Edukhabar
विहीबार, १० बैशाख २०८३
बहस

शिक्षा : संक्षिप्त नागरिक घोषणापत्र

सार्वजनिक शिक्षाको सुधारले समाजका विभिन्न आर्थिक, सामाजिक विसङ्गतिहरुलाई निराकरण गर्छ भन्ने विषयमा सचेष्ट राज्यको अपेक्षा ...

विहीबार, १० बैशाख २०८३

यहाँ नेपाल सरकारले हालै राष्ट्रिय प्रतिवद्धतापत्रमा सुझावका लागि खासगरी राजनीतिक दलहरुलाई गरिएको आह्वानलाई सम्बोधन गर्दै आफ्ना सुझाव समावेश गरिएको छ । सरकारले प्रस्तुत गरेका रणनीति, योजना र कार्यक्रमलाई थप स्पष्टताका साथ सुधार गर्नु पर्ने प्रस्ताव गर्दै यस विषयमा लामो समय संलग्न नागरिकका दृष्टिले प्रतिबद्धतापत्र सोही लयमा पुनर्लेखन गरिएको छ । लेखक र सम्बद्ध शिक्षाविद् तथा शिक्षाकर्मीहरु यसमा थप छलफल र संवादका लागि तत्पर छन् :

विचार

शिक्षा देशको प्राथमिकताको विषय रहने छ । शिक्षाको गुणस्तरमा सुधार ल्याउनु शिक्षा क्षेत्रको प्राथमिकता रहने छ । सरकारले पूर्वप्राथमिक तहदेखि नै गुणस्तरको सुधारमा जोड दिने छ । उच्च बौद्धिक क्षमता र हातेकामको दक्षता भूराजनीतिक सन्दर्भमा राष्ट्रिय पहिचानको पक्ष बन्ने गरी शिक्षा क्षेत्रमा सुधार ल्याइने छ । खासगरी ग्रामीण क्षेत्रका सामुदायिक र सार्वजनिक विद्यालयहरुको सुधारले समाजका विभिन्न आर्थिक, सामाजिक विसङ्गतिहरुलाई निराकरण गर्छ भन्ने विषयमा राज्य सचेष्ट छ । अधिकतम् राष्ट्रिय सहमतिमा सङ्घीय शिक्षा ऐन जारी र कार्यान्वयन गरिने छ । यहाँ उल्लेखित विषयहरु ऐनकै एक भागका रुपमा प्रस्तुत गरिने छन् ।  

शासकीय व्यवस्था

हरेक विषयमा हरेक तहका सरकारका सम्बन्धित एकाइको प्रमुख (राजनीतिक एकाइ भएमा जनप्रतिनिधि वा नियुक्त पदिधकारी समेत) शिक्षा सम्बन्धी सवालमा जवाफदेही अधिकारी हुनेछ । शिक्षा मन्त्री सरकारले दिने सेवा दिनु पर्ने विषयका जिम्मेवार अधिकारी हुन् । 

पालिकालाई शिक्षामा एकमुष्ट अनुदान दिइने छ ।  पालिकाहरुले सेवा आयोगले सिफारिस गरेका व्यक्ति मध्येबाट थप सर्तसहित शिक्षकको व्यवस्थापन गर्ने छन् ।  स्वेच्छाले बाहेक शिक्षकको सरुवा गरिने छैन । पालिकाहरुको स्वमूल्याङ्कनमा प्राप्त अङ्कका आधारमा शैक्षिक अनुदान प्रदान गरिने छ । विद्यार्थीको अघिल्लो वर्षको प्रतिफल, उत्पादनशील तथा सिर्जननशील गतिविधिहरु र भएका सम्पत्तिको स्याहारका आधारमा विद्यालयलाई भौतिक र अनुदानको व्यवस्था गरिने छ ।  

निजी विद्यालयहरुलाई सरकारी विद्यालयहरुमा प्रतिकूल असर नपार्ने गरी व्यवस्थापन गर्न पालिकाहरुको क्षमता बढाइने छ । पालिकाहरुले सबै विद्यालयमा शुल्क तथा गुणस्तरको अनुगमन संयन्त्र बनाउने छन् । विद्यालय सेवा क्षेत्र निर्धारणगरी कुनै पनि विद्यालयमा यथाशक्य बसको व्यवस्था गरिने छैन । म्यापिङ् गरी उमेर अनुसार हिँडेर जान सकिने दूरीमा तह अनुसारका विद्यालय स्थापना गरिने छन् । 

उच्च र प्राविधिक शिक्षामा निजी क्षेत्र आकर्षित गरिनेछ । देशको जनशक्तिको प्रक्षेपण गरी त्यस अनुसारको जनशक्ति निर्माण गर्न प्रदेशहरुलाई प्रोत्साहित गरिने छ । यस्तो, जनशक्ति बनाउने विषयमा सङ्घ र प्रदेश बीचको द्वैधता र दोहोरोपन हटाइने छ । त्रिभुवन विश्वविद्यालयको प्रादेशिक विकेन्द्रीकरण गरी छरितो बनाइने छ ।  हरेक प्रदेशमा १० भन्दा बढी क्याम्पसहरु प्रादेशिक विश्वविद्यालयसँग सम्बन्धन गरिने छन् । शिक्षा मन्त्रालय र विश्वविद्यालयहरुको बहुल प्रतिनिधि भएको एक नियामक एकाइ बनाइने छ । विश्वविद्यालयहरुको स्वायत्तताको एउटा आधार सरकारसँगको आर्थिक निर्भरता पनि रहने छ । संस्कृत तथा बौद्ध विश्वविद्यालयहरु खस तथा आर्य एवम् बौद्धधर्मी समुदायलाई चलाउन दिई सम्बन्धित समूहको जिम्मेवारी आह्वान गरिने छ । 

