Edukhabar
आइतबार, ०९ बैशाख २०८१
विचार / विमर्श

फररर अँग्रेजी कि दरिलो सिकाइ !

शुक्रबार, ०५ माघ २०७४

सिकाइ सुधार गर्ने भन्दै आफ्ना क्षेत्रका सामुदायिक विद्यालयहरुमा अँग्रेजी माध्यमबाट पठन पाठन गर्ने निर्णयमा स्थानीय सरकारहरु तँडाड मछाड गरिरहेका छन् । यो निर्णयसंगै सामुदायिक विद्यालयको सुधारको नयाँ बहस सिर्जना भएको छ ।
आफैंमा अंग्रेजी माध्यममा पठन पाठन गर्ने विषय भने नयाँ होइन । धेरै पहिले देखि सामुदायिक विद्यालय सुधारको लागि यो रणनीति अपनाइ सकेको पाइन्छ । यतिखेर उक्त पारो बढेको मात्रै हो ।

सामुदायिक विद्यालयका कक्षा सुनसान बन्नबाट रोक्न अँग्रेजी माध्यम नै उपयुक्त हो त ? के अँग्रेजी माध्यमले विद्यालयको सिकाइ गुणस्तर सुनिश्चित गर्छ त ? के अँग्रेजी माध्यमबाट शिक्षण सिकाइ प्रक्रिया सञ्चालन गर्न हाम्रा विद्यालय सक्षम छन् ? कतै हामी वास्तविकताहिन र दुरगामी असर पार्ने कुरामा बहकीरहेका त छैनौं ? हामीलाई अँग्रेजी फरर बोल्ने जनशक्ति चाहिएको हो की उसमा सिक्नुपर्ने सिकाइ सक्षमता सुनिश्चित भइ सीपयुक्त नागरिक चाहिएको हो ? यस्ता कयौं प्रश्नहरुको उत्तर खोज्नु जरुरी छ ।  

केहि परिवेश

केहि समय अधि अँग्रेजी माध्यमबाट प्राथामिक शिक्षा सञ्चालन गरेका केहि विद्यालयहरुको अवलोकन गर्ने अवसर प्राप्त भएको थियो । उक्त अवसरमा देखिएका केहि परिदृश्यहरु यहाँ प्रस्तुत गर्नु सान्दर्भिक हुन्छ । अवलोकनको क्रममा कुनै विद्यालयको कक्षा १ मा गणित विषयको शिक्षण भइरहेको थियो । अँग्रेजी माध्यमबाट शिक्षण भइरहेको भनिएको त्यस विद्यालयका बालबालिकाहरु तथा शिक्षकको हातमा अँग्रेजी माध्यमको पाठ्यपुस्तक थियो । तर करिब २० मिनेट अवलोकन गरिएको त्यस कक्षामा करिब १० प्रतिशत मात्र अँग्रेजी भाषाको प्रयोग भएको थियो । बाँकी ९० प्रतिशत नेपाली नै थियो । त्यसमा पनि निर्देशन र सहजीकरण भने नेपालीमा गरिएको थियो । केबल खाली सेतो पाटीमा अंग्रेजीबाट गणितीय सीप केन्द्रित क्रियाकलापहरु उल्लेख गरिएका थिए ।

अर्को विद्यालयको कक्षा २ मा सामाजिक विषयको शिक्षण हुँदै थियो । त्यसमा पनि ९५ प्रतिशत जति नेपाली भाषा कै माध्यमबाट शिक्षण सहजीकरण हुदै थियो भने पाठ्यपुस्तक अँग्रेजी माध्यमकै थिए । त्यस विद्यालयले पनि अँग्रेजी माध्यमबाट नै शिक्षा दिने व्यवस्था गरिएको बताएको थियो ।

