Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तर्वार्ता

+ २ को ढिलो नतिजाले हाम्रो क्यालेण्डर बिग्रियोः केशवराज बास्तोला

बुधबार, १६ भदौ २०७२

परीक्षा नियन्त्रक, त्रिभुवन विश्वविद्यालय

काठमाडौं १६ भदौ / कम्तीमा १३ महिना लाग्ने त्रिभुवन विश्वविद्यालयको नतिजा प्रकाशन सुधार भएर ९/१० महिनामा आएको दावी गर्छन् त्रिविका परीक्षा नियन्त्रक केशबराज बास्तोला । १३ महिनाबाट घटेर १० महिनामा आउनु सुधार होला तर विद्यार्थीका लागि यो पनि न्याय होइन । त्रिविको ढिलो नतिजाले त्यस भन्दा माथिल्लो तहको अध्ययन गर्न चाहने विद्यार्थी एक वर्ष समय लस गरिरहेका छन् भने विदेश जान चाहने विद्यार्थीले प्रमाणपत्र पाउन सकेका छैनन् । नतिजाको सेरोफेरोमा परीक्षा नियन्त्रक बास्तोला सित श्याम दाहालले गरेको कुराकानी : 

- इमानदार भएर भन्दा त्रिविको रिजल्ट निकाल्ने शैली प्रति परीक्षा नियन्त्रकका रुपमा तपाइँ चै सन्तुष्ट हुनुहुन्छ ?

छैन । ३ वर्षे कोर्ष भनेर पढे पनि साढे ५ वर्षमा नि त्यो पुरा हुँदैन । भर्ना भएको १६/१७ महिना परिक्षा हुने अनि त्यहि अनुरुप ढिलो रिजल्ट आउने समय लम्बिदैं जान्छ । यसले विद्यार्थीलाई पास आउट हुन सोचे भन्दा धेरै समय लाग्छ । म असन्तुष्ट भएकै कारण महिनौँ लाग्ने नतिजा प्रकाशनको काम ९/१० महिनामै निकाल्ने प्रयास गरेको छु । निस्केको छ ।

- नतिजा निकाल्न त्रिविलाई किन यस्तो सकस परेको ?

हामीलाई केही सकस परेको छैन । हामीले त समयमा नै निकालेका छौं ।

- ए, सकस नपरेर जम्मा ९/१० महिना लागेको ?

होइन । २०६४ सालदेखि त्रिविको क्यालेन्डर विग्रेकोले स्नातकोत्तरको क्यालेण्डर मिलाउनका निमित्त स्नातकमा पनि मिलाउनु पर्छ । त्यसलाई मिलाउनका निमित्त हामीले चाँडो रिजल्ट निकालेका हौं । त्यो रिजल्ट निकाल्दा पनि विभिन्न कलेजहरुले विरोध जनाइरहेका थिए “एकैचोटी यि दुईवटा व्याजको विद्यार्थीलाई कहाँ पठाउने भनेर” त्यहि भएर केही महिनाको अन्तरालमा हामीले रिजल्ट निकालेका हौ जसले गर्दा २०६८ सालमा भर्ना भएका विद्यार्थीलाई ६ महिना जति कुर्नु परेको हो र त्यो हाम्रो गल्ती हो ।

- त्यसरी निकालेको रिजल्ट ‘टाइम आउट‘ होइन ?

होइन, इन टाइम भन्नुस् ।

- इन टाइम रिजल्ट भएको भए त विद्यार्थी स्नातकोत्तरमा भर्ना हुनुपर्ने होइन त्यो त भएन, अनि कसरी इन टाइम ?

विद्यार्थी भर्ना हाम्रो सरोकार होइन । हाम्रो भनेको समयमा अर्थात जाचँ सुरु भएको दश महिनामा रिजल्ट निकाल्ने हो र त्यो हामीले ग¥यौं । अरु बेला रिजल्ट निकाल्न १२÷१३ महिना लाग्थ्यो तर म आएपछि १० महिनामा निकाल्न थाल्यौं । हाम्रो स्नातकोत्तरको ऐकेडेमिक सेसन मिलाउने नाममा आउट पुट नभएको मान्छेलाई हाल्न मिलेन । स्नातक पास गरेका विद्यार्थीलाई हाल्नु प¥र्यो । त्यहि भएर हामीले छिटो रिजल्ट निकाल्यौं जस्ले गर्दा विद्यार्थीको केही समय लस भएको हो । उनिहरुलाई ४÷५ महिना खाली राख्ने बाहेक अरु केही विकल्प नरहेको हो ।

- तपाईले चैँ ‘९/१० महिना मै‘ रिजल्ट निकाल्न के त्यस्तो काम गर्नु भयो ?

