Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

शिक्षाका ऐन नियम एक बर्ष भित्र, २० प्रतिशत बजेटको प्रतिवद्धता

शुक्रबार, २५ फागुन २०७४

काठमाडौं - देशको संरचना परिवर्तन सँगै शिक्षाका लागि आवश्यक ऐन नीयम निर्माणको काम कम्तिमा १ बर्ष भित्र सक्ने सरकारले तयारी गरेको छ । संघीय शिक्षा ऐन, अनिवार्य शिक्षा ऐन, उच्च शिक्षा ऐन लगायका आवश्यक ऐन निर्माणको कामलाई तदारुकताका साथ अघि बढाएर तोकिएको समयमा सक्ने सरकारको तयारी रहेको सत्ताधारी दल नेकपा एमालेका महासचिव समेत रहेका रक्षा मन्त्री ईश्वर पोखरेलले बताएका छन् ।

'हामी शिक्षा प्रणाली रुपान्तरणको सोचका साथ अघि बढेका छौं' नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै पोखरेलले भने, 'सकेको समयमा गरौंला भनेर बस्ने बेला हैन ।'

संविधानले माध्यमिक तह सम्मको शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरें सँगै स्थानीय सरकारहरुले शुरु गरेका कार्यहरु प्रति महासँघले विरोध जनाउँदै आएको छ । शिक्षकका नेताहरु स्थानीय तहले विना कानून आफूहरुलाई तर्साइ रहेको गुनासो गर्दै आएका छन् ।

कार्यक्रम सञ्चालक महासंघका महासचिव तिलक कुवँरले समग्र शिक्षकहरुले झेलिरहेको प्रश्न भन्दै पोखरेललाई सरकारका तर्फबाट ती प्रश्नहरुको उत्तर दिन आग्रह गरेका थिए । शिक्षाका आवश्यक नीति नियम कहिले बनाउने ? जिवन पर्यन्त अस्थायी रहनु पर्ने शिक्षकको समस्या कहिले सम्बोधन गर्ने ? शिक्षा ऐन आठौं संशोधन अनुसार पटक पटक किन शिक्षक परीक्षा अन्यौलमा परेको ? ६५ हजार शिक्षक खाँचो रहेको बेला ३८ हजार राहत शिक्षकलाई कसरी ब्यवस्थापन गर्ने ? न्यून तलबमा खटिईरहेका ईसीडिका शिक्षकले कसरी बाँच्ने ? शिक्षाको बजेट २० प्रतिशत पुर्याउने अन्र्तराष्ट्रिय प्रतिवद्धता कहिले पुरा गर्ने ? लगायतका प्रश्न प्रति सरकारले के सोचिरहेको छ प्रष्ट पार्न आग्रह गर्दै कुवँरले पोखरेललाई मन्तब्यका लागि बोलाएका थिए ।

देशको समृद्धि सरकारको एक मात्र लक्ष्य भएको बताउदै पोखरेलले स्थायित्वको जगमा उभिएर शिक्षालाई रुपान्तरण गर्ने र त्यस अनुरुप आवश्यक कार्य गर्न सरकार प्रतिवद्ध भएको बताए । यसका लागि सार्वजनिक शिक्षामा कम्तिमा २० प्रतिशत बजेट विनियोजन गर्ने उनले प्रतिवद्धता जनाए ।

'पार्टी एकता हुँदा के हुलाँ पछिको कुरो तर म सत्ताधारी दलको महासचिव हुँ शिक्षामा २० प्रतिशत बजेट छुट्टिन्छ ढुक्क हुनुहोस्' उनले भने ।

अहिलेको समय सक्रमणकाल भएकोले केही असहजता भएको बताउँदै उनले अहिले सम्म सहेका शिक्षकहरुलाई केही समय अलिकति सहिदिन पनि आग्रह गरे ।

'अहिले सम्म सहनु भयो, पर्खनु भयो अलिकति सहिदिनुस्, पर्खिदिनुस्' उनले भने 'हामी समय तालिका निर्माण गरेर सोही अनुसार अघि बढ्दैं छौं ।'

शिक्षा र शिक्षकका समस्याका बारेमा सम्बोधन गर्ने गरी महासंघसँग बसेर छलफल गर्ने पनि उनले बताए ।

'गोश्वारा रुपमा प्राप्त समस्याको सुनुवाई गर्न गाह्रो हुन्छ' उनले भने 'स्टक्चर बनाएर ल्याउनुहोस् बसेर छलफल गरौं र समस्या समाधान गरौं, सरकार तपाईहरुसंग छलफल गरेर अघि बढ्छ ।'

कार्यक्रममा राष्ट्रिय गानका रचयिता ब्याकुल माईला र प्रविधि विज्ञ महाविर पुनलाई सम्मान गरिएको थियो । माईलालाई दोसल्ला र सम्मान पत्रले सम्मान गरियो भने पुनलाई प्रमुख अतिथी सहित उपस्थित सबैले २० सेकेण्ड तालि बजाएर सम्मान गरेका थिए ।  

नयाँ नेतृत्व चयन गर्दै महासंघको महाधिबेशन सोमबार सकिने छ ।

प्रतिक्रिया