त्यसैगरी, अर्को विद्यालयको कक्षा ३ मा अँग्रेजी विषयको शिक्षण भइरहेको थियो । जहाँ ९० प्रतिशत जति नेपाली भाषाको प्रयोग भइरहेको थियो । शिक्षकले केवल पाठ्यपुस्तकमा उल्लेख गरिएका विषयवस्तु मात्र अंग्रेजीमा उच्चारण गर्दै थिए । उनले बुझाउन तथा निर्देशन दिन नेपाली भाषा कै प्रयोग गरेका थिए ।

यी तीन वटा कक्षा अवलोकनको सार भनेको अँग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरकोे भनिएता पनि शिक्षण सिकाइको माध्यम भने नेपाली नै थियो । त्यी विद्यालयमा शिक्षकको तर्क अर्कै थियो ।
भन्दै थिए – अँग्रेजी माध्यमबाट मात्र शिक्षण गर्दा विद्यार्थीले नबुझ्ने भएकाले नेपाली भाषा हावी भएको हो ।

त्यसैगरी त्यी विद्यालयहरुका बालबालिकाहरुलाई —गणित, सामाजिक जस्ता विषय नेपाली की अँग्रेजीमा पढाउँदा तिमीहरु बुझ्छौं ? भन्दा अधिकांशले नेपाली भने ।

त्यसैगरी, त्यी विद्यालयका प्रधानाध्यापक संगको छलफलमा एक जनाले नेपाली भाषाबाट शिक्षण गर्दा भन्दा अँग्रेजी भाषाबाट शिक्षण गर्दा बालबालिकाहरुको सिकाइ उपलब्धी घटेको गुनासो गरे भने अर्काले अँग्रेजी माध्यमबाट शिक्षण सिकाइ प्रक्रिया सञ्चालन गर्ने विद्यालयको प्रणाली सक्षम नभएको कुरालाई अंकित गरे ।

अर्का एक जना त भन्दै थिए – अँग्रेजीमा त तुलनात्मक राम्रो भयो त अरु विषयमा खासै परिवर्तन आउन सकेन  ।

उक्त अवसरमा हामील भेटेका अभिभावकको अपेक्षा भने अँग्रेजी माध्यममै शिक्षण सिकाइ सञ्चालन गर्नुपर्ने माग थियो ।  

यी त केबल केहि विद्यालयका उदाहरण मात्रै हुन् । यस्तो परिदृश्य अँग्रेजी माध्यमबाट शिक्षण सिकाइ सञ्चालन गर्ने धेरै विद्यालयमा रहेको छ । यी सबै परिदृश्यबाट के स्पष्ट हुन्छ भने अँग्रेजी माध्यमको रणनीति आँफैमा सामुदायिक विद्यालयको सिकाइ सुधार्ने अचुक उपचार होइन । यसले सामुदायिक विद्यालयमा देखिएका समस्यालाई समाधान गर्न सक्दैन ।

अँग्रेजी के सिकाइ के ?

अहिले समाजका हरेक मानिसको एउटै अपेक्षा हुन्छ । आफ्नो छोराछोरी अँग्रेजीमा राम्रो दखल भएको होस् । अँग्रेजीमा राम्रो बोल्ने मान्छे त्यो नै जान्ने वा राम्रो मान्छे भन्ने धारणाले समाजमा व्यापकता पाउदै गएको छ । सिकाइलाई भन्दा अँग्रेजीलाई प्राथामिकता दिने प्रवृति हावी हुदै गएको छ । शिक्षा लिनुको अर्थ अँग्रेजी फरर बोल्नु हो की ज्ञान हासिल गर्ने बनाउनु हो ? हाम्रो विद्यालय शिक्षाको यति ठूलो लगानीको उद्धेश्य अँग्रेजीमा फरर बोल्न सक्ने र कक्षा उत्तिर्ण गराउने हो की उनीहरुमा तोकिएका सिकाइ सक्षमताको सुनिश्चित गदै सक्षम तहगत नागरिक तयार गर्नु हो ?