खास कुरा त्रिविलाई हेप्ने प्रवृत्ति रहेछ । उत्तर पुस्तिका चेक गर्ने शिक्षक, प्रोफेसरले त्रिविको उत्तरपुस्तिका त हो जहिले दिदाँ नि हुन्छ भनेर उत्तर पुस्तिका घरमा राखेर विभिन्न देशको भ्रमण गर्न जाने जस्ले गर्दा रिजल्ट ढिलो आउने गर्दो रहेछ । एक जना वरिष्ठ प्रोफेसरले उत्तर पुस्तिका घर लगेर ताइवानको सयर गर्न जानुभएको रहेछ अनि धेरै समय सम्म उत्तरपुस्तिका नआएपछि मैले उहाँको घरमा फोन गरेर उत्तरपुस्तिका कार्यलय ल्याए । अर्को चैं पैसाको चलखेल रहेछ,  स्नातक स्तरको उत्तरपुस्तिका जाँच गरे वापत २० रुपैंया आउँदो रहेछ , मैले त्यसलाई ३५ बनाइदिएँ ।

स्नातकोत्तरतहको जाँच गरेवापत २५ रहेछ, त्यसलाई ४०/४५ को हाराहारीमा बढाइदिएँ । जस्ले गर्दा उत्तरपुस्तिका समयमा आउने गरेको छ । आन्तरिक प्रक्रियाका कारणले गर्दापनि समय लाग्ने रहेछ । आन्तरिक प्रकृया अलिक लामो छ । उत्तरपुस्तिका स्कुटिङ्नी गरेकाहरुले पनि पैसा वढाउन माग गर्दै छन् जस्ले गर्दा अलिक गाह्रो भइरहेको छ । उनीहरुको मागलाई पुरा गरेपछि समयमा नै रिजल्ट निस्किने छ । 

- तपाईको विचारमा त्रिविको रिजल्ट कति समय सम्ममा आउँदा ठिक होला ?

१ वर्ष भित्रमा आए कुनै विद्यार्थीले दुः ख पाउनु पर्दैन थियो । यदि शैक्षिक क्यालेण्डरमा भने अरुप हुने हो भने ८ महिनामा परिक्षा गराउथ्यौं र ४ महिनापछि रिजल्ट निकाल्थ्यौं । यसरी गर्न सकियो भने ३ वर्षे कोर्ष ३ वर्ष भित्र सकिन्छ र हाम्रो लक्ष्य पनि त्यहि हो । पहिलेको नीतिमा १० महिना भित्र रहेछ त्यसलाई सदनबाट पारित गराएर ८ महिना गराउने लक्ष्य छ यदि कहीँबाट अवरोध भएन भने ।

- अवरोध भनेको राजनीतिक ? यस्तो हस्तक्षेप भएन भने त्रिविले समयमा रिजल्ट निकाल्छ ?

राजनीतिक हस्तक्षेप भन्दा पनि उनिहरुको कार्यविधी भनौँ । उनिहरुले गरेको बन्द, हड्ताल लगायतका कार्यक्रमहरुले विभिन्न ठाउँमा उत्तर पुस्तिका पु¥याउन गाह्रो हुने गरेको छ । जस्ले गर्दा अवश्यनै समयमा कपि चेक नहुने र रिजल्ट निस्किन समय लाग्ने गर्छ ।

- पछिल्लो स्नातक तेस्रो वर्षको नतिजा कहिले निस्कन्छ ?

दशैं अगाडी । हामी दशैं अगाडि त्यो नतिजा निकाल्ने गरी काम गरिरहेका छौं ।

- त्रिविको शैक्षिक क्यालेण्डरको पालना बारे भन्नु भयो, किन लागू हुन नसकेको क्यालेन्डर ?

हाम्रो श्रोत अरुमा आश्रित छ । हामी उच्च माध्यमिक विद्यालय सित निर्भर छौं । उच्च माध्यमिक शिक्षा परिषद्ले रिजल्ट निकाले पछि मात्र हाम्रोमा विद्यार्थी आउने भएकाले हामीले मंसिर सम्म कुर्नु परेको हो । उमाविको रिजल्ट असोजमा निस्किने भएकाले त्यसको १ महिनापछि पढाई सुरु हुन्छ जस्ले गर्दा त्रिविको क्यालेण्डर पनि त्यहि अनुसार चलिरहेको छ ।

- समयमै नतिजा नकाल्न के सुधार जरुरी छ ?

पहिले त ४ वटा क्षेत्रिय अफिसहरुमा कर्मचारीको आवश्यकता छ । २०७० सालमा आवेदन खुलाइएको थियो तर सरकारी हस्तक्षेपका कारण कर्मचारी नियुक्ति हुन सकेका छैनन् । अर्को भवनको अभाव, जस्ले गर्दा आवश्यक ठाउँ नभएर काम गर्न गाह्रो भइरहेको छ । अनि विभिन्न पार्टीको भागवण्डाले गर्दा दक्ष कर्मचारीहरुको अभाव भएको छ ।

प्रतिक्रिया