Edukhabar
आइतबार, २३ बैशाख २०८१
खबर/फिचर

अस्थायी शिक्षकको परीक्षा सर्ने कुरा 'हल्ला' मात्रै : आयोग अध्यक्ष गौतम

सोमबार, ३० साउन २०७४

भक्तपुर - भदौ ३ गतेका लागि तय भएको अस्थायी शिक्षकको परीक्षाको तयारी दु्रत गतिमा जारी रहेकोले परीक्षा सर्ने भन्ने विभिन्न 'हल्ला' को पछि नलाग्न शिक्षक सेवा आयोगले आग्रह गरेको छ । परीक्षा स्थगित गर्ने तयारी भएको भन्दै आएका कुरा 'हल्ला' मात्रै भएको आयोगले स्पष्ट पारेको छ ।

पहिल्यै तोकिए अनुसारका काम उही रफ्तारमा जारी रहेकोले कुनै पनि अर्नगल हल्लाका पछि नलाग्न आयोगका अध्यक्ष ताना गौतमले आग्रह गरेका छन् ।

'शिक्षा ऐनमा भएको ब्यवस्था अनुसार हामी परीक्षाको तयारीमा जुटेका हौं, यो पहिल्यै तोकिएको कुरा हो' एडुखबरसँग कुरा गर्दै गौतमले भने, 'यो एक दुई जनाको हितका लागि गर्न खोजिएको काम हैन, बहुसंख्यक अस्थायी शिक्षकको हितमा भएको काम हो, त्यसैले हामी हाम्रो काममा जुटिरहेका छौं ।'

शिक्षक सेवा आयोगले तय गरेको परीक्षामा फेल भएपनि सुविधा पाउनु पर्ने र भदौ ३ को परीक्षाको मिति सार्नु पर्ने लगायतका माग सहित अस्थायी शिक्षक आमरण अनसनमा छन् ।

यस अघि अनसनमा बसेका अस्थायी शिक्षकसँग शिक्षा मन्त्री गोपालमान श्रेष्ठको उपस्थितीमा लिखित परीक्षामा अनुतिर्ण भएपनि सुविधा दिने गरी गत असार ९ गते भएको ४ बुँदे सहमती कार्यान्वयन गर्न उनीहरुको माग छ । मन्त्रालय र आन्दोलनरत शिक्षकबीच भएको उक्त वार्ताको क्रममा औषधि उपचार र गोल्डेन ह्याण्डसेक समेत दिने गरी शिक्षा ऐन संशोधन गर्ने प्रक्रिया अघि बढाउने सहमति भएको थियो । यसअघि परीक्षा वा सुविधा रोज्नु पर्ने ऐनमा व्यवस्था गरिएको थियो । यो सहमतिमा परीक्षामा अनुतिर्ण भएपनि सुविधा पाउने प्रावधान राखिएको छ । तर उक्त सहमतीमा भदौ ३ मा हुने परीक्षाका बारेमा केही उल्लेख गरिएको थिएन ।

उक्त सहमतिका विरुद्ध हुने गरी आयोगले परीक्षाको तयारी गरेको भन्दै उनीहरु फेरी अनसनमा बसेका हुन् । साउन १८ देखि अनसनरत अस्थायी शिक्षक द्धय विष्णुहरि दुनुवार र किसुनप्रसाद यादवको स्वास्थ्य खस्कदोँ छ ।

शिक्षा ऐन आठौं संशोधनमै एक बर्ष भित्र परीक्षा लिने व्यवस्था गर्नु पर्ने प्रावधान अनुसार आयोगले विज्ञापन गरेको हो । सुविधा छाडेर परीक्षा रोजेका १५ हजार ६ सय ९७ जना अस्थायी शिक्षक परीक्षाको तयारीमा जुटिरहेका छन् ।

आफूहरु कानुन अनुसार नै अघि बढेको भन्दै परीक्षाको अन्तिम तयारीमा जुटेको गौतमले बताए । परीक्षा केन्द्रमा लैजाने सामग्रीहरुको प्याकिङ् सकिएको र तत्काल ती सामग्री पठाउने तयारी भएको उनले बताए ।

'यही बिचमा बाढी र पहिरोले बाधा आउँछ की जस्तो भएको थियो' उनले भने 'अव मौसममा सुधार आएको छ, तोकिएका परीक्षा केन्द्रमा कुनै समस्या नभएको प्रारम्भिक जानकारी प्राप्त गरेका छौं ।'

 बाढी र पहिरोलाई आधार मानेर परीक्षा सार्ने बारेमा छलफल भएपनि आयोगले ऐनमै भएको ब्यवस्था अनुसार भएको कार्य रोक्न नसकिने अडान लिएपछि मन्त्रालय पनि पछि हटेको मन्त्रालय श्रोतले जनाएको छ ।

आयोगका अनुसार सुविधा त्यागेर परीक्षा रोज्ने १५ हजार ६ सय ९७ मध्ये १० हजार ४ सय ३२ जनाले प्रावि, २ हजार ७ सय ९७ निमावि र २ हजार ४ सय ६८ जना माविका अस्थायी शिक्षक छन् ।

प्रतिक्रिया