शिक्षा लिनुको उद्धेश्य भनेको अंग्रेजीमा फरर बोल्न सक्ने बनाउनु होइन । अँग्रेजी त केवल भाषाको माध्यम मात्र हो, जुन व्यक्तिहरुले हासिल गरेका सिकाइ सक्षमताहरुलाई बाहिर प्रस्फुटित गर्ने एउटा सशक्त साधन मात्र हो । सिकाइ सक्षमता शिक्षा आर्जनको मुल मर्म हो जसले व्यक्तिको व्यवहार, ज्ञान, सीप तथा प्रवृतिमा परिवर्तन ल्याउँछ ।

त्यसैले, अँग्रेजी साध्य होइन, यो सहायक वा पुरक मात्र हो भने सिकाइ सक्षमता प्रमुख हो । यो कुरालाई आम अभिभावकसंग पुर्याउन नसक्नु आजको विडम्बना हो । त्यसकारण सामुदायिक विद्यालयको पहिलो समस्या भनेको बालबालिकाहरुमा तहगत सिकाइ सक्षमता सुनिश्चित गर्न नसक्नु हो र नीजि विद्यालय तर्फको अँग्रेजी मोहलाई आफुतिर आर्कषित गदै विद्यार्थी संख्या बढाउनु नै हो । अँग्रेजी माध्यमबाट शिक्षण सिकाइ गदैमा विद्यार्थी बढ्ने र सिकाइ सुनिश्चित हुन्छ भन्ने कुनै गतिलो आधार देखिदैँन । बरु तहगत सिकाइ सक्षमता सुनिश्चित गदै नीजि विद्यालयको मोह घटाउन सकिन्छ । त्यसैले त्यसको लागि सिकाइ सुधार रणनीति केन्द्रित क्रियाकलाप सञ्चालन गर्नु पर्दछ । यसबाट के स्पष्ट हुनुपर्दछ भने बालबालिकाहरुमा सिकाइ सक्षमता सुनिश्चित गर्ने तिर प्राथमिकता साथ सबैको ध्यान केन्द्रित हुनुपर्दछ भने त्यसलाई अन्र्तराष्ट्रिय बजार सम्म बजार योग्य बनाउन अँग्रेजीलाई पुरक रुपमा लिनुपर्दछ ।

नीतिगत व्यवस्था के छ ?

नेपालको सन्दर्भमा सामान्यतया विद्यालय तहका बालबालिकाहरुको दृष्टिले अँग्रेजी दोश्रो, तेश्रो भाषाको रुपमा पर्दछ भने नेपाली पहिलो, दोश्रो । सत्य के हो भने अँग्रेजी भन्दा नेपाली  भाषा नै बढी प्रयोग हुने वातावरणको सिर्जना नेपालमा छ । अर्थात् बहुसंख्यक विद्यालय तहका बालबालिकाहरुले घरमा अँग्रेजी भन्दा नेपाली भाषा कै प्रयोग गर्दछन् । कुनै जातिगत समुहका बालबालिकाहरु हिजो आज त्यस जातिको आफ्नो मातृभाषा भन्दा नेपाली नै बोल्ने प्रवृति बढ्दै गएको छ ।

नेपालको संविधान २०७२ को धारा ३१ मा आफ्नो मातृभाषामा शिक्षा प्राप्त गर्न पाउने कुरा उल्लेख गरिएको छ । त्यसैगरी शिक्षा ऐनको नवौं संशोधनले विद्यालय तहको शिक्षाको माध्यम नेपाली, अँग्रेजी  वा दुवै हुनसक्ने कुरा उल्लेख गरेको छ । त्यसमा पनि प्राथमिक शिक्षा स्पष्ट रुपमा मातृभाषामा दिन सकिने भन्ने कुरा उल्लेख गरेको छ । त्यसैगरी, भाषा विषयमा अध्ययन गर्दा शिक्षाको माध्यम सोही भाषामा नै हुनुपर्ने र अँग्रेजी विषयको शिक्षण गर्दा अँग्रेजी भाषा नै हुनुपर्ने व्यवस्था गरेको छ । नीतिगत रुपमा पनि प्राथामिक तहमा अँग्रेजी माध्यमबाट शिक्षण सिकाइ सञ्चालन गर्न उपयुक्त देखिदैन ।

शिक्षणको माध्यम कुन उपयुक्त ?

