भक्तपुर - परीक्षा नियन्त्रण कार्यालय भक्तपुरल ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्न ढिलाइ गर्दा कक्षा ११ को रजिष्ट्रेशन फारम भर्न समस्या भएको छ ।
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) अन्तर्गत गत साउन १९ गतेदेखि सञ्चालन भएको ग्रेड वृद्धि परीक्षाको भदौ मसान्तसम्म पनि नआउँदा फारम भर्न समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् ।
ग्रेड वृद्धिको लागि ‘सी’ र त्यस भन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको ग्रेड वृद्धि परीक्षा दिन पाउने प्रावधान रहेको छ । गत वर्षसम्म दुई विषयमा ‘डी’ र ‘ई’ ग्रेड पाएका विद्यार्थीले मात्रै ग्रेड वृद्धिको परीक्षा दिन पाउँथे । तर, यस वर्ष भने सैद्धान्तिक विषयमा ‘डी’, ‘डी’ प्लस र ‘ई’ ग्रेड प्राप्त गर्ने विद्यार्थीले पनि ग्रेड वृद्धिको परीक्षा दिन पाउने व्यवस्था मिलाइएपछि ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थीको संख्या पनि बढेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले ४२ दिन बितिसक्दा पनि नतिजा प्रकाशित नगरेको कारण कक्षा ११ को रजिष्ट्रेशन फारम भराउने जिम्मा पाएको राष्ट्रिय परीक्षा बोर्डले पुनः समय पछि सारेको छ ।
बोर्डले शैक्षिक सत्र २०७४/०७५ मा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको रजिष्ट्रेशन फारम बुझाउने सम्बन्धमा २०७४ साल भाद्र मसान्तसम्म विलम्ब शुल्क रहित र आश्विन १५ गतेसम्म विलम्ब शुल्क सहितको सूचना प्रकाशित गरिएकोमा उक्त नतिजा प्रकाशन भइनसकेकोले कार्तिक ७ गतेसम्म लम्ब्याएको छ ।
'मिति २०७४/०५/२५ गतेको परीक्षा सञ्चालक समितिको निर्णय अनुसार पुनः असोज मसान्तसम्म विलम्ब शुल्क रहित र कार्तिक ७ गतेसम्म विलम्ब शुल्क सहित रजिष्ट्रेशन आवेदन फारम भर्ने एवं कार्तिक १५ गतेभित्र बोर्डका सम्बन्धित शाखा कार्यालयहरुमा रजिष्ट्रेशन आवेदन फारम बुझाउने गरी म्याद थप गर्ने निर्णय भएको छ' बोर्डको सुचनामा उल्लेख छ ।
यसैबीच ग्रेडवृद्धिको परीक्षाफल घटस्थापना अघि निकाल्ने तयारी भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । उनले कूल तीन लाख ८८ हजार परीक्षार्थीले पूरक अर्थात् ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने भए पनि देशभरबाट एक लाख ५० हजार परीक्षार्थीले आवेदन दिएको बताए ।
प्रतिक्रिया