Edukhabar
आइतबार, १३ पुस २०८२
खबर/फिचर

शिक्षक आयोगले निकाल्यो आफ्नो 'विजनेस', कानूनी छिद्रबाट परीक्षा तय

शुक्रबार, १९ माघ २०७४

भक्तपुर - विभिन्न अड्चनका कारण पछिल्लो समय विजनेस नपाएर निष्कृय रहेको शिक्षक सेवा आयोगले कानूनी छिद्र खोजेर आफ्नो 'विजनेश' आफैं निकालेको छ ।

स्नातकोत्तर गरेर माध्यमिक तहमा अध्यापन गर्न ईच्छुक विद्यार्थीलाई अस्थायी लाईसेन्स लिने परीक्षाको मिति तय गरेर आयोगले आफ्नो 'विजनेस' निकालेको हो । शिक्षक सेवा आयोग नियमावलीको पाँचौ संशोधनले ७ बर्ष अघिनै गरेको ब्यवस्था अनुसार आयोगले उक्त परीक्षा तय गरेको हो । उक्त ब्यवस्था अनुसार  २०६७ साल यता यस्तो परीक्षा भएको थिएन ।

चैत २४ गते हुने उक्त परीक्षाको फारम फागुन २० गते भित्र भर्नु पर्ने छ । उक्त परीक्षामा पास भएर अस्थायी लाईसेन्स पाएका विद्यार्थीले सेवा प्रवेश गरेको २ बर्ष भित्र माध्यमिक तह शिक्षणसंग सम्बन्धित १० महिने तालिम वा विएड पास गरेको प्रमाणपत्र पेश गरेपछि स्थायी अध्यापन अनुमति पत्र पाउने आयोगका अध्यक्ष ताना गौतमले बताए । उक्त अवधिमा तालिम वा शैक्षिक योग्यता हासिल नगरे उक्त अनुमति स्वतः रद्ध हुने छ ।

'शिक्षक हुन चाहने योग्य विद्यार्थी सेवा प्रवेशबाट बञ्चित हुन नपरोस् भनेर नियमावलीमा भएको ब्यवस्था अनुसार अस्थायी लाईसेन्सको परीक्षा मिति तय गरेका हौं' गौतमले भने, 'नियमावलीमा भएर पनि एक पटक मात्रै यस्तो परीक्षा भएको रहेछ, सोही परीक्षा गर्ने निर्णय गरेका हौं ।'

शिक्षा ऐनको आठौं संशोधनले गरेको ब्यवस्था अनुसार शुरु अस्थायी शिक्षकको परीक्षा अन्तिममा आएर स्थगित गर्नु परे देखि आयोग काम विहीन थियो । शिक्षा विभागले यकिन तथ्याङ्क उपलब्ध नगराउँदा बढुवाको परीक्षा समेत गर्न नसकेको अवस्थामा आयोगले कानूनी छिद्रबाट आफ्नो विजनेश आफैं तय गरेको हो ।

अस्थायी शिक्षकलाई खुसी पार्न शिक्षा मन्त्री गोपालमान श्रेष्ठले बलजफ्ति ऐनको नवौं संशोधन गराए पछि भएको चौतर्फी विरोधका कारण उक्त विज्ञापन अलपत्र परेको छ ।

प्रतिक्रिया