विभिन्न नीतिगत तथा अनुसन्धानात्मक प्रतिवेदनहरुले प्राथामिक तहमा शिक्षाको माध्यम मातृभाषामा नै हुनु पर्दछ भन्ने कुरा उल्लेख गरेको छ । यसको अर्थ भनेको आफ्नो मातृभाषा वा घरमा बढी बोलिने भाषामा शिक्षण गर्ने हो भने बालबालिकाहरुले बढि बुझ्ने र सिकाइ प्रभावकारी हुन्छ वा सिकाइ सक्षमतामा सहज आउँछ नै भन्ने हो । नेपालको परिवेशमा मातृभाषा वा नेपाली भाषा नै प्राथामिक तहको शिक्षाको माध्यम सान्दर्भिक देखिन्छ तर अँग्रेजी होइन ।

यदि यस तहमा अँग्रेजी माध्यमबाट शिक्षण गर्ने हो भने नेपाली वा मातृभाषाको तुलनामा बालबालिकाहरुको बुझ्ने दरमा वृद्धि हुन नसक्ने र त्यसले सिकाइ सुनिश्चितमा अवरोध खडा गर्दछ भन्ने मान्यता नै हो ।

अँग्रेजीको मोहलाई कसरी व्यवस्थापन ?

सिकाइ सक्षमता सहित अँग्रेजी भाषामा राम्रो दख्खल भएको व्यक्ति राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा बढी विकाउ योग्य हुने कुरामा कुनै दुई मत छैन । सिकाइ सक्षमता विहिनको अँग्रेजी भाषाको दखल नागरिक र अँग्रेजी भाषाको दख्खल विहनिको सिकाइ सक्षमता भएको नागरिक पनि आजको विश्वव्यापीकरणको युगमा टिक्न निक्कै कठिन छ ।

त्यसैले, सामुदायिक विद्यालयले सिकाइ सक्षमता सहितको अँग्रेजी भाषामा दख्खल भएको नागरिक उत्पादनमा लाग्नु पर्ने भएकाले स्थानीय आवश्यकता अनुरुप स्थानीय विषयका रुपमा वा कुनै योजना निर्माण गरी अँग्रेजी भाषालाई जोड दिन सकिन्छ । साथै, हालकै अनिवार्य विषयमा रहेको अँग्रेजी विषयको शिक्षणलाई थप प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ भन्ने भाषा विज्ञको बुझाइ रहेको छ । तर विश्व बजारमा अँग्रेजीको मागकै कारणले प्रारम्भिक कक्षाहरुमा अँग्रेजी माध्यमले शिक्षण सिकाइ सञ्चालन गर्नाले शिक्षा क्षेत्र झन् तहस नहस हुने कुरामा सम्बन्धित निकाय बेलैमा सचेत हुनुपर्दछ ।

अँग्रेजीले समस्या समाधान होला त ?

सामुदायिक विद्यालयका समस्याहरु समाधानका लागि नै कतिपय विद्यालयहरुले अँग्रेजी माध्यमबाट शिक्षण सिकाइ सञ्चालन गर्ने गरेको पाइन्छ । के अँग्रेजी माध्यमले विद्यालयका समस्या समाधान होला त ?

