसर बाँकी नराख्ने भनेका मन्त्री पुनले बोली फेर्दै संविधानले नै दिएको ट्रेड युनियन अधिकार आफूले खोस्न खोजेको नभइ विद्यालय समय १० देखि ४ बजे भित्र राजनीतिक प्रचार नगर्न मात्रै शिक्षकहरुलाई अनुरोध गरेको बताएका छन् । शैक्षिक वातावरण नबिगार्ने गरी राजनीति गर्न मन्त्रीको आग्रह छ ।
सोही अन्तर्वार्तामा स्थानीय तहले विद्यालयमा प्रधानाध्यापक अयोग्य राखेकै कारण विद्यालय शिक्षा कमजोर भएको मन्त्रीको बुझाई उजागार भएको छ । अर्को एक प्रश्नमा मन्त्री पुनले ‘केही सिप नलागेपछि आन्दोलन एउटा उपाय हो नि । त्यसकारण अभिभावक, शिक्षक सबैलाई स्थानीय सरकारले अचाक्ली ग¥यो भने, मनपरी ग¥यो भने धर्ना बस, आन्दोलन गर भनेको हो’ भनेका छन् ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका सेवामा पक्षपात गरेको भनेर मन्त्री पुनले भनेको समाचार छ ।
मन्त्रालयले विश्वविद्यालय स्थापना र सञ्चालान गर्ने मापदण्ड सम्बन्धी विधेयक परिमार्जन गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको समाचार छ । यो कार्यदलले विश्वविद्यालय स्थापना र सञ्चालन सम्बन्धी मापदण्ड विधेयकलाई थप परिस्कृत गर्ने छ ।
यसैगरी विश्वविद्यालय सुधार गर्न दलीय हस्तक्षेप हुने अवस्था घटाउन विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति र शिक्षा मन्त्री सहकुलपति हुने प्रावधान हटाइ विश्वविद्यालय चलाउन बोर्ड अफ ट्रष्टीको व्यवस्था गर्ने माग पूर्वउपकुलपतिहरूको रहेको समाचार छ ।
विमर्श दाहालले कान्तिपुरमा सामाजिक डच डिजिज शीर्षकमा लेखेको लेखमा विश्वविद्यालयले कहिलेकाहीं राजनीतिक मात्र होइन, लोकतान्त्रिक चेतनाका नायकहरू पनि जन्माउने, तर त्रिविमा हाल त्यस्तो वातावरण नभएको उल्लेख छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को आयोजक नेपाल क्रिकेट संघ (क्यान) सँग त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी कोष र केन्द्रीय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले २५ लाख रुपैयाँ चन्दा लिने सम्झौता गरेको समाचार कान्तिपुरमा छ । विभिन्न राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठन, तीनका नेता र स्ववियुको दबाबमा त्रिवि कार्यकारी परिषद्लगायत आधिकारिक निकायहरूलाई जानकारी नै नदिई उक्त सम्झौता भएको समाचारमा उल्लेख छ । समाचार अनुसार त्रिविको जग्गा संघले वार्षिक ९ लाख भाडामा लिएर खेल आयोजना गर्दै आएको छ । विद्यार्थी सम्बद्ध संस्थाहरुले गरेको सम्झौता भएको २५ लाख वार्षिक भाडा ९ लाखभन्दा अतिरिक्त रकम हो ।
त्यस्तै त्रिभुवन विश्वविद्यालयको जग्गा मिच्नेमाथि अनुसन्धान खोजबिन समितिको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको अघिल्लो साताको समाचार गत साता पनि मिडियामा छ ।
यो विषयमा वसन्त बस्नेतले अलनाइन खबरमा अघिल्ला मन्त्रीहरूले चाहेर पनि गर्न नसकेको, अझ कतिले त चाहँदा समेत नचाहेको विषय पार लगाउन मन्त्री पुन सुरिएको भिडियो सामग्री प्रशारण गरेका छन् ।
एमबिबिएसमा अध्ययनरत विद्यार्थीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालयमा तोडफोड गरेका छन् । दोस्रो वर्षको परीक्षा उत्तीर्ण नहुँदै तेस्रो वर्षमा अध्ययन गर्न पाउनुपर्ने माग गर्दा त्रिवि व्यवस्थापनले बेवास्ता गरेको अरोप लगाउँदै उनीहरूले उपकुलपति प्रा.डा. दीपक अर्यालको कार्यालय तोडफोड गरेको समाचारमा उल्लेख छ ।
आफ्नो कुराको सुनुवाइका लागि दवाब दिने शान्तिपूर्ण तरिका दशौं हुन सक्छन् । यो घटनाले एमविविएसका विद्यार्थी अर्थात भविष्यका चिकित्सक, विरामीको उपचार गर्ने व्यक्तिको चरित्र उजागार गर्छ । आफ्नो माग सुनुवाइ नहुँदैमा तोडफोड गर्ने जमात भविष्यका चिकित्सक भन्ने थाह पाउँदा भविष्यका विरामीले अहिल्यै आत्तिनु पर्ने विडम्बना बनेको छ ।
