Edukhabar
आइतबार, ३१ साउन २०८३
गतिविधि

पार्टीका अध्यक्ष सोध्छन् : शिक्षा कतै कुखुरा बनाउने त छैन ?

शनिबार, २८ फागुन २०७३

भक्तपुर - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छेंले विद्यालयका सञ्चालक, प्रअ, शिक्षक, कर्मचारीलाई विद्यार्थीबारेमा प्रश्न गरेका छन् । पार्टी निकट निजी विद्यालयहरुको छाता संगठन संस्थागत विद्यालय संघ नेपाल (इसान) को छैटौं साधारणसभामा बोल्दै अध्यक्ष बिजुक्छेंले प्रश्न गरे, ‘हामीले अहिलेदेखि नै हाम्रा विद्यार्थीलाई देशभक्तीको कुरा सिकाएनौं भने भोलि पछुताउनुपर्ने हुन्छ, यसैले कतै हामीले कुखुरा बनाउने शिक्षा त दिइरहेका छैनौं ?’

देशबाट दैनिक १ हजार २ सयदेखि १ हजार ५ सय सम्म युवाहरु विदेश गइरहेको प्रसंग उठाउँदै उनले विद्यालयहरु कुखुरा उत्पादन गर्ने कारखानाजस्तै बनिरहेकोले सो विषयमा शिक्षक र प्रिन्सिपलले समयमै सोच्नुपर्ने पनि बताए । देशभक्तीको कुरा नसिकाए हामीले दिइरहेको शिक्षाले विद्यार्थी उत्पादन नभएर कुखुरा उत्पादन गरेजस्तै हुने भनाइ राख्दै उनले भने, ‘ हामी चल्ला उत्पादन गर्छाैं, पाल्छौं, अनि बेच्दिन्छौं, त्यसले हामीले पठाएको कुखुरा बनाउनुजस्तै हुन्छ ।’

उनले देशको समसामयिक राजनीतिबारे विद्याथीलाई जानकारी दिन शिक्षकसँग आग्रह गर्दै नयाँ पुस्तामा देशभक्ती भावनाको कमी हुनुमा शिक्षाकै कमजोरी रहेको औंल्याए । सोही अवसरमा अभिभावक संघ नेपालका संस्थापक अध्यक्ष एवं निवर्तमान अध्यक्ष सुप्रभात भण्डारीले निमुखा तथा निम्न आय भएका विद्यार्थीका लागि पनि गुणस्तरीय शिक्षा दिने उद्देश्यले स्थापना भएको इसानलाई शुभकामना दिँदै शिक्षामा विभेद हुनुमा राज्यकै कमजोरी रहेको बताए ।

उनले शिक्षामा लगानी गर्ने विद्यालय सञ्चालकहरुकै कारण विभिन्न विकृति र विसंगति आएको बताउँदै नेपालको शिक्षा नीतिमा थुप्रै खोट रहँदा गुणस्तरीय शिक्षाका लागि अवरोध सिर्जना भएको बताए ।

प्राध्यापक समाज नेपालका अध्यक्ष सरोजराज गोसाइँ, इसान काठमाडौंका अध्यक्ष सनकमान महर्जन, इसानका महासचिव पुरुषोत्तम ग्वाछाले राज्यले शिक्षाको दायित्व नलिएसम्म शिक्षामा विभेद भइरहने चर्चा गर्दै इसानमा कम शुल्कमा गुणस्तरीय शिक्षा दिने नीति अवलम्बन गर्ने विद्यालयहरु सदस्य रहेको बताएका थिए ।

कार्यक्रममा इसानका अध्यक्ष प्रेमजन थापा र उपाध्यक्ष सुरेन्द्रराज गोसाइँले शिक्षालाई राज्यले प्राथमिकतामा नराखेको उल्लेख गर्दै सरकारको आलोचना गरेका थिए । इसानमा अहिले ३० विद्यालय सदस्य रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया