Edukhabar
बुधबार, ११ भदौ २०८२
खबर/फिचर

करार माग्दै आमरण अनसन

बुधबार, ११ असोज २०७४

काठमाडौं - आंशिक प्राध्यापकलाई करार गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापक डा. महेशकुमार गजुरेलले आमरण अनसन शुरु गरेका छन् । ६६ दिनदेखि रिले अनसन गरिरहेका आंशिक प्राध्यापकले दशैंकै बेला आन्दोलनलाई थप कडा पारेका छन् ।

त्रिवि केन्द्रीय कार्यालय किर्तिपुरको गेटमा आमरण अनसन शुरु गर्दै गजुरेलले विश्वबिद्यालयले वर्षौदेखि वौद्धिक शोषण गरिरहेकाले बाध्य भएर सत्याग्रह गर्नुपरेको बताए । वौद्धिक समुदायबाट राज्यले विज्ञता लिनुपर्नेमा चरम शोषण गर्नु लाजमर्दो भएको उनको भनाइ थियो । कार्यक्रममा आंशिक प्राध्यापक संघका निवर्तमान अध्यक्ष शशीकुमार शर्मा, आन्दोलन परिचालन समितिका संयोजक नरेन्द्र भण्डारी सहसंयोजक ठमिन्द्र खतिवडा लगगायतले अझै पनि माग सुनुवाइ नभए देशभर सत्याग्रह शुरु गर्ने चेतावनी दिए ।

यसैबिच चितवन भरतपुर स्थित वीरेन्द्र बहुमुखि क्याम्पसका आँशिक शिक्षक गजुरेललाई आंशिक प्राध्यापक संघको अध्यक्ष बनाइएको घोषणा पनि गरियो ।

आंशिक प्राध्यापकले यसपटक दशै नमनाउने

यसैविच त्रिभुवन विश्वविद्यालय अन्तरगतका सबै आंशिक प्राध्यापकले यो दशै नमनाउने घोषणा गरेका छन् । अहिले आन्दोलन र आमरण अनसनमा रहेका प्राध्यापकले चाडपर्ब मनाउन नसक्ने भएकाले सबै आन्दोलनमा होमिने र जुन दिन आन्दोलन सफल हुन्छ त्यही दिन टीका लगाउने उनीहरुले घोषणा गरेका हुन ।

आंशिक प्राध्यापकलाई करार गर्न २०६३ साल भदौ ६ गते, २०६५ साल असोज २१ गते, २०६६ साल भदौ २१ गते र २०६९ साल जेठ ३२ गते नेपाल सरकारले गरेको सम्झौताको कार्यान्वयन नगरेको उनीहरुको आरोप छ ।

प्रतिक्रिया