लहान नगरपालिकाको श्रीबस्तीपुर माध्यमिक विद्यालय बस्तीपुरको नाजुक शैक्षिक अवस्था सुधार हुन थालेको छ । विद्यालयका अभिभावकको माग अनुसार वडाध्यक्ष धनिकलाल यादवको अगुवाइमा त्यस विद्यालयबाट पाँच जना शिक्षकको सरुवा गरेपछि विद्यालयको मुहार फेरिन थालेको र शैक्षिक सुधार देखिन थालेको समाचारमा उल्लेख छ । प्रधानाध्यापक सहित पाँच जना शिक्षकलाई अन्यत्र सरुवा गराइ नयाँ शिक्षक ल्याएपछि केही महिनामा नै विद्यालयको अवस्थामा निकै सुधार आउन थालेको स्थानीय अभिभावकले बताएको समाचार छ ।
बैतडीमा शैक्षिक सत्रको बिचमा एकै नगरपालिका भित्रका १० वटा विद्यालय मर्ज भएका छन् । बसाइँसराइ लगायतका कारणले विद्यार्थी सङ्ख्या कम भएपछि मेलौली नगरपालिकाले १० वटा आधारभूत विद्यालय मर्ज गरेको समाचारमा उल्लेख छ ।
चकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह अन्तर्गत विभिन्न विधातर्फ प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । एमबिबिएस, बिएस्सी नर्सिङ, बिडिएस, मिडवाइपफ्री, बिएनएस, बिएमएस, बिएएमएस, बि अप्टोमेट्री लगायतका विषयको सर्वजनिक गरेको नतिजामा सात हजार पाँच सय २९ जनाको नाम प्रकाशित गरिएको छ । आयोगले ४४ दशमलब २५ स्कोर भन्दा बढी ल्याएका विद्यार्थीको नाम प्रकाशन गरेको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)को शैक्षिक प्रमाणपत्रमा क्यूआर कोड समावेश हुने सम्बन्धी सूचना निकालेको छ । कार्यालयबाट आइटिएमएस र अनलाइनबाट जारी हुने डिप्लोमा र प्रमाणपत्र तहको ट्रान्सक्रिप्टमा र प्रि–डिप्लोमा तहको मूल प्रमाणपत्रमा क्यूआर कोड समावेश गरीने समाचार छ । त्यस्तै, सीटीईभीटी अन्तर्गत हेटौँडा स्थित नेपाल–भारत मैत्री बहुप्राविधिक शिक्षालयमा सञ्चालन गरिएको परीक्षामा पुरानो प्रश्न पत्र वितरण भएपछि सो परीक्षा रद्द गरिएको समाचार छ । केन्द्राध्यक्ष र बाह्य सहायकको लापरबाहीका कारण पुरानो प्रश्नपत्र परीक्षार्थीलाई वितरण गरिएको भन्दै सबै परीक्षा रद्द गरिएको समाचारमा उल्लेख छ ।
उच्च शिक्षा अध्यननको नाममा संयुक्त अरब इमिरेट्स (युएई) पुगेका विद्यार्थी ठगिएका छन् । युएईमा सामान्य कोठा वा फल्याट भाडामा चलाएको ट्युशन सेण्टरमा राखेपछि विद्यार्थीले आफू ठगिएको थाहा पाएको समाचार छ । त्यस्तो संस्थामा नेपालकै केही परामर्श व्यवसायीको पनि लगानी हुन सक्ने भन्दै मन्त्रालयले छानबिन सुरु गरेको समाचारमा जनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा रौतहटको जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सञ्जय प्रसाद विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको समाचार छ । करारमा शिक्षक नियुक्ति गरिदिने भन्दै चार लाख ५० हजार रुपैयाँ घुस लिएको पाइएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको समाचारमा उल्लेख छ ।
साताभरिका शैक्षिक विषयवस्तुको सामाजिक न्याय र सिर्जनशील शिक्षण विधिका दृष्टिबाट वर्गीकरण र संश्लेषण गरी सान्दर्भिक टिप्पणी सहित नीति निर्माता एवं सरोकारवालाहरुलाई शैक्षिक समाचारको सार उपलब्ध गराउनु यसको उद्देश्य हो । शिक्षा नीति तथा अभ्यास केन्द्र र एडुखबरको संयुक्त प्रयासमा दैनिक पत्रिकाहरु कान्तिपुर, गोरखापत्र र दि हिमालयन टाईम्स, न्यूज पोर्टलहरु अनलाईन खबर, सेतोपाटी र रातोपाटी अनि हिमालय टिभिको बेलुका ७ र नेपाल टेलिभिजनको बेलुका ८ बजेको समाचारलाई यसमा समेटिन्छ । यस पटक २०८२ कात्तिक २९ देखि मंसिर ५ गते सम्मका विषयवस्तु समेटेका छौं – सम्पादक ।
गत साताका सामग्री पढ्नुहोस् : शिक्षामा गत साता
प्रतिक्रिया