विद्यालयको मुल समस्या भनेको कक्षाकोठाका बालबालिकाहरुमा सिकाइ सुनिश्चित गर्न नसक्नु हो । सामुदायिक विद्यालयका कक्षाकोठाहरु सुनुुसान बन्दै जाने प्रवृति ज्यामितीय अनुपातमा बढेको देखिन्छ । त्यसको पछाडीको कारण भनेको सामुदायिक विद्यालयले सिकाइ सक्षमता सुनिश्चित गरी नीजि विद्यालयको मोहलाई कम गर्न नसक्नु पहिलो कारण हो ।

छोराछोरीले खररर अँग्रेजी बोलुन् भन्ने अभिभावकको अपेक्षाले नीजि विद्यालयमा विद्यार्थीको चाप बढेको छ । जन्मदरमा कमी आउनु, बसाइ सराईको प्रवृति पहाड, हिमालबाट तराईतिर हुनु, चाहे बनिबुतो गरेरै किन न होस् सन्तानको शिक्षामा लगानी गर्नु पर्छ भन्ने अभिभावकको सोचले  निजीमा विद्यार्थीको आर्कषण बढेको छ ।

दरिलो सिकाइ कसरी सुनिश्चित गर्ने ?

अहिले सामुदायिक विद्यालयमा चाहिएको ठूल्ठुला कुराहरु भन्दा पनि तोकिए कै पाठ्यक्रम केन्द्रित सिकाइ सक्षमता कसरी सुनिश्चित गर्ने भन्ने नै हो । विद्यालयले आफ्नो परिवेश अनुरुप सिकाइ सक्षमता सुधारको उपाय केन्द्रित गतिविधि सञ्चालन गर्नुपर्दछ । त्यसको लागि सर्वप्रथम, प्रअबाट उच्च प्रशासनिक तथा व्यवस्थापकिय सीप प्रर्दशन गर्नुपर्दछ । विद्यालयको प्रअले तोकिए बमोजिम त्यस्तो नेतृत्वदायी भुमिका निर्वाह गरेको छ की छैन भनेर व्यवस्थापन समिति, स्रोतकेन्द्र तथा स्थानीयतहबाट नियमित अनुगमन तथा सहजीकरण गरिनुपर्छ । यसको सार भनेको विद्यालयको मुख्य जिम्मेवारी व्यक्तिले नै सुधारको थालनी गर्नु पर्दछ भन्ने हो ।

त्यस पश्चात, कक्षागत विद्यार्थीसंगको छलफल, अति विपन्न वर्गका बालबालिकाहरुको लागि छात्रवृति सहयोग प्रदान, अभिभावकसंगको नियमित छलफल अन्तरक्रिया मार्फत विद्यार्थीको उपस्थितिमा वृद्धि गर्नु पर्दछ ।

तेश्रो चरणमा, शिक्षकबाट तोकिएको पुरा समय शिक्षण सहजीकरण गर्नुपर्दछ । त्यसमा पनि पाठ्यपुस्तकको सट्टा पाठ्यक्रममा आधारित सिकाइ सक्षमताको आधारमा सहजीकरण गर्ने परिपाटीमा व्यापकता ल्याउनुपर्दछ । हालको अवस्था भनेको पुरा समय कक्षामा सहजिकरण नहुनु हो भने शिक्षकको दायित्व भनेको पाठ्यपुस्तकमा भएका सुचना मात्र विद्यार्थी माझ हस्तान्तरण गर्नु हो भन्ने मान्यता हावी हुनु हो । त्यसमा पनि सिकाइ भन्दा विषयवस्तु केन्द्रित शिक्षण गर्ने प्रवृति रहेको छ ।

त्यसपछि, विद्यार्थीको सिकाइ तहको परीक्षण र स्तर निर्धारण गर्नु पर्दछ । अर्थात्, कम्तिमा प्रत्येक विषय शिक्षकले आफ्नो विषयमा मासिक रुपमा आफ्नो परियड भित्र आफ्ना बालबालिकाहरुको निर्माणात्मक मुल्यांकन गर्नुपर्दछ । यसबाट तोकिएका सिकाइ सक्षमताको आधारमा विद्यार्थीको अवस्था पत्ता लगाउन सकिन्छ ।

