Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तर्वार्ता

राजिनामाले समाधान हुन्छ भने राजी छु : शिक्षा मन्त्री यादव

बुधबार, १८ चैत्र २०७१

काठमाडौं १८ चैत / चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग गर्दै अनसनमा बसेका प्रा.डा. गोविन्द केसीका अधिकाँश माग पुरा गर्न सरकार तयार भएपनि शिक्षा मन्त्री चित्रलेखा यादव लगायत त्रिवि पदाधिकारीको राजिनामाको कुराले सहमती हुन सकिरहेको छैन । मंगलबार दिनभरि भएको वार्तामा चिकित्सा शिक्षा नीति नबन्दासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिने सहमति भएको र उक्त सहमती मन्त्रिपरिषद बैठकले अनुमोदन गरिसकेको छ ।सम्बन्धन दिने प्रकृयामा आर्थिक लेनदेन भएको आरोप सहित राजिनामा मागिएकी शिक्षा मन्त्री यादवसँग एडुखबरका श्रीधर पौडेलले गरेको कुराकानी :

एडुखबर : मेडिकल कलेज सम्बन्धनको प्रकृयामा तपाईलाई त भ्रष्टाचारी भनियो नी ? के रकमकै लेनदेनमा सम्बन्धनको प्रकृया शुरु गर्नु भएको हो र ?

मन्त्री : मेडिकल कलेजलाई सम्बन्धन मन्त्रीले दिने हो र ? यो दिने भन्ने कुरा विगत ६–७ बर्ष देखि चल्दै आएको प्रकृया हो । विभिन्न निकाय छन्, विश्वविद्यालय आफैं स्वायत्त निकाय हो, विभिन्न प्रकृयाका आधारमा भएको हुरा हो नी यो त । सम्बन्धन प्रकृयाको विषयमा मेरो केही प्रतिकृया छैन ।

एडुखबर : तर, तपाई माथि त विधि प्रकृया मिचेको आरोप छ नी त ?

मन्त्री : मन्त्रीले नै सबै कुरा गर्ने हो र भन्या ? पैसा लिएर नै गरेको भन्ने के छ आधार ? जसरी हौवा पिटाईएको छ नी, कसैले केही नगरिकन प्रकृया शुरु भएको पनि त हुन सक्छ नी हैन ? हो मेडिकल शिक्षाको लागि स्थायी संयन्त्र बनाएर काम गर्नु पर्ने छ ।

एडुखबर : के हो त त्यो संयन्त्र भनेको ?

मन्त्री : यो छलफलको विषय हो । को को बस्ने ? कस्तो मेकानिज्म बनाउने ? सम्बन्धन दिने बेलामा के कसरी ध्यान पुर्याउने भन्ने कुरा गहिरो गरी अध्ययन गर्नु पर्यो । म पनि गुणस्तरीय शिक्षामा चासो राख्ने मान्छे हुँ । गुणस्तरीय र सर्वसुलभ हुनु पर्छ चिकित्सा शिक्षा भन्ने मेरो पनि कन्सर्न हो ।

एडुखबर : त्यसो भए डा. केसीको बटमलाईन तपाईँको राजिनामा छ, के राजिनामा गर्नु हुन्छ त ?

मन्त्री :  हैन मैले अघि पनि भनिसकेँ नी । मन्त्रीकै कारण सबै थोक भएको हो र ? यदि हो भन्ने आधार छ भने दिन्छु । मैले राजिनामा दिएर समाधान हुन्छ भने म दिन तयार छु । ईस्यु के हो भन्ने स्पष्ट हुनु पर्यो नी । जसको केही हात नै छैन त्यसलाई दोष लगाएर मात्र त भएन नी । म पनि लामो समय देखि जनता र देशको लागि लडेको मान्छे हुँ नी । यहीँ ललितपुरको चाल्नाखेलमा २ जना डाक्टरको दरबन्दी छ । तर स्वास्थ्य केन्द्रमा जानुभो भने अहेव फेला पर्छन् । दुर दराजका गाउँमा त्यस्तै समस्या छ । यस्ता कुराले मलाई चिन्तित बनाएको छ । डाक्टरहरुलाई गाउँ पठाउने कुरा गर्न सकिएको छैन ।

तस्विर : ईन्टरनेट

प्रतिक्रिया