Edukhabar
शनिबार, २९ बैशाख २०८१
विचार / विमर्श

शिक्षा दिवस : शिक्षक तथा विद्यार्थीको अपमान !

मंगलबार, २७ भदौ २०७४

यस बर्षको शिक्षा दिवस विगत बर्षहरु भन्दा फरक रह्यो । विद्यालयहरुलाई दिईने पुरस्कारमा चित्त नबुझेर परेको मुद्धामा पाटन उच्च अदालतले गरेको फैसलाले विद्यालयहरुलाई पुरस्कार प्रदान गरिने दिवसको औपचारिक कार्यक्रम अन्तिममा आएर शिक्षा मन्त्रालयले स्थगित गर्यो ।

तै पनि गत भदौ २३ गते परेको ३८ औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा राष्ट्रपतिबाट प्रदान हुने पदकहरु प्रदान भए । शिक्षा कार्यालय तथा जिल्ला शिक्षा समितिको आयोजनामा विभिन्न कार्यक्रमहरु भए । विभिन्न संघ संस्था तथा विद्यालयहरूले आ–आफ्नै सक्रियतामा साहित्यिक तथा विद्यार्थीका प्रतिभा प्रस्फुटन कार्यक्रम गरी पुरस्कार वितरण समेत गरेको समाचार पढ्न सुन्न पाईयो ।

वर्षमा एक दिन मनाउने शिक्षा दिवसले शिक्षाको क्षेत्रमा लाग्ने सम्पूर्ण सरोकारवालालाई समेट्न सक्यो वा सकेन ?

यस आलेखमा उक्त कोणबाट चर्चा गर्न खोजिएको छ ।

नेपालका अधिकांश क्षेत्रमा शिक्षा दिवसको कुनै प्रभाव पर्न सकेन । शिक्षा मन्त्रालय मातहतका जिल्ला तहका कार्यालय तथा कार्यालय पेरीफेरीका शिक्षकहरूको सहभगितामा शिक्षा दिवस मनाउनुले शिक्षक तथा विद्यार्थीको अपमान गरेको छ ।  

शिक्षाको विकास र उन्नयनमा योगदान गरेका शिक्षाका कर्मचारी तथा अहोरात्र खटेर विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार गर्दै विद्यालयको समग्र पक्षको स्तरोनन्तिमा लागेका शिक्षकहरूलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गर्नु शिक्षाको विकासमा थप सुधार ल्याउने अर्थमा बुझ्न सकिन्छ ।

ज–जसले सम्मान पत्र तथा प्रशंसा पत्र प्राप्त गरे उनीहरुलाई बधाइ तथा शुभकामना ! यो  सम्मान तथा प्रशंसा पत्र शिक्षाको समुन्नतिको लागी सहायक बन्न सकोस् । हरेक दिन कार्यालय तथा विद्यालय जानु अघि भित्तामा झुण्ड्याइएको उक्त सम्मान पत्र वा प्रशंसा पत्रलाई हेरेर दत्तचित्त भएर आफ्नो कर्तव्यमा लाग्न प्रेरणा दिन सकोस् । त्यति बेला मात्रै यो सम्मान तथा पुरस्कारले सार्थकता पाउने छ ।

तर सम्मानित केही ब्यक्तिका सामाजिक सञ्जालमा ब्यक्त अभिब्यक्तिलाई आधार मान्ने हो भने एकादुई बाहेक आफूले पाएको सम्मानको श्रेय आफैलाई दिन नसकेको आभास पाउन सकिन्छ । आफू भन्दा उपल्लो तहकाहरूको सहयोग र सद्भावले पुरस्कृत हुन पाएको व्यहोराका भजन गाउनेको कमी देखिदैंन ।

उक्त भजनले प्राप्त सम्मानको औचित्य र गरिमालाई नै आँच पुग्दै छ भन्ने हेक्का समेत राख्न नसक्नु लाजमर्दो देखिएको छ । यसको संकेत डरलाग्दो छ । टाठाबाठा, सघं संगठन, नातागोता र राजनीतिक पृष्ठभूमिकै शिक्षक कर्मचारी नै सँधै पुरस्कारको हकदार रहन्छन् भन्ने पुष्टि गर्दै छ यो कृत्यले । यसले शिक्षाको विकास र उन्नतिले उभोगति भन्दा पनि अधोगतिको बाटो समात्न सक्छ ।

पुरस्कार वितरणको मापदण्ड के हो ? मापदण्ड भित्र पर्न शिक्षक तथा कर्मचारीहरूले के–कस्तो योगदान गरिरहेको हुनुपर्दछ ? यस्ता प्रश्नको सार्वजनिक रुपमा जानकारी हुनु आवश्यक छ । यस विषयमा खासै मापदण्ड बनेको र भएको जस्तो लाग्दैन । बनेको वा भएको भएपनि त्यो जानकारीमै छैन वा पहुँच बाहिर नै छ । जसले गर्दा 'जसको हातमा डाडु पनियो उसैको भागमा भुजा' हुने नै छ । अर्थात् संधै भजन मण्डली पुरस्कृत हुने क्रम जारी रहन्छ, खास कर्मजिवीहरु ओझेलमा परिरहन्छन् ।

यस बर्षको शिक्षा दिवसले पहुँच र भनसुन केन्द्रित पुरस्कार प्रणलीमा सुधार ल्याउने सद्बुद्धि प्रदान गरोस् । कुनाकाप्चा र दुरदराजमा इमान्दारी पूर्वक विद्यार्थीको सिकाइमा निश्वार्थ भावनाले लाग्ने शिक्षकहरु पनि पुरस्कारको भागीदार बन्न सकुन् । पुरस्कार पुरस्कारको लागि मात्र नभएर शैक्षिक क्षेत्रको सुधारको लागि होस्, हाम्राको लागि होइन राम्राका लागि होस् ।

अर्को बर्ष सुधार हुने अपेक्षा सहित, यस बर्ष ढिलो भएपनि राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको शुभकामना !

लम्साल दीपक मा.वि भिमाद –५, तनहुँका शिक्षक हुन्

प्रतिक्रिया