तर हाल हुँदै आएका तीन प्रकारका परीक्षाले त्यस्तो काम गरेको छैन । त्यसमा पनि परीक्षामा प्राप्त गरेका अंकको विश्लेषण गर्ने प्रवृति छैन खाली अंकहरु रेकर्ड पुस्तिकामा मात्र चढाउनको लागि प्रयोग गरिन्छ । अर्थात पास÷फेलको लागि रेकर्ड राख्ने काम बाहेक त्यसको विश्लेषण गरी योजनावद्ध रुपमा शिक्षण सिकाइ अगाडी बढाएको पाइदैन । स्तर निर्धारण पश्चात पुन शिक्षण वा उपचारात्मक शिक्षणको व्यवस्था विद्यालयले सम्बन्धित निकायहरुसंग समन्वयगरी सञ्चालन गर्नुपर्दछ । यी कुराको सुनिश्चितताको लागि विद्यालयमा विषयगत समितिको निर्माण गरी त्यसलाई परिचालन गर्नुपर्दछ । मासिक रुपमा विव्यस, शिअसं, स्टाफ समीक्षात्मक वैठक, चौमासिक रुपमा विद्यालय अभिभावकबीचको छलफल अन्तरक्रिया सञ्चालन, स्थानीय तहमा समिक्षा वैठक सञ्चालन गर्नुपर्दछ । निश्चित सुचक केन्द्रित समीक्षा वैठकको ढांचा अनुरुप सञ्चालन हुने यस्ता वैठकले सिकाइ सुनिश्चिततामा सहयोग गर्दछ ।

त्यसैगरी सम्बन्धित निकायले पनि तोकिए कै निश्चित ढांचामा नै अनुगमन तथा प्राविधिक सहयोग प्रदान पुर्याउने हो भने एउटा सीपयुक्त सिकाइ सक्षमता भएको नागरिक उत्पादन गर्दै देशको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान पुर्याउने कुरामा कुनै दुइ मत नहोला । त्यसैले पनि अंग्रेजी माध्यम होइन सिकाइ सक्षमता सुनिश्चितमा विद्यालय क्रियाशिल हुनु आवश्यक छ ।

निष्कर्ष

वास्तविकता र बुझाइ विना अंग्रेजी प्रतिको मोह बमोजिम विद्यालयमा अँग्रेजी माध्यमबाट शिक्षण  सिकाइ गर्ने निर्णय तथा परिपाटी गलत हो । अँग्रेजी आंफैमा पुर्ण होइन र त्यसले विद्यालयका समस्याहरु पनि समाधान गर्ने होइन । यो त केवल सिकाइ सक्षमताका गुणहरुलाई अन्र्तराष्ट्रिय बजारसम्म पुर्याउने माध्यम मात्र हो । अहिले हाम्रो समुदायको माग आवश्यकता भनेको फरर अँग्रेजी होइन सिकाइ सक्षमता सुनिश्चित गर्नु हो । प्रारम्भिक तहहरुमा अँग्रेजी माध्यमबाट शिक्षण सिकाइ सञ्चालन गर्दा बालबालिकाहरुको बुझ्ने क्षमतामा ह्रास आउने हुँदै सिकाइ सक्षमता झ्न कमजोर हुने कुरा पक्का छ ।

र त्यसले भविष्यमा सामुदायिक विद्यालयलाई झ्न निरासाजनक अबस्थामा नपुर्याउला भन्न सकिन्न । त्यसैले सम्बन्धित निकायले समयमै  सचेत रहदैं सामुदायिक विद्यालयमा दरिलो सिकाइ सुनिश्चित गर्न क्रियाशिल हुनुको विकल्प छैन ।

चापागाईं शिक्षा र विकास क्षेत्रमा क्रियाशिल छन् ।

प्रतिक्रिया