काठमाडौं - सरकारले शिक्षा मन्त्रालयको सचिवमा मधुप्रसाद रेग्मीको सरुवा गरेको छ । शिक्षा मन्त्री गोपालमान श्रेष्ठ र सचिव रेग्मी दुवै स्याङ्जाली हुन् । यो संयोग मात्रै भएको सचिव रेग्मीले बताए ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले लोकसेवा आयोगका सचिव रेग्मीको सरुवा शिक्षामा गरेको हो ।
'म बरिष्ठतम् सचिव हुँ, शिक्षा मन्त्रालयमा सरुवा हुनु कुनै नौलो हैन, संयोगले शिक्षा मन्त्रालयमा सरुवा भयो' उनले एडुखबरसँग भने, 'यसमा मन्त्री र म एकै जिल्लाको हुनुको कुनै अर्थ छैन ।'
मुलुक संघीयतामा गएको सन्दर्भमा शिक्षामा गर्नु पर्ने धेरै काम बाँकी रहेकोले आफ्नो प्राथमिकता त्यस तर्फ हुने उनले बताए ।
'संविधानले शिक्षाका अधिकार सुनिश्चित गरेको छ, आम जनताको पहुँचमा शिक्षा कसरी पुर्याउने भन्ने नै मेरो ध्यान हुने छ' उनले भने 'गुणस्तरीय उच्च शिक्षा मेरो अर्को प्राथमिता हो ।'
यस अघि शिक्षा मन्त्रालयका सचिव रहेका शान्तबहादुर श्रेष्ठको अवधि सकिएपछि शिक्षा मन्त्रालय सचिव विहीन थियो ।
पढ्नुहोस् : जाँदा जाँदै शिक्षा सचिवले भने 'सहमतीको पोको' मै अलमल
सचिव रेग्मी कानूनका जानकार मानिन्छन् । उनले बेलायतबाट कानूनमा स्नातकोत्तर गरेका छन् । जन प्रशासनमा समेत स्नातकोत्तर गरेका रेग्मीको निजामती सेवामा अधिकाँश समय कानूनमै वितेको छ ।
०४१ सालमा गृह मन्त्रालयमा नायव सुब्बाबाट शुरु भएको उनको निजामती यात्रा ०४३ सालमा प्रशासन सेवामा अधिकृत भएपनि न्याय सेवाबाटै उनी ०४९ सालमा उपसचिव हुँदै ०६१ सहसचिव भएका थिए । ०७० साल फागुन २९ गते सचिवमा बढुवा भएका रेग्मी पाँच बर्षे अवधिको साढे ३ बर्ष पुरा गरिसकेकाले अव डेढ बर्ष मात्रै सचिव हुने छन् ।
२०१९ सालमा स्याङ्जाको लुब्दि खोलामा जन्मेका रेग्मी यस अघि उपसचिव हुँदा २०५० –०५१ सालमा शिक्षा मन्त्रालयको कानून शाखामा काम गरेका थिए ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्य सचिवमा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । मंगलबार अवकाश पाउन लागेका राजेन्द्रकिशोर क्षेत्रीको स्थानमा रेग्मीको नियुक्ति भएको हो ।
मन्त्रीपरिषद्को बैठकले अन्य सचिवहरुको जिम्मेवारी पनि हेरफेर गरेको छ ।
मोहन सापकोटालाई सामान्य प्रशासनबाट गृह मन्त्रालय, युवकध्वज जिसीलाई पशुपन्छी मन्त्रालयबाट वन मन्त्रालय र शंकरप्रसाद अधिकारीलाई अर्थ सचिव बनाएको छ । यस्तै प्रधानमन्त्री कार्यालयमा रहेका ङइन्द्रप्रसाद उपाध्यायलाई रेग्मीको ठाउँ अर्थात् लोकसेवा आयोगमा सरुवा गरिएको छ । बैठकले रेश्मी राज पाण्डेलाई सामान्य प्रशासन मन्त्रालय र प्रकाश माथेमालाई पशुपन्छी मन्त्रालयमा पदस्थापन गरेको छ ।
बैठकले राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्दराज पोखरेलको राजीनामा स्वीकृत गरेको छ । प्राधिकरणमा पूर्वसचिव युवराज भूसाललाई सीईओको जिम्मेवारी दिईएको छ ।
भुकम्पका कारण भएको क्षतीको पुननिर्माण गर्न गठन गरिएको प्राधिकरणमा अत्यधिक राजनीति हुँदा पीडितले राहत नपाएको गुनासो छ । यस अघि प्राधिकरणका सिईओ शुसील ज्ञवालीलाई हटाएर काँग्रेस नेतउत्वका वर्तमान सरकारले पोखरेललाई नियुक्त गरेको थियो । उनले काँग्रेसबाट प्रतिनिधि सभाका लागि प्याूठानबाट टिकट पाउने भएपछि राजिनामा दिएका थिए ।
प्रतिक्रिया