Edukhabar
आइतबार, ३१ साउन २०८३
गतिविधि

नेपाली विद्यार्थीसँगै नाचे अमेरिकी र ब्राजिलियन पनि

शुक्रबार, २४ मंसिर २०७३

भक्तपुर - अमेरिका र ब्राजिलबाट आएका डेढदर्जन विद्यार्थी नेपाली विद्यार्थीसँग कुममा कुम मिलाएर नाचेका छन् । अमेरिकाको सेन्टमेरिज् क्याथोलिक स्कूलको कक्षा ११ र १२ मा पढिरहेका ती विद्यार्थी नेपाली गीतमा छमछमी नाचेका थिए । भक्तपुरको कमलविनायकस्थित रोम्बस नेशनल स्कुलमा आयोजित सांस्कृतिक आदानप्रदान कार्यक्रममा उनीहरु सँगसँगै नाचेका हुन् ।

सो कार्यक्रममा रोम्बसका विद्यार्थीले २ वटा गीत र ३ वटा नृत्य प्रस्तुत गरेका थिए भने अमेरिकी र ब्राजिलका विद्यार्थीले ३ वटा नाटक, १ नृत्य र १ गीत प्रस्तुत गरेका थिए । घुम्ने उद्देश्यका साथ नेपाल आएका ती विद्यार्थीले नेपाली विद्यार्थीसँग नाच्न पाउँदा खुसी लागेको बताए ।

उनीहरुले नेपाली विद्यार्थी प्रतिभावान् भएकोले विद्यार्थीको प्रतिभाको कदर गर्नुपर्ने बताउँदै विद्यालयहरुले समयसमयमा विभिन्न क्रियाकलाप र प्रतियोगिता गर्नपर्ने आवश्यकता औंल्याए ।

विद्यार्थीको उक्त प्रतिभा हेरेका जिल्ला शिक्षा कार्यालय भक्तपुरका विद्यालय निरीक्षक विमलप्रसाद निरौलाले अन्तरदेशीय सांस्कृतिक गतिविधि मार्फत् विद्यार्थीको सिर्जनात्मक अभिव्यक्तिलाई उजागर गर्न सकिने बताए भने विद्यालयका प्रिन्सिपल राजेन्द्र कोजूले विद्यार्थीको प्रस्तुतिले सम्बन्धलाई मजबुत बनाउन सहयोग मिलेको बताए ।

सोही अवसरमा उनीहरुले शिक्षा र शिक्षकबारे अन्तरक्रिया पनि गरेका थिए ।

प्रतिक्रिया