Edukhabar
मंगलबार, २९ बैशाख २०८३
गतिविधि

चुनावका बेला विद्यालय बन्दको प्रस्ताव : मानव अधिकार आयोगको ध्यानाकर्षण

आइतबार, २० चैत्र २०७३

काठमाडौं - चुनावका बेला विद्यालय बन्द गर्ने निर्वाचन आयोगको प्रस्तावले बालबालिकाको पढ्न पाउने अधिकार हनन् हुने ठहर गर्दै बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ  । अभियानको अगुवाईमा नागरिक समाजको तर्फबाट आयोगकी सदस्य मोहना अन्सारीलाई ज्ञापन पत्र सहित उक्त ध्यानाकर्षण गराईएको हो । अभियानका अध्यक्ष कृष्ण सुवेदीले हस्तान्तरण गरेको उक्त ध्यानाकर्षण पत्रमा बैशाख २६ देखि ३१ गतेसम्म विद्यालय बन्द गरिने निर्वाचन आयोगको प्रस्तावको स्मरण गर्दै उक्त विषयमा आयोगले निर्वाचन आयोग, शिक्षा मन्त्रालय र शिक्षा विभागलाई ध्यानाकर्षण सहितको पत्राचार गर्न आग्रह गरिएको छ ।

'नेपाल सरकारले बालबालिका सम्बन्धि महासन्धिलाई अनुमोदन गरिसकेको साथै नेपाल सरकारले बालबालिका तथा विद्यालय शान्ति क्षेत्र घोषणा गरि “विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८”जारी गरिसकेको व्यहोरा अवगत गराउन चाहन्छौ' ध्यानाकर्षण पत्रमा भनिएको छ, 'तर केही प्रमुख राजनितिक दलहरुले आफ्नो चुनावप्रचार प्रसारका क्रममा निर्वाचन आचार सहिंता उल्घँन गरि बालबालिका तथा विद्यालयलाई प्रयोग गरेको कुरा विगतका अनुगमनले पनि देखाएको हुदाँ मानवअधिकार आयोगले गर्ने अनुगमनमा बालबालिका केन्द्रित अनुगमन पनि गर्नु हुन् र निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद— २ अन्र्तगत उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणमा उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने सामान्य आचरणको (ड) मा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने भनी किटान गरिए बमोजिम सो दफाको कार्यान्वयनका लागि आफ्ना मातहतका कार्यालयलाई निर्देशन दिनु हुन तथा अन्य सरकारी निकायहरु साथै संवैधानिक निकायहरुसँग आचारसंहिता कार्वान्वयनका लागि आवश्यक पहल गरिदिनु हुन अनुरोध गर्दछौं ।'

अभियानले मतदान केन्द्र रहने विद्यालयहरुको हकमा बढिमा पाँच दिन र मतदान केन्द्र नरहने विद्यालय भने निर्वाचनको एक दिन मात्र बन्द हुने व्यवस्था गरी बालबालिकाको शैक्षणिक गतिविधि सुचारु गर्न माग गर्दै आएको छ । मतदान केन्द्र निर्धारण गर्दा सकेसम्म वैकल्पिक स्थान छनौट गरी विद्यालयलाई कम प्रयोग गर्न तथा निर्वाचन आयोगले संचालन गर्ने निर्वाचनको क्रममा मानव संशाधन परिचालन गर्दा वैकल्पिक उपाय अपनाई शिक्षक परिचालनमा कमी गर्न अभियानको माग छ ।

अभियानले यस अघि पनि विभिन्न निकायलाई यो विषयमाथि ध्यानाकर्षण गराउँदै आएको छ ।

पढ्नुहोस् : चुनावमा बन्द हुने विद्यालयहरु अन्य विदामा समायोजन गरिने, शिक्षक परिचालन कम गर्न ध्यानाकर्षण

प्रतिक्रिया