Edukhabar
शनिबार, १५ बैशाख २०८१
गतिविधि

रेडन कलेजद्धारा तामाङ् सम्मानित

मंगलबार, २५ कार्तिक २०७१

काठमाडौं १५ कात्तिक / १७ औं एसियाडमा नेपाललाई एक मात्र पदक दिलाउन सफल खेलाडी विमला तामाङ्लाई उनी पढ्ने रेडन कलेजले सम्मान गरेको छ । सम्मान कार्यक्रममा उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले उनलाई कलेजका तर्फबाट ५० हजार नगद सहित सम्मान गरेका हुन् । तामाङ् उक्त कलेजमा कक्षा ११ मा अध्ययनरत छिन् ।

उनले त्यहि कलेज पढ्न चाहेमा स्नातक सम्मको पढाईमा लाग्ने सम्पूर्ण शुल्क मिनाह गर्ने कलेजका प्रवन्ध निर्देशक बुद्धि पुडासैनीले बताए । कार्यक्रममा उनका प्रशिक्षक ध्रुवविक्रम मल्ललाई पनि सम्मान गरेको छ । प्रतियोगिता लगत्तै दशैँ, तिहार र छठ जस्ता चाडबाडका कारण कलेज विदा भएकोले विदा सकिए लगत्तै कार्यक्रम गरेको उनले बताए ।

‘आफ्नो साथिको प्रगतिमा कोही विद्यार्थी नछुटुन् भनेर सबै विद्यार्थी कलेज आएपछि मात्रै कार्यक्रम गरिएको हो ।’ उनले भने कार्यक्रममा मन्त्री सहित, उच्च माध्यामिक शिक्षा परिषद्का निमित्त सदस्य सचिव नारायण कोईराला रेडन कलेजका प्रिन्सिपल देविदत्त पौडेल लगायतले तामाङ्को प्रगतिको कामना सहित शुभकामना ब्यक्त गरेका थिए ।

दक्षिण कोरियाको इञ्चनमा भएको प्रतियोगितामा नेपालले २५ वटा खेलमा भाग लिएको थियो । तामाङ्ले कराँतेको एकल कातामा कास्य पदक दिलाएकी हुन् ।

प्रतिक्रिया