विद्यालय सञ्चालनमा अधिकतम अभिभावकको संलग्नता आमन्त्रण गरी विद्यालय तहमा हुने खर्चहरु प्रतिस्थापन गरिने छ । सक्ने अभिभावकबाट शुल्क लिने विकल्प खुला राख्ने तर शुल्क लगायतका कुनै कारणले पनि विद्यालय जान नसक्ने अवस्था हुन दिइने छैन । पालिकाको सामाजिक समिति र शिक्षा शाखा प्रमुख संयुक्त रुपमा यसका जिम्मेवार अधिकारी हुने छन् । 

सरकारका निकायले शिक्षाका विभिन्न विषयमा सहकार्य गर्न निजी र गैरसरकारी संस्थाहरुको मानक निर्धारण गरी मान्यता प्राप्त संस्थाहरुको सूची बनाइने छ । 

शिक्षक

विद्यालय तहमा शिक्षकको गुणस्तर र आपूर्तिमा जोड दिइने छ ।  साना कक्षाहरुमा बहुविषयक कक्षा शिक्षणमा शिक्षकलाई अभिमुखीकरण गरिने छ । बहुविषयक शिक्षकलाई थप वेतन प्रदान गरिने छ ।  

शिक्षकलाई एक वर्ष भित्रै आधारभूत शिक्षणको तालिम दिन निजी र गैरसरकारी संस्थाहरु परिचालन गरिने छ । तालिमका विषयमा शिक्षण विधिका अतिरिक्त शिक्षण पेशाका मर्यादा, अपेक्षा र सीमाहरु पनि समावेश गरिने छ । 

पूर्वप्राथमिक देखि सबै तहका शिक्षकको पारिश्रमिकमा ठूलो अन्तर राखिने छैन र तह भित्रै बढुवा गरिने छ अर्थात् आधारभूत तहको शिक्षक खुला प्रतियोगिताबाट आएमा बाहेक  माध्यमिक तहमा बढुवा गरिने छैन । शिक्षकको तलब निजामति कर्मचारी भन्दा एक तह माथि राखिने छ । 

शिक्षकलाई घरजग्गा खरीद वा अन्य गैर व्यावसायिक प्रयोजनका लागि दिइने ऋण बैङ्कका प्राथमिकता क्षेत्र अन्तर्गत राखिने छ । बढुवा र सेवा सुविधाहरु परिणाममा आधारित हुनेछन् । 

शिक्षणको बोझलाई ध्यानमा राख्दै शिक्षणमा उर्जा कायम राख्न शिक्षकको निवृत्त हुने उमेर ५० वर्ष कायम गरिने छ । कुनै पनि सरकारी सेवा प्रवेश गरेको ५ वर्ष भित्र तह अनुसार एक वर्ष पूर्णकालीन शिक्षण गर्नु अनिवार्य गरिने छ । व्यावसायिक शिक्षक काउन्सिल स्थापना गरी शिक्षकको गुणस्तर र लाइसेन्सको समेत जिम्मा दिइने छ ।

शिक्षकको स्थायित्व सम्बन्धी विवाद सदाका लागि अन्त्य गर्न हरप्रयास गरिने छ । यसमा सरकार बल र विवाद भन्दा सम्वाद, न्याय र खुला प्रतिस्पर्धालाई खुला र एकीकृत रुपमा हेरिने छ । लामो समय स्थायी नभई शिक्षण जारी राख्नु स्थायी हुने आधार हुन सक्दैन । सरकारले जनसमर्थनको पर्याप्त आड लिएर शिक्षक समुदायले खस्कँदो शैक्षिक परिणामको जिम्मेवारी लिने अपेक्षा गर्दछ । 

अन्तर्वस्तु

अभ्यासात्मक पक्षमा भार बढाउने बाहेक पाठ्यक्रममा तत्काल परिवर्तन भन्दा भएका प्रावधानहरुको प्रभावकारी कार्यान्ययन एवम् शिक्षक तालिम र उपलब्धतामा जोड दिइने छ । परीक्षा प्रणालीको व्यापक सुधार गरिने छ । परीक्षामुखी भन्दा सक्षमता र आत्मविश्वासमा जोड दिन अभ्यास, खुलाकिताब र मौखिक परीक्षामा भार स्थानान्तरण गरिने छ । शिक्षकको आचरण र व्यवहार नै नैतिक शिक्षाको कडी मानिने छ । 

साना कक्षाहरुमा मातृभाषा अधिकतम उपयोग गरी सिकाइ सुनिश्चित गरिने छ । हरेक विद्यालयमा शिक्षण गर्न सम्बन्धित मातृभाषा सिक्ने जिम्मेवारी शिक्षकको बनाइने छ । 

धार्मिक मूल्य प्रधान रहेका गुरुकुल, गुम्बा तथा मदरसा शिक्षण संस्थाहरुलाई साधारण र व्यावसायिक शिक्षासँग प्रत्यायन हुने गरी पाठ्यवस्तु मिश्रण गरी कार्यान्वयन गर्ने व्यवस्था गरिने छ । स्थानीय भाषा संस्कृति लगायतका स्थानीय विषयमा सघनता थप्न विद्यालय र पालिकाहरुलाई प्रोत्साहित गरिने छ । विद्यालय र विभिन्न विश्वविद्यालय अन्तर्गतका शिक्षा सङ्कायबीच उच्च सहकार्य प्रवद्र्धन गराइने छ । 


 

प्रतिक्रिया